चैत ६ गते । हातमा सिप र मनमा लगनशीलता भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ; मोरङको उर्लाबारी–८, आमबारी बजारका टङ्कबहादुर श्रेष्ठ । श्रेष्ठ ३० वर्षयता निरन्तर सिलाइ पेसामा हुनुहुन्छ । गरिब परिवारमा जन्मिएका ६० वर्षीय श्रेष्ठ १२ वर्षको उमेरदेखि सिलाइ पेसामा संलग्न हुनुभयो । साबिक राजघाट–८ को आमबारी बजारमा (अर्जुन दर्जी) भोजपुरे काइँलासँग सियोमा धागो उन्न, लुगामा इस्त्री लगाउन र सिलाइ मेसिन चलाउन सिकेका श्रेष्ठले आफ्नै टेलरिङ सेन्टर खोल्नुभएको ३० वर्ष भयो । काम सिक्ने सिलसिलामा उहाँ १४ वर्षको उमेरमा भारतको उडिसा पुग्नुभयो । उडिसा जातिको टेलरिङ सेन्टरमा दुई वर्ष बसेर उहाँले कठोर मेहनत गर्नुभयो । सबैखाले लुगा सिलाउन सिक्नुभयो । त्यसपछि उहाँ दार्जिलिङ पुग्नुभयो । दार्जिलिङमा १६ वर्ष काम गरेपछि नेपाल फर्किनुभयो । आफ्नै पसल खोलेर कामदार राखेर काम गर्ने सपना बोकेर नेपाल फर्किनुभएका श्रेष्ठको सपना पूरा भएन । लगानी गर्ने पैसा थिएन । सर्टको तीन रुपियाँ ५० पैसा र पेन्टको छ रुपियाँ हात लाग्थ्यो । खान, बस्न र दुईचार पैसा घर पठाउनै धौ धौ हुन्थ्यो । श्रेष्ठ कामको खोजीमा फेरि धरान पुग्नुभयो । धरान छाताचोकको पशुपति टेलर्समा १४ महिना काम गरेपछि उहाँ हातमा दुईचार पैसा बोकेर आफ्नै गाउँ फर्किनुभयो ।
गाउँ फर्केपछि उहाँले दार्जिलिङ टेलर्स सञ्चालनमा ल्याउनुभयो । ३० वर्षयता सोही ब्रान्डलाई उहाँले निरन्तरता दिइरहनुभएको छ । “विगतमा भ्याइनभ्याइ हुन्थ्यो लुगा सिलाउन । अहिले गर्जाे मात्र टरेको छ,” उहाँले भन्नुभयो, “थुप्रै जनशक्ति उत्पादन गरेँ । धेरैले आफैँ सिलाइ सेन्टर चलाएर गरी खाएका छन् ।” भारतीय कालिगडले नेपाल आएर बिनादर्ता टेलरिङ सेन्टर चलाइदिँदा नेपाली सिलाइ व्यवसाय सङ्कटमा परेको उहाँको भनाइ छ । श्रेष्ठ भन्नुहुन्छ, “उनीहरू करको दायरामा छैनन् । सियो, धागो सबै दुई नम्बरी लाइनबाट ल्याउँछन् । त्यसैले सस्तो मूल्यमा सिलाउन सक्छन् ।” हामीले नगरपालिका, घरधनी, वाणिज्य सङ्घमा व्यवसाय नवीकरण, पान नवीकरण गर्दा ठुलो खर्च तिर्नु पर्छ । नेपाली सिलाइ व्यवसायी प्रतिपस्र्धा गर्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।
कुनै समय सात कालिगड राखेर व्यवसाय चलाएका श्रेष्ठ अहिले एक्लै हुनुहुन्छ । सिलाइकटाइ र हातको काम आफैँ गर्नुहुन्छ । श्रमको काम भएकाले घाटा कहिल्यै हुन्न । उहाँले भन्नुभयो, “खाली हात बस्नु परेको छैन । खाली हात बस्नु नपरेपछि मासिक ३०÷३५ हजार कमाइ त भइहाल्छ ।”
विसं २०७० तिर मासिक अढाई लाख रुपियाँसम्म कमाइ भएको सम्झँदै उहाँले भन्नुभयो, “एकातिर रेडिमेड कपडाको बजार फैलिएको छ, अर्कातर्फ भारतीय कामदार बिनाइजाजत टेलरिङ चलाएर बसेका छन् । त्यसैले कामको चाप छैन ।”
नेवारको छोरो न जातले पाएको न बाबुबाजेले गरेको, आफँै सिकेको पेसाबाट घरजग्गा जोडेका श्रेष्ठ व्यवसायसँग पूर्ण सन्तुष्ट हुनुहुन्छ । कोरोनाले श्रीमतीको मृत्यु भएपछि उहाँले ठुलो समस्या बेहोर्नु प¥यो तर हरेक सङ्कटलाई सहजै पार लगाउँदै आएका श्रेष्ठले आफ्नो कामको लयलाई छोड्नुभएको छैन । परिवारका सदस्यले भरपुर साथ दिनुभएको छ ।