एस् ए टी भी २९ जेठ, काठमाडौंः भिनिसियस जुनियरको गोलले ब्राजिललाई विश्वकप २०२६ मा स्थान सुरक्षित गराएसँगै मुख्य प्रशिक्षक कार्लोस एन्सेलोट्टीका लागि पनि घरेलु मैदानको डेब्यु सुखद बन्यो।
एक समय रियाल मड्रिडमा सँगै रहेका दुईका लागि सुखद बनेको दिन बुधबार दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा ब्राजिलले साओ पाउलोमा पाराग्वेमाथि १–० को कठिन जित निकालेको थियो। इक्वेडरले पनि पेरुको घरेलु मैदानमा गोलरहित बराबरी खेलेपछि अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउन सफल भयो।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले पनि कोलम्बियासँग १–१ को बराबरीको नै नतिजा सामना ग¥यो। अर्जेन्टिनाले यसअघि नै विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ। दक्षिण अमेरिकी क्षेत्रको छनोटमा शीर्ष स्थानमा रहँदै अर्जेन्टिनाले यो सफलता पाएको हो। इक्वेडर र ब्राजिलको समान २५ अंक छ। तर, इक्वेडर जितका आधारमा दोस्रो स्थानमा छ।
यी दुईभन्दा अर्जेन्टिना १० अंकले अगाडि छ। इक्वेडर र ब्राजिलले दुई खेल बाँकी छँदा छैटौं स्थानको टोलीसँग ६ अंकको स्पष्ट अग्रता लिएपछि विश्वकपमा स्थान बनाएका हुन्। ४८ राष्ट्रले खेल्ने विश्वकपमा दक्षिण अमेरिकी क्षेत्रबाट ६ टोलीले स्थान पाउनेछन्।
चिलीले भने लगातार तेस्रोपल्ट विश्वकप गुमाउने भएको छ। घरेलु टोली बोलिभियासँग २–० ले पराजित भएपछि चिली यसपल्ट पनि विश्वकपमा स्थान बनाउन असफल भएको हो। १० राष्ट्र सहभागी छनोटमा खराब नतिजासँगै चिलीले मुख्य प्रशिक्षक रिकार्डो ग्यारेसालाई जिम्मेवारीबाट हटायो। उरुग्वेले भने भेनेजुएलालाई घरेलु मैदानमा २–० ले पराजित गर्न सफल भयो।
उरुग्वेका लागि रोड्रिगो एग्वोरे र जियोर्जिएन डे एरेस्काइटाले गोल गरे। यो नतिजापछि २४ अंक बटुल्दै उरुग्वे पनि सीधा माध्यमबाट विश्वकपमा छनोटनजिक पुगेको छ। भेनेजुएलाको भने १८ अंक छ। जुन आठौं स्थानको बोलिभियाको भन्दा एक अंकले बढी हो। सातौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफमार्फत विश्वकप खेल्ने अवसर पाउनेछ। अर्जेन्टिनाले ब्युनोस आयर्समा बराबरीको नतिजा सामना गर्दा लियोनल मेसी भने शान्त नै रहे।
लुइज डियाजले कोलम्बियाका लागि २४औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाले। ७०औं मिनेटमा इन्जो फर्नान्डेजले रातो कार्ड सामना गरे र अर्जेन्टिना १० खेलाडीमा नै सीमित भयो। मोनुमेन्टल डे नुनेज स्टेडियममा ८० हजार समर्थकका लागि रोमाञ्चक खेल भएन।
मड्रिडदेखि साओ पाउलो
गत बिहीबार एक्वेडरसँग ब्राजिल गोलरहित बराबरीमा रोकिएपछि ब्राजिलका समर्थकबाट प्रशिक्षक एन्सेलोट्टीले निराशाजनक सन्देश प्राप्त गर्नुपरेको थियो।
ब्राजिलमा उनको डेब्युसमेत रहेको उक्त खेलमा टोली खेलअवधिभर रक्षात्मक रणनीतिमा खेलेको थियो। त्यसको कारण पनि उनले आलोचना खेप्नुपरेको हो। गत मंगलबार मात्र ६६ वर्ष पुगेका एन्सेलोट्टीले टोलीमा केही परिवर्तन आउने सन्देश दिए। निओ क्विमिकामा उनको टोलीले केही आक्रामक रणनीतिमा पनि खेल्यो। ४६ हजार समर्थकले पहिलोपल्ट ब्राजिली भूमिमा उनलाई स्वागत गरेका थिए।
पहेंलो र हरियो रंग मिश्रित जर्सी लगाएका समर्थकले पोर्चुगिच भाषामा ‘पाराबेन्स, कार्लेटो’ भनेका थिए। जसको अर्थ शुभ जन्मोत्सव भन्ने हुन्छ। प्रशिक्षक एन्सेलोट्टीले गेर्सनको स्थानमा गाब्रिएल मार्टिनेलीलाई अवसर दिएका थिए। उनले मार्टिनेलीलाई पहिलो रोजाइमा राख्दै काउन्टर अट्याक बढाउने रणनीति बनाएका हुन्।
उक्त खेलमा राफिन्हा पनि निलम्बनबाट फर्किएका थिए। त्यसैले पनि पाराग्वेका डिफेन्सले धेरै चुनौती सामना गर्नुपर्यो। भिनिसिएस र म्याथ्यु कुन्हाले पनि अग्रपंक्तिबाट थप आक्रमण बनाए। पाराग्वेको डिफेन्समा गल्तीबाट नै कुन्हाको क्रसलाई सदुपयोग गर्दै भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका हुन्। जुन निर्णायक पनि बन्यो। ‘यो गोल तपाइँको लागि समर्पित छ,’ गोलपछि उत्सव मनाउने क्रममा भिनिसियसले प्रशिक्षकतर्फ इंगित गरेका थिए। यस छनोटको अधिकांश खेलभन्दा बुधबार ब्राजिलको टोलीको आक्रमणमा सुधार देखिएको थियो।