
काठमाडौँ, असोज ९ गते । इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ देवराज इन्द्रलाई सम्झेर मनाइने विशेष पर्व हो । काठमाडौँ ललितपुर, भक्तपुरलगायत नेवा बस्तीमा मनाइने यस पर्वको छुट्टै महत्व तथा परम्परा रहेको छ । वैदिक कालमा भगवान् इन्द्रको ठुलो महत्व रहेको पाइन्छ । नेपालमा मनाइने जात्रा, पर्व विभिन्न कथा र किंवदन्तीसँग जोडिएका छन् । यस्तै इन्द्रजात्राको पनि फरक कथा छ । पृथ्वीलोकमा भदौ महिनामा फुल्ने विशेष फूल हो ‘पारिजात’ । यो फूल स्वर्गमा पाइँदैन । त्यस कारण स्वर्गलोकका राजा इन्द्र पारिजात र एक प्रकारको फल लिन पृथ्वीलोक आउनुभयो ।
त्यहाँ इन्द्रले पृथ्वीलोकका राजा ‘मुपात्र’ को अनुमतिबिना पारिजात र फल सुटुक्क चोर्ने प्रयास गर्नुभयो तर पृथ्वीका राजा र जनताले यसबारे थाहा पाए । कारबाही गर्न दोबाटो र चौबाटोमा चोरेको पारिजात फूल र फलसहित आठ फन्का डोरीले बाँधेर इन्द्रलाई उभ्याइयो ।
यो कुरा स्वर्गमा रहेकी इन्द्रकी आमाले थाहा पाउनुभयो । त्यहाँ ‘ऐरावत हात्ती’ अर्थात् (पुलु किसी) पठाए र हुस्सु छरेर पृथ्वीवासीले नदेख्ने गरी पृथ्वीबाट इन्द्रलाई भगाए । ‘पुलु किसी’ अर्थात् ‘पुरन्दर’ । ‘पुरन्दर’ इन्द्रको अर्को नाम हो । यसै कथामा आधारित रहेर इन्द्रजात्रा मनाउन सुरु भएको संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार सबै जात्रा र पर्वको आआफ्नै कथा र किंवदन्ती छन् । यस अर्थमा नेपाल किंवदन्तीको देश रहेको उहाँको भनाइ छ ।
यसै गरी भक्तपुर र काठमाडौँको इन्द्रजात्राका दुई फरक किंवदन्ती रहेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । काठमाडौँमा पारिजात फूल र्चोन स्वयम् इन्द्र पुग्नुभएको थियो भने भक्तपुरमा पारिजात चोर्ने भगवान् इन्द्रका छोरा ‘जयन्त’ पुग्नुभएको थियो । इन्द्रजात्राको मुख्य पात्र स्वर्गका राजा इन्द्र हुनुहुन्छ तर यहाँ इन्द्रको चरित्र वा पात्र एक चोरका रूपमा प्रस्तुत गरिएको छ । जस कारण इन्द्रलाई दोबाटो र चौबाटोमा राखेर पाता कस्ने चलन छ । पारिजात फूल वर्षमा एक पटक मात्र फुल्ने गर्छ । यो सिधै रुखबाट टिप्न मिल्दैन भन्ने मान्यता छ । झरेको मात्र टिप्न मिल्छ । यस्तै पारिजात स्वर्गलोकमा पाइँदैन । पृथ्वीलोकमा मात्र पाइने यो फूल झर्न सुरु भएपछि दसैँसँगै हिउँद मौसम सुरु भएको मानिन्छ ।
यस्तै इन्द्रजात्रामा ठड्याउने ‘यँसी’ अर्थात् इन्द्रध्वज काभ्रेको नालाबाट ल्याइन्छ । इन्द्रध्वजलाई नेपाल भाषामा ‘यम्बद्यो’ भनिन्छ । विभिन्न विधि र विधानसहित एक सातासम्म मनाइने यो जात्रा नेपाल मण्डलमा सांस्कृतिक पहिचान र परम्पराका दृष्टिकोणले विशेष महत्व राख्छ ।
इन्द्रजात्रा हाम्रा पुर्खाको सम्झनासँगै देवताको सम्मान, स्वर्गलोक र पृथ्वीको सम्बन्धको जीवन्त साक्षी बनेको छ । काठमाडौँमा इन्द्रजात्रामा जीवित देवी कुमारीलाई रथमा राखी यहाँका पुराना बस्तीका विभिन्न मार्गमा घुमाउने परम्परा छ । काठमाडौँका अन्तिम राजा जयप्रकाश प्रकाश मल्लले इन्द्रजात्रामा विशेष कुमारी जात्रा जोडेर सुरु गर्नुभएको किंवदन्ती छ । “भक्तपुरमा इन्द्रजात्राको अन्तिम दिन विभिन्न विधिविधानसहित भव्य रूपमा मनाउने चलन छ । ‘दोबाटो वा चौबाटोमा ठड्याइएको इन्द्रध्वजलाई पतन गर्न रातको समयमा पृथ्वीका राजा ‘मुपात्र’ अङ्गरक्षकसहित आउने किंवदन्तीमा उल्लेख छ,” संस्कृतिविद् श्रेष्ठले भन्नुभयो । भक्तपुरमा इन्द्रजात्राको अन्तिम दिन ऐरावत हात्ती र मसान भैरबसमेतको जात्रा गरिन्छ । यसरी आजभन्दा १५ सय वर्षअघि नेपाल मण्डलको समाजमा इन्द्रध्वज खडा गरेर धुमधामसँग यो जात्रा मनाउने चलन थियो । विभिन्न कालखण्डमा विभिन्न शासकले विधिविधान थप्दै लगेको श्रेष्ठको भनाइ छ ।
“इन्द्रजात्रा निरङ्कुश राजतन्त्रको अन्त्य हो । यस जात्राले राजतन्त्रको अन्त्य गरेर जनतन्त्रको उदय गराएको हो । इन्द्रजात्रामा इन्द्र राजतन्त्रको प्रतीक हुन् । उनले जनतालाई दबाउन खोजेका थिए तर जनताले स्वर्गका राजा इन्द्रलाई पनि चोरको संज्ञा दिएर दण्डसजाय दिए,” संस्कृतिविद् श्रेष्ठले भन्नुभयो । जनशक्तिको उदयका रूपमा भगवान् श्री कृष्णलाई लिने गरिन्छ । उहाँले पहाडले छेकेर पृथ्वीलोकलाई इन्द्रको निरङ्कुश शासनबाट बचाउनुभएको थियो । पृथ्वीलोक श्रीकृष्णको पक्षमा भएका कारण यही समयमा अत्यधिक वर्षा हुने, कतिपय ठाउँमा असिनासमेत पर्ने गर्छ । वर्षाका देवता इन्द्र क्रोधले वर्षा गराएको भन्ने किंवदन्ती रहेको श्रेष्ठ बताउनुहुन्छ ।
यस्तै यो समयमा भगवान् इन्द्रलाई वर्षा रोक्नका लागि बिन्तीका रूपमा चङ्गा उडाउने चलन पनि चलिआएको छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी इन्द्रजात्रा सम्पन्न गरिन्छ । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाड दसैँतिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई पुरानो चाड मान्ने गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ ।


















