नेभिगेसन मेनु

बेड थपिए, छैनन् खाली
समय:2021-05-13 04:39

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालले १ सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्यायो। ४० बेडको आईसीयू थियो। एक्कासि बिरामीको चाप बढेपछि सबै बेड भरिए। बेड संख्या थप गर्दै २ सय ५० पुर्‍याइएको छ। गम्भीर अवस्थाका बिरामी आउने क्रम बढेपछि अस्पतालले आईसीयू बेडको संख्या ६० पुर्‍यायो। आईसीयू खाली छैनन्। १८ वटा भेन्टिलेटर संक्रमितले भरिएका छन्। 

उपचारका क्रममा बुधबार दिउँसोसम्म १६ जनाको मृत्यु भएको छ। उपचारपछि ३८ जना निको भएका छन्। थोरै मात्रै डिस्चार्ज भइरहँदा दैनिक उपचारको खोजीमा भने २ सयभन्दा बढी संक्रमित आउने गरेका छन्। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार पछिल्लो समय आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने बिरामी आउने क्रम बढ्दो छ। 

‘उपचार खोज्दै अस्पताल आइसकेका बिरामीलाई दुःखका साथ बेड खाली छैन भनेर फर्काउनुपरिरहेको छ’, देवले भने, ‘अधिकांशलाई त फोनमै नआउनू भनेर जानकारी दिन्छौँ।’ देवले आईसीयू र भेन्टिलेटर बिरामीलाई उपलब्ध गराउन सक्ने अवस्था नभएको बताए। त्यसमाथि संक्रमितका लागि रेम्डेसिभर औषधि पनि अभाव रहेको उनको भनाइ छ। उनका अनुसार अस्पतालमा दैनिक ३ सय २५ वटाभन्दा बढी सिलिन्डर अक्सिजन खपत हुन थालेको छ। यही स्थिति हो भने उपचार गराउन सक्दैनौँ भनेर हात उठाउनुपर्ने अवस्था आउन सक्ने देवले बताए। 

विराटनगरको नोबेल शिक्षण अस्पतालले सुरुमा ९७ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्यायो। अहिले २ सय २० बेड पुर्‍याइसकेको छ। थपेर आईसीयू बेड पनि ४७ पुर्‍याइसकिएको नोबेलका कोभिड फोकल पर्सन दीपेश न्यौपानेले बताए। बेड थप गरिएको आधा घण्टामै आईसीयू भरिएको जानकारी न्यौपानेले दिए। सुरुमा पाँचवटा भेन्टिलेटर चलाएको नोबेलले थप गर्दै अहिले २९ वटा बनाइसकेको छ। सबै प्रयोगमा छन्। 

उपचार नै गर्न सकिँदैन कि भन्ने अवस्था आइसकेको न्यौपानको भनाइ छ। नोबेलमा उपचारका लागि भर्ना भएकामध्ये बुधबार दिउँसोसम्म ३९ जनाको मृत्यु भइसकेको छ। नोबेलले आफैं अक्सिजन प्लान्ट सञ्चालनको तयारी गरेको छ। एक साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। उनले प्लान्ट तयार भएर अक्सिजन उत्पादन हुन थालेपछि मात्रै नयाँ बेड सञ्चालन गर्ने र बिरामी भर्ना लिन सकिने जानकारी दिए। 

प्रदेश १ सरकारले सञ्चालन गरेको ९६ बेडको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हालत पनि उस्तै छ। २० वटा भेन्टिलेटरसहितको २१ वटा आईसीयू बेड रहेको अस्पतालमा उपचारका लागि १ सय ८८ जना संक्रमित भर्ना भइसकेका छन्। अक्सिजन बेड १५ वटा सञ्चालनमा छन्। बुधबार दिउँसोसम्ममा २६ जनाले ज्यान गुमाइसकेका छन्। 

सबै बेड संक्रमितले भरिएको र नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नभएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए। दैनिक सयभन्दा बढी बिरामीले फोन गर्ने गरे पनि बेड खाली नभएको जानकारी दिनेभन्दा अरू विकल्प नभएको उनको भनाइ छ। उनका अनुसार अहिले पनि गम्भीर अवस्थाका २३ बिरामी ‘वेटिङ’ मै छन्। वेटिङमा रहेकालाई मृत्यु भएर तथा डिस्चार्ज भएर खाली भएको बेडमा भर्ना गरेर उपचार गराउनुको विकल्प अस्पतालसँग नभएको राजवंशीले बताए। 

विराटनगर महानगरपालिका–९ का राम शर्माले संक्रमण भएर अवस्था गम्भीर बनेकी आमाले समयमै उपचार पाउन गाह्रो भएको बताए। उनले भने, ‘कति बेला बेड खाली  होला र मेरो पालो पालो आउँछ भन्दै गम्भीर अवस्थामा पनि संक्रमित पर्खिएर बस्नुपर्ने अवस्था छ।’

 

त्यस्तै, आमालाई संक्रमण भएर नोबेल अस्पतालमा भर्ना गरेकी एन्जिला शर्माले पनि बिरामीले उपचार नपाएर छटपटाइरहेको दृश्य निकै दर्दनाक रहेको सुनाइन्। आमालाई तीन दिनअघि डिस्चार्ज गरेर घर ल्याए पनि अस्पतालको अत्यन्तै नाजुक दृश्य भने मानसपटलबाट हट्न नसकिरहेको उनको भनाइ छ। 

नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल अस्पतालहरूले उपचार गर्न सक्दैनौँ भनेर हात उठाउनुपर्ने अवस्था आइसकेको बताउँछन्। ‘अस्पतालभित्रका सबै बेड संक्रमितले भरिएका छन्। अक्सिजनको अभाव भइसक्यो,’ उनले भने, ‘बाहिर उपचारका लागि दैनिक गम्भीर अवस्थाका ५० जनाभन्दा बढी संक्रमित पर्खिएर बसेका हुन्छन्। तर, बेड नभएर भर्ना गर्न सक्दैनौँ भन्नुपर्ने बाध्यता छ।’ अस्पतालका बेड संक्रमितका लागि पर्याप्त हुन नसक्नु र नयाँ संक्रमितले उपचार पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ। 

विराटनगर महानगरपालिकाका कोभिड फोकल पर्सन हैदर अलीले शैय्या खोज्दै संक्रमितका आफन्तबाट धेरै फोन आउने गरेको बताए। तर, उपचारका लागि अस्पताल ल्याउनु भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। संक्रमणको पहिलो लहरमा त्यति समस्या नभए पनि दोस्रो लहरमा संक्रमण तीव्र रुपमा फैलँदा र बिरामीको चाप बढ्दा अवस्था जटिल बनेर गएको अलीले बताए। संक्रमितका आफन्तले रातभर रुँदै फोन गर्दा निकै नरमाइलो लाग्ने गरेको उनले सुनाए। 

प्रदेश १ प्रदेशसभाको समाजिक विकास समितिले संक्रमितको उपचारमा सरकारको भूमिका नदेखिएको निष्कर्ष निकालेको छ। समितिकी सभापति सरीता थापा खड्काले तयारी सुस्त हुँदा महामारी नियन्त्रण र संक्रमितको उपचार गराउनमा सरकार चुकेको बताइन्। समितिको बुधबार बसेको बैठकले अक्सिजनको उपलब्धता सहज बनाउन, जिल्ला अस्पतालहरुलाई कोभिड उपचार केन्द्रका रूपमा विकास गर्न र निजी अस्पताललाई संक्रमितको उपचारमा खटाउन निर्देशन दिएको थापाले बताइन्।  

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले भने सरकार संक्रमितको उपचारलाई प्रभावकारी बनाउनेतर्फ केन्द्रित रहेको बताए। कोरोना नियन्त्रण गर्दै संक्रमण पुष्टि भएकालाई उपचारमा कुनै पनि कमजोरी हुन नदिने हिसाबमा सरकारले तयारी गरिरहेको उनको दाबी छ। कार्कीले अरू निजी अस्पतालमा पनि संक्रमितको उपचारको व्यवस्था मिलाएर उपचार गराइरहेकाहरूमा बेडको क्षमता बढाउन पहल भइरहेको बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर