
काठमाडौँ, मङ्सिर ९ गते । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब पाँच अर्ब रुपियाँ उपलब्ध गराएको छ ।
“निर्वाचन गराउन हामीले सात अर्ब माग गरेका थियौँ । तत्काल चार अर्ब ९६ करोड बजेट प्राप्त भयो । अरू आवश्यक भए माग गर्न सकिने भनिएको छ,” निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो, “आयोगले निर्वाचन गराउने प्रयोजनका लागि छुट्याएको बजेट खर्च नभए विगतमा फिर्ता गरिएको छ । यो पटक पनि बढी भए फिर्ता हुने छ ।” यसै गरी निर्वाचन आयोगले मतदाता नामावली रुजु गर्ने कार्य हप्ता दिनभित्रै सक्ने भएको छ । ७७ जिल्लाका निर्वाचन आयोगका कर्मचारीले राष्ट्रिय परिचयपत्रलाई आधार बनाएर मतदाता नामावली रुजु गर्ने कार्य जारी राखेका हुन् । कुल मतदाता एक करोड ९० लाख पाँच हजार ३२४ जना पुगेका छन्, जसमा आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका हुन् ।
प्रवक्ता भट्टराईले दोहोरिएका मतदाता र १८ वर्ष नपुगेका मतदाताको रुजु गर्ने कार्य हप्ता दिनभित्रै सकिने जानकारी दिनुभयो । “सबै जिल्लाका निर्वाचन कार्यालयमार्फत कर्मचारीले मतदाता नामावली रुजु गर्ने कार्य धमाधम जारी राखेका छन् । कतिपय जिल्लाले रुजु गरेर सकियो भनेर रिपोर्टिङ गरेको अवस्था छ । सबै मतदाताको नामावली हप्ता दिनभित्र रुजु गरेर सकिन्छ,” उहाँले भन्नुभयो, “मतदाता दोहोरिएको र १८ वर्ष पुगे/नपुगेको रुजु हुने छ । यदि त्यस्तो भेटिएमा प्रव्रिmया पु¥याएर हटाइने छ ।” आगामी मङ्सिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीका सम्बन्धमा गुनासो र सच्याउन उजुरी दिन आह्वान गरिने जानकारी पनि उहाँले दिनुभयो । “कतिपयको मृत्यु भएको हुन सक्छ । कतिपयको एक जिल्लाबाट अर्कोमा बसाइँसराइ भएको हुन सक्छ । कसैको नाम, थर र ठेगाना गल्ती भए सच्याइने छ,” उहाँले भन्नुभयो, “तर नयाँ मतदाता नामावली दर्ता हुँदैन ।
आयोगमा दर्ता भएका नामका हकमा मात्रै सच्याइने र दोहोरिएमा हटाइने छ ।” मतदाताको रुजु गर्ने, उजुरी दिने सबै काम सकिएपछि पुस १५ गतेभित्र अन्तिम नामावली प्रकाशित हुने उहाँले बताउनुभयो । सबै प्रक्रिया पूरा भएपछि अन्तिममा मतदाताको सङ्ख्या यकिन हुने उहाँको भनाइ छ ।
एक सय बत्तिस दल दर्ता
निर्वाचन आयोगमा १३२ वटा दल दर्ता भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको मिति घोषणा भएपछि १३ वटा नयाँ दल दर्ता भएका छन् । दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि सोमबारसम्म ६१ दल दर्ता भएको छ । यसका लागि मङ्सिर १० गतेसम्म समय दिइएको छ ।





