नेभिगेसन मेनु

अत्याधुनिक हुँदै मूलपानी क्रिकेट रङ्गशाला
सम्पादक:南亚网络电视
समय:2024-05-07 13:56

stadium-design-2

वैशाख २५ गते । राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशालाको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी रङ्गशालाको डिजाइन र संरचना पुल्चोक इन्जिनियरिङ कलेजले प्रस्तुत गरेको हो ।

डिजाइन अनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानका रूपमा निर्माण गरिने छ । यसको दर्शक क्षमता २० हजार ८७८ रहने छ । यो स्टेडियमको मुख्य विशेषता मैदानमा जडान गरिने ‘सब एयर’ प्रविधि हुने छ । उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुने छ । 

डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान दुवै छन् । रङ्गशालामा तीन तलाको अन्डरग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थललगायतका संरचना छन् । हालको माथिल्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानका रूपमा रहने छ ।

खेलकुदको मेगा प्रोजेक्टका रूपमा रहेको मूलपानी क्रिकेट मैदानको डिजाइन अनुसारको सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्माणका लागि सात अर्ब ३४ करोड ७० लाख रुपियाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री श्रेष्ठले यो वर्ष नै यो मैदानका लागि ५० करोडदेखि एक अर्ब रुपियाँसम्मको बजेट निकासा हुने सम्भावना रहेको बताउनुभयो । उहाँले रङ्गशालाको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताउनुभयो । यो डिजाइनमा अझै काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यमा राखेपले एक वर्षअघि आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रममा मूलपानी क्रिकेट रङ्गशाला निर्माणको बृहत् चर्चा भएको थियो । सो कार्यक्रममा विगतकै प्रक्रियामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीको प्रतिक्रिया थियो । 

प्रधानमन्त्री दाहालले सो कार्यक्रमपछि मूलपानी रङ्गशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्यसचिव टङ्कलाल घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी अघि बढ्न निर्देशन दिनुभएको थियो । 

मूलपानी क्रिकेट रङ्गशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ । डिपिआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सम्पन्न गर्न सदस्यसचिव घिसिङले पुल्चोक इन्जिनियरिङ कन्सल्टेन्सीलाई निर्देशन दिनुभएको जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर