नेभिगेसन मेनु

राष्ट्रिय सभामा बदलियो शक्ति सन्तुलन
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-01-26 14:03

rastriya-sabha2024-01-26-06-54-48

 राष्ट्रिय सभामा प्रदेशहरूको न्यायोचित प्रतिनिधित्व र समावेशी चरित्र छ । तर, दलहरूले शक्ति मानकको थलो बनाउँदा विज्ञहरू भने यसपटक पनि अटेनन् ।

राष्ट्रिय सभामा अबको तस्बिर : माओवादी : १८, कांग्रेस : १६, एमाले : १०, एकीकृत समाजवादी : ८, जसपा : ३, लोसपा : १ र जनमोर्चा : १

- राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ ।

- आयोगका अनुसार बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२% मत खस्यो

- गठबन्धनलाई चकित पार्दै कोशीमा एमालेकी रुकमिणी कोइराला ९४ मतभारले विजयी, माओवादीलाई दोस्रोपटक ‘धोका’

- तीन स्वतन्त्र मेयर काठमाडौंका बालेन साह, धरानका हर्क राई र धनगढीका गोपाल हमाल मतदान गर्न गएनन्

१९ सिटका लागि बिहीबार भएको निर्वाचन परिणामले राष्ट्रिय सभाको शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको छ । प्रतिनिधिसभामा तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । संसद्को पहिलो ठूलो दल कांग्रेस दोस्रो र एमाले तेस्रो भएका छन् । 

हाल राष्ट्रिय सभामा एमालेका १८, माओवादी १६, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, स्वतन्त्र दुई, लोसपा र जनमोर्चाका एक–एकजना छन् । तर, २० फागुनमा एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक बाहिरिँदै छन् ।

बिहीबार निर्वाचितमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई, एमाले र जसपाका एक–एकजना छन् । यस आधारमा २० फागुनपछि राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । गठबन्धनबीच उक्त सिट जनमोर्चालाई दिने सहमति छ । 

प्रतिनिधिसभातर्फ भने कांग्रेस ८८ (प्रत्यक्ष ५६ ‘एक निलम्बित’/समानुपातिक ३२), एमाले (प्रत्यक्ष ४४ ‘एक निलम्बित’/समानुपातिक ३४), माओवादी (प्रत्यक्ष १८/समानुपातिक १४), रास्वपा २१ (प्रत्यक्ष ८/समानुपातिक १३), राप्रपा (प्रत्यक्ष ७/समानुपातिक ७), जसपा (प्रत्यक्ष ७/समानुपातिक ५), एकीकृत समाजवादी १०, जनमत (प्रत्यक्ष १/समानुपातिक ५), लोसपा ४, नागरिक उन्मुक्ति ४, नेमकिपा, जनमोर्चा र आम जनता १–१, स्वतन्त्र २ र रिक्त एक सिट छ ।

गठबन्धन १८ र एमाले एक सिटमा विजय 

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनले १८ र एमालेले एक सिटमा जित हासिल गरेको छ । सातवटै प्रदेशमा १९ सिटका लागि बिहीबार भएको आठ दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेकोमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई र एमाले तथा जसपाका एक–एक उम्मेदवार निर्वाचित भएका हुन् । 

०७४ को चुनावबाट निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे कार्यकाल पूरा गरी एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक सांसद २० फागुनमा बिदा हुँदै छन् । संविधानअनुसार पदावधि सकिनु ३५ दिनअगावै राष्ट्रिय सभा सदस्यको निर्वाचन भइसक्नुपर्छ । 

निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले प्रदेश सांसदको मतभार ५३ र पालिका प्रमुख–उपप्रमुखको मतभार १९ तोकेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेश सभामा पाँच सय ४९ जना मतदाता रहेकोमा पाँच सय ४६ जनाले मतदान गरेका थिए भने पालिका प्रमुख/उपप्रमुखतर्फ एक हजार ४९७ मतदाता रहेको एक हजार ४८६ जनाले मतदान गरेका थिए । दुवैतर्फ दुई हजार ४६ मतदाता रहेकोमा दुई हजार ३२ जनाले मतदान गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशीमा अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला पाँच हजार २९२ र महिलातर्फ एमालेकी रुकमिणी कोइराला पाँच हजार ८६ मतभारसहित निर्वाचित भएका छन् । मधेशमा अन्यतर्फ कांग्रेसका आनन्दप्रसाद ढुंगाना सात हजार ३७० र महिलातर्फ जसपाकी पूजा चौधरी सात हजार ९२३ मतभारसहित निर्वाचित भएका छन् । 

बागमतीमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत ६ हजार ५३१ र महिलातर्फ विष्णुदेवी पुडासैनी ६ हजार ६२२ चुनिँदा अपांगता तथा अल्पसंख्यकतर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी ६ हजार ३८३ र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालले ६ हजार ५१२ मतभारले जितेका छन् । 

त्यसैगरी गण्डकीमा महिलातर्फ माओवादीकी मनरूपा शर्मा सुवेदी तीन हजार ६६० र अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ तीन हजार ८०८ र अपांगता तथा अल्पसंख्यकतर्फ पदमबहादुर परियारले तीन हजार ७७४ मतले बाजी मारेका छन् । लुम्बिनीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा पाँच हजार ४३५ र अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदीले पाँच हजार ४३५ मतभारले जित हासिल गरेका छन् । 

कर्णालीमा महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल तीन हजार सात ७२२, अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया तीन हजार ८७० र दलिततर्फ माओवादीका विष्णुबहादुर विक तीन हजार ८१७ मतभारले विजयी भएका छन् । सुदूरपश्चिममा महिलातर्फ माओवादीकी रेणु चन्द चार हजार ४५३, अन्यतर्फ कांग्रेसका बलदेव बोहरा चार हजार ३२८ र अपांगता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्ट चार हजार ४१९ मतभारले निर्वाचित भएको आयोगले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर