एस् ए टि भी, पौष १९ गते। भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर काठमाडौं आएका छन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय वायुसेवाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्रसचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
काठमाडौं रहँदा जयशंकरले राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार वार्तादेखि कांग्रेस र एमालेका शीर्ष नेतासँग भेटवार्ता र संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र (संयुक्त आयोग)को बैठक तीन वर्षपछि बस्न लागेको हो । विदेशमन्त्रीका रूपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।
यस्तो छ तालिका
उनको पहिलो शिष्टाचार भेट बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग हुनेछ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मध्याह्न १२ बजे भेट गर्ने तय भएको छ ।
बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटपछि विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी साउदसँग १ बजे भेटवार्ता गर्नेछन् । होटेल याक एन्ड यतीमा उनीहरूबीच १५ मिनेटको भेटवार्तापछि त्यहीँ नेपाल–भारत संयुक्त आयोगको बैठक बस्नेछ ।
बैठक सकिएपछि परराष्ट्र मन्त्रालयका तर्फबाट आयोजित दिवाभोजमा सहभागी भएर जयशंकरले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । साँझ परराष्ट्रमन्त्री साउदद्वारा होटेल सोल्टीमा आयोजित रात्रिभोजमा जयशंकर सहभागी हुनेछन् ।
जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयमा भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालय उद्घाटन गरेपछि उनको नेपालमा कार्यक्रम सम्पन्न हुनेछ । दिउँसो १२:३० बजे उनी दिल्ली फर्किनेछन् ।