
काठमाडौँ, भदौ ३१ गते । इन्द्रजात्रा (येँया पुन्ही) को अवसरमा हरेक वर्ष लिङ्गो तानेको, उठाएको र ढालेको हामीले देख्दै आएका छौँ । येँया पुन्हीमा हनुमानढोकामा ३६ हात लामो लिङ्गो उठाउने परम्परा रहेको छ । जुन लिङ्गो भक्तपुरबाट ल्याउने गरिन्छ । येँया पुन्हीमा गाडिने लिङ्गो बन्दोबस्तको जिम्मा केन्द्रीय मानन्धर सङ्घले लिएको हुन्छ । मानन्धर सङ्घले हरेक वर्ष भक्तपुरको चित्तपोलबाट रुख काटेर ल्याउने गर्दछ ।
यस पटक पनि लिङ्गो दर्जनौँले तान्दै काठमाडौँ महानगरको भोटाहिटीमा ल्याएको थियो । मानन्धर गुठीका बद्रीनारायण मानन्धरका अनुसार भदौ २८ गते आइतबार बिहान ९:५३ बजे वनयात्रा गरी मानन्धर गुठीका सदस्यले सोही राति ८: ४७ बजे वृक्षकर्तन अर्थात् साइतमा बन्चरोको ‘चोट’ पारेको थियो । रुख काट्ने काम भोलिपल्ट झिसमिसेबाटै सुरु हुने उहाँले बताउनुभयो । मानन्धरले येँया पुन्हीका निम्ति सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले जुराउने जानकारी दिनुभयो । रुख काट्ने र नगर प्रवेश गराउने साइत पनि समितिले नै तय गरेको हो । उहाँले भन्नुभयो, “पहिलो दिन नालाबाट रुख तानेर थिमिको राधेराधेसम्म ल्याउने चलन छ । त्यसपछि चौथीको दिन त्यहाँबाट तानेर काठमाडौँको भोटाहिटी ल्याइन्छ ।” यो वर्ष वर्षा भएका कारण भक्तपुरको सल्लाघारीमा राख्नु परेको उहाँले बतानुभयो ।
भोटाहिटीमा सडकछेउ एउटा मण्डल छ । वर्षभरि सवारीसाधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ । धेरैले मण्डल छ भन्ने थाहै पाउँदैनन् । इन्द्रजात्रामा यो मण्डलको ठुलो महत्व छ । येँया पुन्ही सुरु भएसँगै मण्डलको ढक्कन खोलिन्छ, मानन्धरले भन्नुभयो । त्यसपछि अष्टमीको साइत पारेर नगर प्रवेश गराइन्छ । उहाँले यस वर्ष असोज ३ गते शनिबार बिहान ८ बजेर पाँच मिनेटमा लिङ्गोलाई नगरप्रवेश गराई हनुमानढोकामा राखिने साइत रहेको जानकारी दिनुभयो ।
नगर प्रवेशपछि एकादशीको दिन लिङ्गोमा डोरी बाँध्न थालिन्छ । सनाःगू खलः का ‘चस्वाद्वँ’ मानन्धरहरूले डोरी बाँध्छन् । मानन्धर समुदाय पहिल्यैदेखि प्राविधिक काममा संलग्न रहँदै आएकाले रुख काट्ने र डोरी बाँध्ने जिम्मा दिइएको जानकारी उहाँले दिनुभयो । त्यसपछि असोज ७ गते बुधबार बिहान ७:४७ बजे द्वादशीको दिन हनुमानढोका दरबारअगाडि लिङ्गो उठाइन्छ । यो लिङ्गो उठेपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ ।
केन्द्रीय मानन्धर सङ्घका गजेन्द्र मानन्धरका अनुसार मल्ल राजा जयप्रकाशकै पालामा लिङ्गो राख्ने प्रचलन सुरु भएको हो । यसको लिखित वा आधिकारिक अभिलेख हामीसँग छैन, उहाँले भन्नुभयो । इन्द्रजात्राको मुख्य आकर्षण कुमारी जात्रा हो । माथिल्लो, तल्लो र बिचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ । इन्द्रजात्रा साताव्यापी महोत्सव हो, जुन काठमाडौँको निम्ति दसैँभन्दा ठूलो चाडका रूपमा मनाइन्छ । इन्द्रजात्रा असोज ९ गते परेको छ, यसो भए पनि साताभन्दाअगावै यहाँ जात्राको गतिविधि सुरु हुन्छ । जात्राभरि भक्तपुरको महाकाली नाच, ख्याउरा, माकप्याँखलगायत किलागलको पुलुकिसी, हल्चोकको भैरव, मजिपाटको लाखे १० अवतार, स्वच्छन्दभैरव, आकाशभैरव, श्वेतकालीलगायत नाच प्रस्तुत गर्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोटाहिटीबाट हनुमानढोका लिङ्गो प्रवेश असोज ३ गते इन्द्रध्वजोत्थान, असोज १० गते माथिल्लो तथा मूल जात्रा, असोज ११ गते तल्लो टोलमा तथा असोज १३ गते मङ्गलबार नानिचा रथयात्रा बिचको टोल रथ यात्रा गरिन्छ । सोही दिन राति ९ः२५ बजे इन्द्रध्वज पतन गरी इन्द्रजात्रा सम्पन्न गरिन्छ ।


















