नेभिगेसन मेनु

‘कुम्भमेला नेपालकै गौरव’
सम्पादक:南亚网络电视
समय:2024-04-10 11:43

SR-dharan2720240409132040_IMG_0778(1)copy

चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकैसूत्रमा बाँध्न सक्ने कुम्भमेला नेपालकै गौरव भएको बताउनुभएको छ । मङ्गलबार सुरु भएको कुम्भमेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, संवर्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भमेलाको गौरवपूर्ण अवसरलाई सदुपयोग गरी धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पु¥याउन आग्रह गर्नुभयो ।

उहाँले १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाले धार्मिक र आर्थिक विकासमा योगदान पु¥याउने बताउनुभयो । उहाँले कुम्भलाई नेपालमा स्थापित गर्न प्रयास गर्नुभएकोमा बालसन्त मोहनशरण देवाचार्यलाई धन्यवाद दिनुभयो । 

राष्ट्रपति पौडेलले भारतका चार स्थान प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा कुम्भमेला लाग्दै गरेको सुनिरहँदा नेपालमा अमृतको तर बटारेर पिण्ड राखेको ठाउँमा कुम्भमेला लगाउनु युक्तिसङ्गत हुने बताउनुभयो । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अर्बौं हिन्दुको आस्थाको धरोहर कुम्भ नेपालको चतरामा लगाउनुमा ऐतिहासिक र शास्त्रीय मान्यता रहेको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ऋषिमुनिले तपस्या गरेको, सुम्निमा, पारुहाङ र खुवालुङले स्नान गरेको भूमिमा लाग्ने कुम्भको ऐतिहासिक र धार्मिक महत्व रहेको बताउनुभयो । 

शाही स्नान आकर्षण

कुम्भको मुख्य आकर्षक शाही स्नान रहेको छ । कुम्भ स्नान गर्नकै लागि भक्तजन आउने गरेका छन् । अमृतको सार पिण्ड अक्ष तृतीयासम्म राखिएकाले कुम्भमा नुहाए मोक्ष प्राप्ति हुने मान्यता छ । यस पटक पूर्णमहाकुम्भको महास्नान चैत २७ गते शुक्लप्रतिपदाको दिन प्रारम्भ भई २०८१ वैशाख १ गते शुक्लपञ्चमी, ११ गते शुक्लपूर्णिमा, २६ गते मातातीर्थ औँसी र समापन महास्नान २८ गते अक्षय तृतीयामा हुने छ । शाही स्नान सन्तमहासन्तदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति, लाखौँ भक्तजनका साथमा बाजागाजासहित शाही स्नान गरिने भएको छ ।

छिन्नमस्तामा पूजापाठ

यसै गरी राष्ट्रपति पौडेलले मङ्गलबार नै सप्तरीको छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभएको छ । उहाँले विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेललाई सांसद, सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभयो । 

राष्ट्रपति पौडेलले छिन्नमस्ता तराई मधेशको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको र यस पवित्र भूमिमा राष्ट्रको अभिभावकका रूपमा आउँदा खुसी लागेको बताउनुभयो । उहाँले कोशी–कमला डाइभर्सन छिटो सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले कृषि क्रान्ति हुने सप्तरीलगायतका जिल्ला सुक्खाको समस्याबाट जुधिरहेको अवस्थामा कोशी–कमला डाइभर्सन सञ्चालन भए सुक्खाको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

महाकुम्भमेला वैशाख २८ गतेसम्म सञ्चालन हुने छ । प्राचीन हरिद्वारका नामले परिचित चतराधाममा पहिलो पटक २०५९ चैत ६ गतेदेखि एक महिनासम्म कुम्भमेला लागेको थियो । महाकुम्भ सफल बनाउन प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोख्रेललाई सम्पर्कबिन्दु तोकेको छ । भारत, भुटान, बङ्गलादेशसहित विश्वका विभिन्न देशबाट दर्शनार्थी आउने गरेका छन् । 

कौशिकी तटमा लाग्ने कुम्भमेलामा नेपाल र भारतका शङ्कराचार्य, धर्माचार्य, जगत्गुरु, सन्तमहन्त, पीठाधीश, मठाधीश, विद्वान्, विदुषीसहित धार्मिक अगुवाको उपस्थिति रहने जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर