नेभिगेसन मेनु

चैत सुरुवातमै आगलागी र डढेलो बढ्यो : पाँच दिनमै एक सय २७ स्थानमा आगलागी, पाँचको मृत्यु, १२ घाइते
सम्पादक:南亚网络电视
समय:2024-03-19 12:47

dadelo2024-03-19-08-15-21

देशभर आगलागी र डढेलोका घटना बढेका छन् । पछिल्लो पाँच दिनमै एक सय २७ स्थानमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भोजपुरमा तीन तथा काठमाडौं र महोत्तरीमा एक–एकजनाको ज्यान गएको छ । आगलागीमा ८७ घर जलेका छन् भने आठ घरमा आंशिक क्षति पुगेको छ । दुई सय दुई परिवार प्रभावित भएका छन्  । ४० गोठमा क्षति पुगेको छ । २३ पशुचौपाया मरेका छन् । आगलागीबाट १२ करोड १० लाखको क्षति भएको प्रारम्भिक आकलन छ । 

पाँच दिनमा ४८ जिल्लामा आगलागी भएको छ । सबैभन्दा बढी मोरङमा १२ ठाउँमा आगलागी भएको छ । मोरङमा मात्र २९ घर नष्ट भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लोपटक आगलागीसँगै वनजंगलमा डढेलो पनि बढेको छ । पाँच दिनमै डढेलोबाट दुईजना घाइते भएका छन् । डढेलो बस्ती पस्दा तीन घर पूर्ण र दुई घर आंशिक क्षतिग्रस्त भएका छन् । ६ गोठ नष्ट भएका छन् भने १७ चौपाया मरेका छन् ।

गत वर्ष फागुनमा चार सय ६९ ठाउँमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । ५६ घाइते भए । आगलागीले एक सय ३३ घर पूर्ण र ३३ घरमा आंशिक क्षति पुगेको छ । चार सय एक चौपाया मरेका छन् । यो महिना १८ करोड ५९ लाखको क्षति भएको छ । माघमा चार सय चार ठाउँमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । ९२ घाइते भएका छन् । ६७ घर पूर्ण र ३५ घरमा आंशिक क्षति पुगेको छ । १५ करोड १७ लाखको क्षति भएको छ । पुसमा तीन सय ९५ ठाउँमा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । ३८ घाइते भएका छन् । ५९ घर पूर्ण र १९ घरमा आंशिक क्षति पुगेको छ । कुल २० करोडको क्षति अनुमान छ । 

मंसिरमा आगलागीबाट बढी क्षति भएको देखिन्छ । तथ्यांकअनुसार मंसिरमा तीन सय ३० स्थानमा भएको आगलागीमा १५ जनाले ज्यान गुमाएका छन् । ३२ जना घाइते भएका छन् । ३७ घर पूर्ण र ४० घर आंशिक क्षतिग्रस्त बनेका छन् । मंसिरमा १९ करोडको क्षति भएको छ ।  

कात्तिकमा तीन सय दुई ठाउँमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् । ५८ घर पूर्ण क्षतिग्रस्त हुँदा ४८ घरमा आंशिक क्षति भएको छ । यो महिना २८ करोड ५८ लाखको क्षति भएको विवरण छ । असोजमा आगलागीका एक सय ३५ घटनामा तीनजनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । २१ घर पूर्ण क्षतिग्रस्त हुँदा ३५ घरमा आंशिक क्षति पुगेको छ ।

यो महिना १४ करोड क्षति भएको देखिन्छ । असार, साउन र भदौमा वर्षा धेरै हुन्छ, आगलागीको जोखिम कम मानिन्छ । तर, आगलागी र क्षति घटेको देखिँदैन । भदौमा एक सय १३ ठाउँमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् । १४ घर पूर्ण र १८ घरमा आंशिक क्षति पुगेको छ । यो महिना ६ करोडको क्षति अनुमान छ । साउनमा आगलागीका एक सय ५७ घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १९ घर पूर्ण रूपमा र ४२ घर आंशिक क्षतिग्रस्त भएका छन् । यो महिना नौ करोड ५५ लाखको क्षति भएको छ । असारमा एक सय ७६ ठाउँमा भएका आगलागीका घटनामा परी तीनजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । ५३ घर पूर्ण र ६ घर आंशिक क्षतिग्रस्त भए । यो महिना आठ करोड ६३ लाखको क्षति अनुमान छ ।

हावाहुरी चल्ने वैशाख–जेठमा पनि आगलागी र घर नष्टका घटना धेरै देखिन्छन् । जेठमा तीन सय ५३ ठाउँमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् । यो अवधिमा मात्र एक सय १३ घर पूर्ण रूपमा र १४ घरमा आंशिक क्षति भएको छ । जेठमा मात्र २२ करोड ९१ लाखको क्षति भएको छ ।  

वैशाखमा पाँच सय ४५ ठाउँमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । ५६ जना घाइते भए । एकै महिना दुई सय ५४ घर जलेर नष्ट भए । वैशाखमा मात्र ३६ करोड ३४ लाखको क्षति भएको छ । गत वर्ष चैतमा चार सय ७९ ठाउँमा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । ५२ जना घाइते भए । दुई सय सात घर पूर्ण रूपमा नष्ट भएका छन् । यो महिना २३ करोड ९४ लाखको क्षति भएको छ ।

एक वर्षमा तीन हजार नौ सय ९१ ठाउँमा आगलागी 

एक सय सातको मृत्यु, एक हजार एक सय ४० घर नष्ट

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार एक वर्षमा तीन हजार नौ सय ९१ स्थानमा भएका आगलागीमा एक सय सातजनाको मृत्यु भएको छ । पाँच सय ९४ घाइते भएका छन् । ५ फागुन ०७९ देखि ५ फागुन ०८० सम्मको तथ्यांकअनुसार आगलागीमा एक हजार एक सय ४० घर पूर्ण रूपमा नष्ट भएका छन् भने तीन सय ४२ घरमा आंशिक क्षति भएको छ । तीन सय ३१ गोठ जल्दा एक हजार नौ सय ९७ पशु मरेका छन् ।

आगलागीबाट दुई अर्ब ४२ करोड ५४ लाख क्षतिको प्रारम्भिक अनुमान छ । केन्द्रको तथ्यांक हेर्दा आगलागीका घटना र मानवीय क्षति कात्तिकयता ह्वात्तै बढेको देखिन्छ । कात्तिकयताको पाँच महिनामा एक हजार नौ सय ८७ ठाउँमा आगलागी हुँदा ७३ जनाको मृत्यु भएको छ । दुई सय ७५ जना घाइते भएका छन् । चार सय ४२ घर पूर्ण रूपमा नष्ट हुँदा एक सय ८२ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४४ गोठ जलेका छन् भने नौ सय ४० चौपाया मरेका छन् । एक अर्ब १२ करोडको क्षति भएको छ ।

पानी नपर्दा चैत–वैशाखमा आगलागी र डढेलो अझ बढ्ने देखिन्छ

 अनिल पोखरेल, कार्यकारी प्रमुख, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

यो वर्ष हिउँद सुक्खा रह्यो । पश्चिम नेपालमा केही पानी परे पनि पूर्वी नेपाल सुक्खामा बित्यो । आगलागी र डढेलोका घटना पनि पूर्वी नेपालमा बढिरहेका छन् । समग्रमा नेपालभर हरेक वर्ष डढेलो र आगलागीका घटना हुन्छन् । तर, यो वर्ष हिउँद सुक्खा हुनु र सन् २०२३ निकै तातो रेकर्ड हुनुका कारणले पनि आगलागीका घटना बढिरहेका हुन् ।

आगलागी र डढेलोका घटना चैत–वैशाखमा अझ बढी हुने अनुमान गरिन्छ । अहिले चट्याङ त परेको छैन, मान्छेको लापरबाहीले आगलागी र डढेलो बढेका हुन् । तर, सुक्खा हुँदा, तापक्रम बढ्दा आगो फैलन मद्दत गर्छ । अहिले भइरहेको पनि त्यही हो । जंगलको कुनै एक ठाउँमा आगो लागेमा चाँडै धेरैतिर फैलिरहेको छ । बस्तीमा भइरहेका आगलागीका घटनामा पनि त्यही समस्या छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर