नेरु हालसम्मकै कमजोर
सम्पादक:南亚网络电视
समय:2022-09-27 12:02

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) तोकेको छ ।

thumb (1)

 

सोही अवधिमा एक अमेरिकी डलरको खरिद दर १३०.३० रुपैयाँ तय गरेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउले त्यसयता हरेक दिनजसो नयाँ उचाइ बनाउँदै आएको छ ।

यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । यसअनुसार गत शुक्रबार डलरको भाउ १२९.६८ रुपैयाँ र शनिबारदेखि सोमबारसम्म १२९.८९ रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, ०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । सोमबार साँझ १० बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८१.६० पुगेको थियो । गत शनिबार यस्तो दर भारु ८१.११ रहेको थियो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।

डलर बढ्दा लाभ कि हानि ?

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलरको भाउ बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने जानकारहरू बताउँछन् । गत साउन र भदौमा रेमिट्यान्स आप्रवाहमा सुधार आउनुमा एउटा कारण डलरको भाउमा बढोत्तरी पनि रहेको

जानकारहरू बताउँछन् । डलर बलियो भएको समयमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर र ठूलो परिमाणमा निर्यात गरेर पनि लाभ लिन सकिन्छ ।

तर नेपालको संरचनात्मक समस्याका कारण तत्कालै न त निर्यात बढाउन सकिन्छ न त पर्यटक नै बढाउन सकिन्छ । यसकारण अहिले डलरको भाउ बढेका बेला नेपालमा लाभ लिन सक्ने अवसर निकै कम छ । डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । डलरको भाउ बढ्दा त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको हुन्छ  । यद्यपि पछिल्ला महिनामा आयातको वृद्धिदरमा कमी आएको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

पछिल्ला महिनामा नेपाली विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि जाने क्रम ह्वात्तै बढेको छ । डलर महँगो भएको समयमा विदेशमा औषधोपचार, अध्ययन, भ्रमण खर्चर् महँगो हुने भएकाले धेरै विदेशी मुद्रा राष्ट्रबाट बाहिरिन्छ । त्यसै पनि विदेशी मुद्रा सञ्चिति कम भएको समयमा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिँदा अर्थतन्त्र झनै अप्ठ्यारो अवस्थामा जाने सम्भावना रहने जानकारहरू बताउँछन् ।

यस्तै निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउने अर्थविद्हरूको तर्क छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर