असार ६ गते । पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो । ढोल र सनईको तालमा राजवंशी भाषामा गायन र नृत्यले प्रस्तुतिमा फरक स्वाद दिएको थियो । भाषा नबुझिए पनि लोकनाचको मौलिक भावभङ्गीले दर्शकलाई तानेको थियो ।
सांस्कृतिक संस्थानले ५२ औँ वार्षिकोत्सवमा बुधबार आयोजित लोकगीत सङ्गीत, लघुनाटक र वाद्यवादन प्रस्तुतिमा ढोल सोहना गाअन् र तराई भेगकै लठ्ठहवा नाच (लट्ठीनाच) ले सबैको मन जितेको थियो । यो नाचमा ढोल र सनई अनिवार्य मानिन्छ । समाजका सुख, दुःख, माया पिरती, हास्य जस्ता विषयमा गाअन्को रचना गरिएको हुन्छ । संस्थानको वार्षिकोत्सव तथा ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १३ औँ शृङ्खलाको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली मूर्त तथा अमूर्त कलाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रस्तुतीकरण र दस्ताबेजीकरणलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री तामाङले नेपाली अमूर्त संस्कृतिमा रहेको विविधताको संरक्षण गरी त्यसलाई पर्यटन विकासमा सँगसँगै लैजानुपर्नेमा जोड दिँदै अमूर्त संस्कृतिको पुस्तान्तरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले अमूर्त सम्पदाको सांस्कृतिक सूचीमा नेपाली संस्कृतिको सूचीकरण अभियानमा जोड दिनुभयो । उहाँले संस्कृतिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरूप सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि संस्कृतिसम्बन्धी ज्ञान तथा सिपको जागरणमूलक प्रशिक्षण कार्यलाई निरन्तता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका लागि अनुदान स्वरूप प्राप्त हुनुपर्ने रकम ऋणका रूपमा देखिएकाले त्यसलाई अनुदानका रूपमा परिणत गर्नसमेत माग गर्नुभयो । उहाँले सांस्कृतिक संस्थानको आफ्नै ऐन नहुँदा विभिन्न कठिनाइ भोग्नु परेको चर्चा गर्दै बेग्लै ऐन निर्माणको अनुरोध गर्नुभयो ।
कार्यक्रममा साकेला, डिग्रे नाच, बँदेल नृत्य, कौरा नृत्य, बुद्ध भजन, बलबाहु (लघुनाटक), लोक धुन, राजवंशी लोक नाट्य ‘ढोल सहिना गाअन्’, लठ्ठहवा नाच (तराई भेग) लगायत लोकनृत्य र वादन प्रस्तुत गरिएको थियो ।