नेपालगन्जमा भारतीय आपराधिक समूहको आपराधिक गतिविधि बढेको छ। उक्त समूहले नेपालगन्जलाई लागू औषधको ‘हट स्पट’का रूपमा प्रयोग गरिरहेको छ। खुला सीमाका कारण नेपालगन्जमा आएर उनीहरूले आपराधिक क्रियाकलाप गर्ने गरेको विभिन्न घटनाबाट पुष्टि भएको छ।
बाँके जिल्ला कारागारका प्रमुख अर्जुन जंग शाहका अनुसार कारागारमा ४६ जना भारतीय नागरिक छन्। उनीहरू सबैभन्दा धेरै लागू औषधको अपराधमा संलग्न रहेको पाइएको छ। योसँगै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, मानव बेचबिखन र सवारी दुर्घटनामा उनीहरू संलग्न छन्।
उनका अनुसार कारागारमा लागु औषधमा मात्र ३६ जना छन्। कर्तव्य ज्यानमा ३ जना, ज्यान मार्ने उद्योगमा १ जना, जबरजस्ती करणीमा २ जना, मानव बेचबिखनमा २ जना र सवारी दुर्घटनामा पनि २ जना गरी ४६ जना भारतीय कारागार चलान भएका छन्।
अपराध गरिसकेपछि भाग्न र लुक्न सजिलो हुने भएकाले पनि भारतीय आपराधिक समूहको रोजाइमा नेपालगन्ज पर्ने गरेको छ। यसलाई समयमै नियन्त्रण नगर्ने हो भने नेपालगन्जमा अझै ठुल–ठुला अपराध हुन सक्छन्। उनीहरूको आपराधिक गतिविधिले बाँकेको सुरक्षा व्यवस्थालाई नै चुनौती दिएको छ।
नेपालगन्जमा भारतीय नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र सुरक्षा नीति हो। सुरक्षा अधिकारीहरू खुला सीमाको फाइदा उनीहरूले उठाएको र नियन्त्रणको प्रयास भइरहेको जवाफ दिन्छन्।
तर, यति जवाफले भन्दा सीमा पारिबाट वारि आएर हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुई देशबीचका सुरक्षा अधिकारीहरूको समन्वयात्मक भूमिका हुनु पर्ने स्थानीयको भनाइ छ।
अधिवक्ता वसन्त गौतमले खुला सीमाको फाइदा भारतीय आपराधिक समूहले उठाइरहेको बताए। ‘यहाँ अपराध गरेपछि खुला सीमाका कारण भाग्न सजिलो छ,’ उनले भने, ‘अपराध गरेर सहजै र छिटै नाकाबाट भाग्न सजिलो हुने भएकाले उनीहरूले नेपालगन्जलाई छनोट गरेका हुन्।’ सीमा क्षेत्रमा निगरानी मात्र बढाउने हो भने पनि यसलाई केही न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
ठुला आपराधिक गतिविधि हुन नपाए पनि नेपालगन्जमा भारतीय नागरिक साना आपराधिक गतिविधिमा संलग्न भएको नेपाल–भारतमैत्री संगठनका केन्द्रीय सदस्य सम थापाले जनाए।
‘अहिले भारतीय सुरक्षा अवस्थाका कारण यहाँ ठुला आपराधिक गतिविधि भारतीय नागरिकले गर्ने र उनीहरू लुक्ने सम्भावना कम छ,’ उनले भने, ‘स्थायी भारतीय सरकार हुँदा सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीको निगरानीले नेपालगन्जको अवस्थामा पनि प्रभाव पारेको छ। उनीहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावना कम देखिन्छ।’
नेपालमा स्थायी सरकार नहुँदा र सुरक्षा व्यवस्था स्थिर नहुँदा भारतीय नागरिकले सानातिना घटना घटाइरहेको उनी बताउँछन्।
जिल्लाका सुरक्षा अधिकारीहरूको क्षमता र कामप्रतिको लगनशीलताले पनि सुरक्षा अवस्था मजबुत हुने भन्दै उनले भने, ‘सुरक्षा अधिकारीले कर्तव्यनिष्ठ भएर काम गर्ने हो भने सानातिना हुने आपराधिक गतिविधि रोकिन सक्छन्।’ यसमा सुरक्षा निकाय चनाखो हुनु पर्ने उनको भनाइ छ।
आपराधिक गतिविधिले सीमा क्षेत्रमा सुरक्षा चुनौती त बढेको छ नै, नागरिकमा त्रासको वातावरण सिर्जना हुन थालेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगी भने अपराध नियन्त्रणका लागि दुई देशका सीमा अधिकारहरूबीच समन्वय भइरहेको दाबी गर्छन्।
‘आपराधिक गतिविधि न्यूनीकरणका लागि दुई देशबीचका सुरक्षा अधिकारहरूबीच बेलाबेलामा समन्वय हुँदै आएको छ’, उनी भन्छन्।
‘सुरक्षा अधिकारीको बैठकमा कुरा उठिरहेकोछ,’ उनले भने, ‘सीमा क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति र अन्य शंकास्पद व्यक्तिको निगरानी भइरहेको छ।’ केही भारतीय नागरिक फरार सूचीमा रहेको पनि उनले बताएका छन्।