नेभिगेसन मेनु

बाटो : ‘भगवान् भरोसा’मा रिलिज भएको हेर्न लायक फिल्म
सम्पादक:南亚网络电视
समय:2024-06-19 13:32

film_baato_review_WtlwcQQbZE

फिल्म निर्माण गर्नु अगाडि दर्शकमाझ नपुगी'राम्रो फिल्म भए दर्शक आफैँ हलसम्म आउँछन्' भन्ने 'भगवान् भरोसा'मा शुक्रवार रिलिज भएको फिल्म बाटो : रोड टु डेथ मंगलबारसम्म आइपुग्दा शो सङ्ख्याका आधारमा निकै खुम्चिसकेको छ।

तर पाएको शो सङ्ख्याको आधारमा हलमा देखिएको दर्शकको अकुपेन्सी संख्या भने उत्साहजनक देखियो मंगलबार। नयाँ निर्देशक, अधिकांश नयाँ कलाकार अनि फिल्मको सेटअप दक्षिण भारतीय शैली हाबी भएकाले व्यक्तिगत रूपमा चासो निर्माण गर्न सकेको थिएन फिल्मले।

निर्देशकको एकाध अन्तर्वार्ता पढेपछि हेर्नुपर्ने फिल्म हो कि क्या हो भन्ने लाग्यो। फिल्म हेरेका दर्शक( आफू निकटको जस्तो फिल्म रिलिज भए पनि वाहवाह गर्ने समूहका सदस्य हैनन्) ले सामाजिक सञ्जालमा फिल्मबारे लेखेको प्रतिक्रियाले फिल्म हेर्ने हुटहुटी बढाएपछि सोमबार मध्यरातै टिकट बुकिङ गरेँ।

एफक्युब चाबहिलमा एक शोमात्र थियो २ : ४५ को। जम्मा चार वटा सिट मात्र बुक भएको थियो। पाँच जना मात्र भए पनि फिल्म त देखाउलान् भनेर बुक गरेँ। तर शोज् टाइममा हलमा पुग्दा दर्शकको  सङ्ख्या फस्ट शो बराबरकै उत्साहजनक देखियो।

फिल्म सकिएपछि दर्शकको स्वतःस्फूर्त ताली नसुनेको जुग भइसकेको थियो। अचम्म, यो फिल्म सकिएपछि हलमा रहेका दर्शक उठेर परर ताली बजाए। फिल्मले पिकअप लिन थालेपछि फिल्मका कलाकार प्रमोशनका लागि हल-हल हिँड्न थालेछन् कि क्या हो भनेर यसो अगाडि हेरेको कलाकार थिएनन्।  

फिल्म निर्देशक र कलाकारको काम हेरेर दर्शकहरूले स्वतःस्फूर्त रूपमा कामको प्रशंसा गर्दै ताली बजाएका रहेछन् हलमा।

मिस्ट्री थ्रिलर जनरा मेरो रुचीकै विषय नै हो। तर एकाध विदेशी फिल्म बाहेक अन्यमा फिस्स हुन्छु प्राय। सामान्य कथामा त क्लाइमेक्स लुकाउन नसक्ने नेपाली फिल्मका निर्देशकबाट अन्तिमसम्म रहस्य लुकाउन सक्नेगरि सस्पेन्समा कथा अगाडि बढाउँदै फिल्म निर्माणको आस गर्नु आकाशको फल समान हुने नै भयो।

तर निर्देशक मदन थापाले फिल्म 'बाटो'को हकमा मलाई गलत साबित गरिदिए। 'नेपाली फिल्मका निर्देशकलाई यति साह्रो हेप्ने हैन है' भन्ने तहकै हप्काइको अनुभव भयो फिल्म सकिएपछि।

कुनै पनि फिल्म कमजोरीरहित सम्भव छैन। कमजोरीको मात्राका आधारमा फिल्म सफल र असफल बन्ने हुन्। फिल्म 'बाटो'मा पनि कमजोरी छन्। तर कमजोरीको बिचमा मिस्ट्री थ्रिलर जनरामा जुन स्तरको फिल्म निर्माण गरे त्यसमा  निर्देशक मदनको काम प्रशंसा योग्य छ।

OOO

फिल्म मिस्ट्री थ्रिलर जनरामा बने पनि मूल कथा सम्बन्ध र प्रेम देखियो। बाबु र आमा र सन्तानबीचको सम्बन्धलाई मुलकथा बनाएर निर्देशक थापाले अब के हुन्छ भन्ने कौतुहलता निर्माण गर्दै दर्शकलाई  काठमाडौँबाट धरानसम्म डर मिश्रित यात्रा गराउँछन् फिल्ममा।

कथाको उद्देश्य छ ललितपुरको एक अस्पतालको बक्सामा बन्द भएको मुटु धरानमा मुटु प्रत्यारोपणका लागि पर्खिरहेको वृद्ध रहेको अस्पतालसम्म पुर्याउनु। एम्बुलेन्सबाट मुटु लैजानुको कारण मौसमको खराबीले हवाई उडान प्रभावित हुनु।

डर मिसाउदै काठमाडौँबाट धरानको यात्रा गराउन फिल्ममा निर्देशकले कोमल, मञ्जिल, टोनी, तारा, हरि, माला र सुहाना लगायतका चरित्रहरू निर्माण गरेका छन्।

कथामा रहस्य र कौतुहलता थप्न अजिब पात्रहरू निर्माण गर्दै द्वन्द्वको निर्माण गरेका छन्। उत्कृष्ट क्यामरा वर्क अनि सुहाउँदो ब्याकग्राउन्ड म्युजिकसँगै ललितपुरबाट एम्बुलेन्समा राखिएको मुटु रहेको बक्सा आठ घण्टाभित्र धरानको अस्पतालमा पुग्न सक्छ या सक्दैन? फिल्मको मुख्य कौतुहलताको पक्ष यही नै हो।

फिल्म 'बाटो'को थिम मनोज वाजपेयी अभिनीत भारतीय फिल्म 'ट्राफिक' बाट केही हदसम्म प्रभावित देखिन्छ। फिल्म 'ट्राफिक'मा भारतको पुनेमा रहेकी १२ बर्सिया एक बालिकामा प्रत्यारोपण गर्न मुम्बइको सडक दुर्घटनामा मारिएका युवकको मुटु साढे दुई घण्टामा पुर्याउने चुनौतीमा आधारित छ।

नियमित रूपमा एक सय ४८ किलोमिटर सडक पार गरेर मुम्बईबाट पुने पुग्न साढे तीन घण्टा लाग्छ। ट्राफिक रहेका बाजपेयीले साँढे दुई घण्टामा मुटु पुर्याउने जिम्मेवारी लिन्छन्।

मुटु पुने पुर्याउनेक्रममा सडक मार्गमा आउने अवरोध, मुटुको प्रतीक्षामा रहेकी बालिकाको परिवारको पीडा अनि युवा उमेरमै छोरा गुमाएका परिवारको विरहले फिल्मलाई भावुक बनाएको छ।

निर्देशक थापाले काठमाडौँदेखि धरानसम्मको तीन सय ६४ किलोमिटरको सडक सवारी जुन वास्तवमा नौ घण्टा २६ मिनेटमा पार गर्न सकिन्छ त्यो एक स्वास्थ्यकर्मी बनेकी पात्रबाट आठ घण्टामा एम्बुलेन्समा पार गराउने प्रयास गरेका छन्।

फिल्म ट्राफिकमा पनि 'मुटु' लाई विषय बनाएर आमा-बा र सन्तानको मायालाई देखाइएको थियो। फिल्म'बाटो' मा मुटु कुरिरहेकी पेसेन्टको साटो छोरा कुरिरहेकी आमा, आमा भेट्न हिँडेका छोरा, छोरालाई गन्तव्यमा पुर्याउने जिम्मेवारी लिएका ट्याक्सी चालक अनि मुटु पुर्याउने जिम्मेवारी लिएको स्वास्थ्यकर्मीसँगै जङ्गली सैतानहरूबाट हत्या गरिएको छोरीका अभिभावकको कथा मिसाएका छन् निर्देशकले।

फिल्मको मूल कथा अभिभावक र सन्तानबीचको माया नै हो। त्यसलाई थ्रिलर भाव दिन निर्देशकले अनेक पात्र र घटनाक्रम निर्माण गरेर फिल्मलाई अगाडि बढाएका छन्।

उनले धरानको जङ्गल नजिकै ग्यारेज सञ्चालन गर्ने अभिभावक र छोरी, आमाले काठमाडौँ नजाऊ भन्दाभन्दै फिल्म निर्देशक बन्न काठमाडौँ छिरेर अभिभावकसँग टाढिएका सन्तान र गर्भमा रहेको सन्तानप्रतिको माया र पेशागत जिम्मेवारीसँगै सडक दुर्घटनामा श्रीमती अनि ब्लड क्यान्सरका कारण छोरी गुमाएका ट्याक्सी चालकको चार जनाको, चार कोणको कथालाई एकै लाइनमा राखेर दृश्यमा उतारेका छन्।

ग्यारेजमुनिको सेटअप अनि जङ्गलको बिचमा गुडिरहेको ट्याक्सी, समस्या पर्दा जङ्गलभित्रको वैकल्पिक बाटो अपनाउँदा आउने सङ्कट अनि केही एरियलल सटमा फिल्म 'ट्रेन टु बुसान' को प्रभाव पनि देखिन्छ। 

तर दुई फिल्म हेरेका म जस्ता दर्शकका लागि पनि फिल्ममा 'लौ ट्वाक्कै कपी गरेका रैछन् नि' भन्ने दृष्य छैनन्। निर्देशकले कथा भन्ने शैली र दृष्यका सटहरुमा गरेको ट्रिटमेन्टले फिल्म नयाँ बन्न सफल भएको छ।

OOO

कमजोरीरहित छैन फिल्म। अभिनयको पक्षमा आमाको भूमिकामा रहेकी मिथिला शर्मा, मिथिलाको छोरा मञ्जुल बनेका उत्पल झा, सवारी चालक टोनी बनेका सुलक्षण भारती, स्वास्थ्यकर्मी कोमल बनेकी रक्षा थापा, ग्यारेज सञ्चालक बनेका पशुपति राई र अशान्त शर्माको अभिनय पात्र अनुसार ठिक छ।

सबैभन्दा बलियो अभिनय सुलक्षण भारती, अशान्त शर्मा र पशुपति राईको देखिन्छ। उत्पल झा, रक्षा थापाको अभिनय मध्यम छ।

मिथिलाको अभिनयको स्तर जुन तहको हो त्यो तहको चरित्र चित्रणमा निर्देशक कमजोर देखिए। कतै सिक्वेलका लागि पो जोगाएका हुन् कि।

फिल्मको कथा र संवादको कमजोरीले फिल्मलाई बलियो बन्नमा अवरोध पुर्याएको छ। उत्पल झा र रक्षा थापाको संवादको शैली कमजोर छ। कलाकारको स्वर फिल्मको चरित्र अनुसार सुहाउँदो नभएको अवस्थामा अन्यबाट संवाद डब गराउन सकिन्छ। यसमा पनि निर्देशक चुकेको देखियो।

दक्षिण भारतीय फिल्म निर्माणको शैली पच्छ्याउँदै फिल्म विभिन्न भाषामा बनाउने निर्देशकको सोचको प्रभाव हुनसक्छ फिल्ममा अङ्ग्रेजी भाषाका संवादको सङ्ख्या बढी नै राखिएको छ।

अवस्था अनुसार केही संवाद सुहाउँदिलो भए पनि अधिकांश स्थानका अङ्ग्रेजी संवाद सुहाएको छैन। ट्याक्सी चालक टोनीले अंग्रेजी बुझ्छ र बोल्छ पनि भन्ने दर्शकलाई जानकारी दिन विदेशी महिलासँगको प्रेमको प्रशंग खुसाएका छन्। तै पनि यात्रु बनेका उत्पल र सवारी चालक बनेका टोनीबीच तनावको बेलामा बोलिएका अङ्ग्रेजी संवादहरू सुहाउँदो देखिएन। 

रक्षा र उत्पलबीचको केही अङ्ग्रेजी संवाद पनि पछि फिल्म अङ्ग्रेजी भाषामा डबिङ गर्दा सजिलो होस् भनेर पहिल्यै नेपाली भाषाको स्क्रिप्टमा जवर्जस्ती बोल्न लगाएको झैँ देखिन्छ। यसै त संवादमा कमजोर कलाकार त्यसमा अंग्रेजी मिसाउँदा गडबड हुने नै भयो। 

चरित्रगत आधारमा रक्षाको भूमिका अझ कसिलो बन्न सक्थ्यो। सम्बन्धगत दृश्यमा ग्यारेज सञ्चालक आमा-बाउ र छोरीबीचको सम्बन्ध स्थापित गर्न निर्देशकले जति मिहेनत गरेका छन् अन्यको सम्बन्धमा त्यो तहको मिहेनत देखिन्न।

मिथिला शर्मा र उत्पलबीचको आमा-छोराको वियोगमा दर्शकलाई भावुक बनाउन निर्देशक त्यति सफल देखिएनन्। तर मिथिलाले आफ्नो छोरासँग 'मेरो मुटु तिमी आऊ न' भनिरहने संवाद कथाबाट निर्देशक थापाले जसरी क्लाइमेक्समा स्थापित गरेका छन् त्यो प्रशंसालायक छ।

ट्याक्सी चालक टोनी अनि उनको छोरी ताराबीचको वियोगात्मक सम्बन्ध दर्शकले अनुभव गर्न तहमा प्रस्तुत गर्न निर्देशक चुकेका छन्। दर्शकलाई थ्रिल अनुभव गराउन जङ्गलमा रचिएका अजिब पात्रको चरित्र चित्रण र स्वरको शैलीमा दर्शक कन्भिन्स हुन सक्दैनन्।

उनीहरूको अभिनयमा कुनै खोट छैन तर चरित्र चित्रण र उनीहरूको गेटअपमा दक्षिण भारतीय चरित्र हाबी छ। यात्राकोक्रममा जङ्गलमा हुने टकरावमा नरभक्षी समूहको निर्माणको चरित्र चित्रणमा निर्देशक चुकेका छन्।

नरभक्षी समूहको लक्ष्य सिद्धि प्राप्ति देखिन्छ। नेपालमा पनि यस्ता घटना नहुने हैनन्। तन्त्रमन्त्रको भ्रममा रहेकाहरू यस्तो अपराधमा संलग्न देखिन्छन्। तर निर्देशकले निर्माण गरेको नरभक्षी समूहको चरित्र चित्रण तन्त्रमन्त्रको अभ्यास गर्ने समूह भन्दा जङ्गलमै बस्ने हिश्रक आदिवासी समुदायको छविबाट बढी प्रभावित देखियो।

दर्शकलाई थ्रिल अनुभव गराउन निर्माण गरिएको उनीहरूको आवाजको शैलीले कन्भिन्स गराउँदैन। उनीहरूको संवाद बुझ्न समेत कठिन बनाउँछ।

तर फिल्मको सिनेमाटोग्राफी सबैभन्दा बलियो देखिन्छ। जङ्गलभित्रको वाइड सट, एरियल सटले फिल्मलाई बलियो बनाएको छ। जनरा अनि नेपाली फिल्म निर्माणमा देखिने प्राविधिक कमजोरीहरूका आधारमा फिल्म 'बाटो' एक उत्तम प्रारम्भ बनेको छ।

क्यामरा वर्कमा यस अगाडि रिलिज भएको अगस्त्यले पनि प्रयास गरेको थियो। तर कथावाचन शैलीमा चुक्दा त्यति प्रभावकारी हुन सकेन। फिल्म 'बाटो'को निर्देशक यसमा जोगिएका छन्।

फिल्म गतिलो भए दर्शक आफैँ हलमा आउँछन् भन्ने अति आत्मविश्वास फिल्म 'बाटो'को निर्माण टिमका लागि व्यावसायिक रूपमा घातक देखियो। 

रिलिजको तयारीमा रहेको फिल्मबारे लक्षित दर्शकसम्म पुग्न निर्माण टिमले प्रचार रणनीतिको निर्माण गर्छन्, गर्नैपर्छ। त्यसका लागि नाटकीय स्क्यान्डलको निर्माण, भव्य विज्ञापन, पेड पत्रकार परिचालन गर्नुपर्छ भन्ने हुन्न।

सूचना प्रविधिको जमानामा रचनात्मक प्रचार रणनीतिमार्फत पनि लक्षित दर्शकसम्म पुग्न सकिन्छ। तर यसको निर्माण टिमले त्यसमा पनि त्यति चासो नलिँदा शुक्रवार हलमा फिल्म रिलिज हुँदासम्म कमै दर्शकले मात्र फिल्म 'बाटो'बारे जानकारी पाएको देखियो।

दर्शकलाई प्रभाव पार्न सक्ने इन्फ्लुयन्सरसमेतको साथमा निर्देशक र कलाकारका कारण  हाइप पनि बनेको फिल्म 'गाउँ आउने बाटो' हलमा प्रदर्शनरत रहँदा 'बाटो' र 'गाउँ आएको बाटो' अलग फिल्म हो भन्नेमा केही दर्शक भ्रममा परेको देखियो।

मंगलबार म फिल्म हेर्न गएको हलको सँगैको सिटमा केही दर्शक 'गाउँ आएको बाटो' हेर्न जाँदा झुक्किएर 'बाटो'को टिकट काट्ने पनि भेटिए। उनीहरूले फिल्म हेरे र मन पराउँदै 'झुक्किए पनि ठिकै भएछ' भन्ने प्रतिक्रिया दिए।

स्थापित कलाकारको अभिनय रहेको फिल्म हेर्न एक समूह सधैँ प्रतीक्षामा रहँदा त आक्रामक प्रचारमा सक्रिय हुनुपर्ने अवस्थामा भगवान् भरोसा प्रचार संयन्त्रमा भर पर्नु दर्शकमाथिको अन्याय पनि हो।

फिल्ममा पहेँलो रगंको ट्याक्सी प्रयोग गर्नु, सेटअप दक्षीण भारतीय बनाउनुले नै उनको लक्ष्य नेपालमा फिल्म रिलिज गर्ने नै थिएन कि भन्ने शंका पनि बढाउँछ।

भाग्य नै भनौँ, कमजोर प्रचार हुँदाहुँदै पनि दर्शकहरू फिल्म 'बाटो' हेर्न हलमा गइरहेका छन्। यो दर्शककै प्रतिक्रियाको प्रभाव हो।

निर्देशकले बाटोको सिक्वेल 'बाटो : रोड टु लाइफ' को घोषणा गरिसकेका छन्। सिक्वेलका लागि उनले जोगाएका पात्रहरुले फिल्म रोचक र नेपालमा चलिरहेको सिक्वेलको ह्याङबाट मुक्त हुने संकेत गरेको छ। तर सिक्वेलमा पहिलो फिल्मको कमजोरी सुधार्न जरुरी छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर