नेभिगेसन मेनु

आजदेखि ई-पासपोर्ट, घरबाटै दस्तुर तिर्न सकिने
समय:2021-11-17 04:10

काठमाडौँ । राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन् ।

महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो ।

ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ । पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए । अरू प्रकारका भने जनवरीदेखि मात्रै जारी हुनेछन् । ‘केही साता सीमित मात्रै ई–पासपोर्ट वितरण गर्छौं’, अर्यालले भने, ‘बिस्तारै बढाएर लान्छौं ।’

मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन् । विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

अर्यालका अनुसार ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ । ‘चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण हुन्छन् । यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैन’, अर्यालले भने ।

यसले गर्दा व्यक्ति झुक्किने हुँदैन । मेसिनले पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने उनले बताए । उनका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ । उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग भएको र त्यही पासपोर्ट अर्को व्यक्तिले प्रयोग गरे रोकिदिन्छ । त्यसैले कसैको पासपोर्टमा हुलिया परिवर्तन गरी हिँड्ने सम्भावना पनि न्यून हुन्छ ।

यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयले रुजु गर्ने, लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य सकेपछि विभागबाट पासपोर्ट जारी हुन्छ । अर्यालका अनुसार हाल लाग्ने गरेको समयभन्दा कम्तीमा आधा समयमा अब पासपोर्ट प्राप्त गर्न सकिन्छ । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो र राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन् । यो हाल विश्वमा चलेको सबैभन्दा सुरक्षित र भरपर्दो पासपोर्ट रहेकाे समाचार अन्नपूर्णपाेष्ट दैनिकमा छापिएकाे छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर