नेभिगेसन मेनु

नेपाली आकाशको बदनामी : १० वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?
सम्पादक:南亚网络电视
समय:2024-07-31 11:28

images

काठमाडौँ — पोखराका लागि उड्दै गरेको सौर्य एयरलाइन्सको सीआरजे–२०० जहाज गत बुधबार त्रिभुवन विमानस्थल परिसरमा दुर्घटनाग्रस्त भयो । नेपालमा भएको यो १०८ औं हवाई दुर्घटनामा एक क्याप्टेनबाहेक १८ जनाको घटनास्थलमै मृत्यु भयो । सौर्यको जहाज दुर्घटनासँगै नेपालको हवाई आकाश सुरक्षित छैन भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय भाष्य बलियो भएको छ । तर, नियामक निकाय भने चिन्ताविहीन छन् । अरू मुलुकमा हवाई दुर्घटना जाँचका लागि बलियो र स्थायी संयन्त्र हुन्छ, तर नेपालमा हरेक दुर्घटनापछि राजनीतिक नियुक्तिमा गठन हुने जाँचबुझ आयोगको प्रतिवेदन न आलोचनाबाट मुक्त हुन्छ, न सुझाव कार्यान्वयन हुन्छ

नेपाली आकाशमा अहिलेसम्म व्यावसायिक उडानमा रहेका (फिक्स्ड विङ) ५१, हेलिकोप्टर ३९, एकल इन्जिन भएका ८ र विदेशी वायुसेवाका १० विमान दुर्घटनामा परिसकेका छन् । यी स्वदेशी/विदेशी गरी ९ सय ५९ जनाले ज्यान गुमाएका छन् । हरेक दुर्घटनालगत्तै सरकारले जाँचबुझ आयोग बनाउँछ । तर, आयोगले सुझावसहित दिएका प्रतिवेदन अलपत्र पर्छन् । केही समयपछि अर्को दुर्घटना हुन्छ, सर्वसाधारणको ज्यान जान्छ र मुलुककै प्रतिष्ठा धुमिल हुन्छ ।

नियमनको विषयमा नागरिक उड्डयन प्राधिकरण (क्यान) माथि सधैं प्रश्न तेर्सिने गरेको छ । तर, हवाई सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले औंल्याएका विषयसमेत सम्बोधन हुने गरेका छैनन् । पछिल्लो उडान सुरक्षा प्रतिवेदनअनुसार सन् २०१३–२०२२ मा भएका १२ वटा दुर्घटनामध्ये ९३ प्रतिशतमा यस्तो ‘कन्ट्रोल्ड फ्लाइट इनटु टेरेन’ (सिफिट) कारण पाइएको छ । हुम्लाको सिमकोटमा मकालु एयरको सेस्ना क्याराभान, मसिनेलेक अर्घाखाँचीमा नेपाल वायुसेवा निगमको ट्विनअटर, म्याग्दीको दानामा तारा एयरको

ट्विनअटर, लुक्लामा समिट एयरको कार्गो बोकेको लेट, मुस्ताङको घासामा तारा एयरको ट्विनअटर, नुवाकोटको बेतनीमा फिस्टेलको हेलिकोप्टर, धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टर, पाथीभरा ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर, सोलुखुम्बुको लामजुरा पासमा मनाङ एयरको हेलिकोप्टर सिफिटमा परेका दुर्घटना हुन् । यही बीचमा भएको टर्किस एयरको वाइडबडी विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । टर्किसमा कसैको ज्यान गएको थिएन भने अरू ९ दुर्घटनामा ९३ जनाले ज्यान गुमाएका थिए । त्यसयता पनि दुई ठूला विमान (यती र सौर्य) दुर्घटना भइसकेका छन् ।

उड्डयन क्षेत्रमा दुर्घटना हुने तीन मुख्य समय टेकअफ, इनरुट र अवतरणलाई मानिन्छ । यीमध्ये इनरुट नेपालको हवाई उडानमा सबैभन्दा खतराको चरण बनेको प्रतिवेदनमा उल्लेख छ । १० वर्षका १२ हवाई दुर्घटनामध्ये ७ वटामा मानवीय क्षति भयो । यी सबै पहाडमा भएका दुर्घटना हुन् । नेपाली वायुयानले भुइँ र आकाशमा मुख्य ६ वटा जोखिम सामना गर्नुपरेको देखिन्छ । त्यसमा पाइलटको नियन्त्रणमा रहेको विमान बादलभित्र हराउनु, जहाजको उपकरण/इन्जिन फेल हुनु, चरासँग ठोक्किएर अनियन्त्रित भई दुर्घटना हुनु, इन्जिन वा अन्यत्र भागमा आगलागी हुनु, चट्याङ/मेघ गर्जनको सामना गर्नु र इन्धनका कारण दुर्घटना हुनु रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर