काठमाडौं-कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग-आइपीएलको प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।
वर्षाले प्रभावित भएका कारण १६ ओभरमा घटाइएको खेलमा कोलकाताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो ।
कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।
मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुई/दुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एक/एक विकेट लिए ।
१५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए ।
कोलकाताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिए ।
यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाताले शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेको हो ।