नेभिगेसन मेनु

कास्कीमा आगजनी र लुटपाटमा संलग्न ५६ जना पक्राउ, धमाधम कारागार चलान
सम्पादक:南亚网络电视
समय:2025-11-24 12:11

 

 kaski-police_ZTAAsPNfF2

पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, आगजनी र तोडफोड गर्ने कार्यमा संलग्नलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो । 

हालसम्म ५६ जना पक्राउ परिसकेका र धेरैलाई उपद्रव कसुरमा अनुसन्धान गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । ‘हामीले खोजीखोजी पक्राउ गरिरहेका छौँ । अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ, नभए रिहा हुन्छन्,’ उनले भने, ‘शंकास्पद नभएका व्यक्तिहरू पक्राउ परेका छैनन् । कुनै न कुनै गतिविधिमा संलग्न भएको पुष्टि भएपछि फोटो वा भिडियोको प्रमाणका आधारमा मात्रै पक्राउ परेका छन् ।’

उनका अनुसार केहीलाई धरौटीमा रिहा गरिएपनि अधिकांशमाथि अनुसन्धान अघि बढेको छ । पक्राउ परेकामध्ये ३६ जनामाथि अनुसन्धान अघि बढेको उनले जानकारी दिए । ‘अदालतको आदेशले केही व्यक्तिहरू पुर्पक्षका लागि थुनामा पठाइएको छ । एकजनालाई बाल सुधार गृह पठाइएको छ,’ बस्नेतले अघि भने, ‘तत्कालीन आन्दोलनका क्रममा गलत गर्नेहरू पक्राउ पर्दै जान्छन् । हामीले विशेष टिम परिचालन गरेका छौँ ।’ जेनजी आन्दोलनको पहिलो दिन २३ गते शान्तिपूर्ण भएपनि दोस्रो दिन अर्थात् २४ गते ध्वंसात्मक घटना भएको थियो । उक्त घटनाको भिडियो र फोटोहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् । प्रहरीले पनि आरोप पुष्टि हुने प्रमाणहरू प्रहरीलाई बुझाउन पटक पटक आग्रह गरेको छ ।

पक्राउ परेका ५६ जना मध्ये १४ जनालाई भने धरौटीमा रिहा गरिएको छ । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन र आन्दोलन गरेकै आधारमा भने पक्राउ नगरेको प्रष्ट्याएको छ । ‘आन्दोलन गरेकै भरमा हामीले कसैलाई पनि समातेका छैनौँ । तर आन्दोलनका नाममा तोडफोड गर्ने, लुटपाट गर्ने र आगजनी गर्नेलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको हो,' बस्नेतले भने ।

आइतबार कास्की जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा केही प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने केहीलाई पुर्पक्षका लागि थुना वा बालसुधार गृहमा पठाउने आदेश दिएको छ । 

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले एकजना नावालकलाई बालसुधार गृहमा पठाउने आदेश दिएको हो । उनले बगर प्रहरी चौकीबाट हतियार लुटपाट गरेको आरोप छ ।

यस्तै, सोही इजलासले केशव बोम्जनसमेत ४ जना प्रतिवादी भएको यस्तै प्रकृतिको अर्को मुद्दामा भने भिन्न आदेश गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । न्यायाधीश शंकरबहादुर राईको इजलासले अरविन बिकसमेत १२ जना प्रतिवादी भएको मुद्दामा ३ जनालाई धरौटी माग गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिए । 

आइतबार थुनछेक आदेश हुने भएपछि फरार रहेका ३ जना अदालत हाजिर भएका थिए । उनीहरूलाई एक–एक लाख धरौटी माग गरी रिहा गरिएको हो । सोही मुद्दामा केही प्रतिवादी रिहा भए पनि अझै एक-दुई जना अदालत हाजिर हुन बाँकी रहेको सूचना अधिकारी किसानले बताए ।

नारायण शाहीसमेत ४ जना प्रतिवादी भएको अर्को आपराधिक उपद्रव मुद्दामा भने न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस हुने भएपछि आइतबार साँझसम्म अदालतमा प्रतिवादीका घरपरिवारका सदस्य, आफन्त  एवं शुभचिन्तकको उपस्थिति थियो । केहीलाई पुर्पक्षका लागि थुनामा पठाउने तथा बालसुधार गृहमा राख्ने अदालतले आदेश दिएपछि रुवाबासी चलेको थियो ।

जेनजी प्रदर्शनका क्रममा कास्कीमा मात्रै करिब ५ अर्बको क्षति भएको प्रशासनको रिपोर्ट छ । जिल्लाभर १ सय १६ वटा सरकारी कार्यालय, २७ वटा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार संघीय कार्यालय २६ वटा, प्रदेशका ३३ वटा र स्थानीय तहको भवन सहित सवारी साधनमा २ अर्ब १८ करोडको क्षति भएको हो ।

१ सय १९ चार पाङ्ग्रे सवारी र २ सय १० वटा दुई पाङ्ग्रे सहित ३ सय २९ वटा सवारी साधनमा क्षति पुगेको कास्की प्रशासनको रेकर्ड छ । यसबाहेक २७ वटा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको रेकर्ड छ । होटल र नेताका घर समेत जोड्दा २ अर्ब ७३ करोड रुपैयाँको निजी सम्पत्ति क्षति भएको विवरण प्राप्त भएको शर्माले जानकारी दिइन् । दुबैतर्फ गरेर ४ अर्ब ९१ करोडको क्षति भएको देखिएको छ । अधिकांश कार्यालय अझै पूर्ण प्रयोगमा आइसकेका छैनन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर