काठमाडौं : विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेल जितेको छ।
पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो। घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गर्यो।
अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्र सिंह ऐरीले १९औं ओभरमा चार छक्का प्रहार गर्दै ओभरमा २६ रन ल्याएका थिए।
अन्तिम ओभरको पहिलो तीन बलमा सोमपाल कामीले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोड्दा दीपेन्द्रले ५२, सोमपालले ३२ र आशिफ शेखले २६ रन जोडे।
नेपालले यहि प्रतिद्वन्दी विरुद्ध २ थप अभ्यास खेल खेल्नेछ। सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ।
१६ र १८ मेमा अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ। त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ। नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो।
नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ। त्यसपछि आईसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ।