असार ३० गते । राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याई छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।
स्वर्गचरी (इन्डियन प्याराडाइज फ्लाइक्याचर) ले गुँडबाट बचेरा उडाइसकेको छ । दक्षिण भारत तथा श्रीलङ्काबाट आउने यहाँ जिल्लामा पहिलो पटक यी चरा प्रजनन गरेको देखिएको छ ।
राजचरी र स्वर्गचरीजस्तै ५ दर्जन बढी आगन्तुक चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन् । ती चराहरू अहिले बचेरा हुर्काउन व्यस्त छन् । वसन्त ऋतु आगमनबाट चराहरूमा प्रजननको सिजन सुरु हुन्छ । फागुनदेखि बसाइ सराइ गर्छन् ।
यी चरालाई समर भिजिट वर्ड भनेर चिनिने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो ।
‘तीनदेखि चार महिना बिचको समयमा नेपाल बस्छन् । त्यो समयमा गुँड बनाउने, अण्डा पार्ने र कोरल्नेदेखि बचेरा हुर्काएर फर्किने गर्छन् । वर्षायाम सकिएसँगै उनीहरू आफ्नो ठाउँ पुग्छन् । यी चराहरू वनमा आश्रित हुन्छन् । नदीको आसपास, रुखमा कपजस्तो आकारमा गुँड लगाउँछन्’ डा. बरालले बताउनुभयो ।
प्रजननका लागि नेपालमा ६० बढी प्रजातिका आगन्तुक चरा आउँछन् । अस्ट्रेलिया, दक्षिण भारतदेखि दक्षिण–पूर्वी एसियाका मलेसिया, म्यानमार, थाइल्यान्ड, लाओस् इन्डोनेसिया लगायतका देशबाट चराहरू आएका छन् ।
स्वर्गचरी, राजचरीका अलवा जुर्रे कोइली, लाल चुच्चे ठेउवा, गौँथली, कटुस टाउके मुरली, पानी गौँथलीलगायत थुप्रै साना जिउ हुने चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन् । कोइलीको एक दर्जन बढी नेपाल आउँछन्, जसमध्ये जुर्रे कोइली अफ्रिकाको सबसहारन क्षेत्र र सेतो कण्ठे गौँथली अस्ट्रेलियाबाट नेपाल आउँछन् । कृषिक्षेत्र आसपास गुँड लगाउने वरिष्ठ पन्छी विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो ।