नेभिगेसन मेनु

यू-१९ विश्वकप : समूहमा चरणमा उपाधि दाबेदार टिमहरूसँग भिड्दै नेपाल
सम्पादक:南亚网络电视
लेखक:सेतोपाटी
समय:2024-01-17 17:53

409338350_762706032552446_9053339463228844143_n-1705468388

आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह 'डी' मा छ।

सन् २०१६ पछि पहिलोपटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल

सन् २००० को यू-१९ विश्वकपमा डेब्यू गरेको नेपालले आठौं पटक युवा विश्वकप खेल्दैछ। नेपालले पाकिस्तान (२००२), दक्षिण अफ्रिका (२००४, २००६) र न्युजिल्यान्ड (२००६, २०१६) जस्ता टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो। 

सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा आठौं स्थान हात पार्नु नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन हो।

गत महिना युएईमा भएको यू-१९ एसिया कप खेलेपछि दक्षिण अफ्रिका पुगेको नेपालले यसपटकको विश्वकपमा उत्कृष्ट खेल देखाउने विश्वास गरिएको छ। दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रह्यो। नेपालले स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई पराजित गर्‍यो। मंगलबार वेस्ट इन्डिजविरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो। 

टिममा सिनियर टिमको अनुभव भएका देव खनाल र गुल्सन झा हुनु नेपाली टिमको बलियो पक्ष हो। 

गुल्सनले नेपालको सिनियर टिमका लागि २४ एकदिवसीय र १४ टी-२० खेल खेलिसकेका छन्। जसमा उनले ३३ अन्तर्राष्ट्रिय विकेट लिएका छन्। टी-२० मा १४६.८७ को स्ट्राइक रेट भएका गुल्सनले टिमलाई चाहिएको बेलामा ब्याटिङ गर्छन्। उनले स्कटल्यान्डविरुद्ध को अभ्यास खेलमा ३ विकेट लिँदा १५ रन खर्चिएका थिए, जुन खेलमा नेपाल विजयी भयो। 

नेपालका कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा फर्कदा खुसी लागेको बताए, ‘हामी निकै उत्सहित छौं। ८ वर्षको पर्खाइपछि हामी यू–१९ विश्वकप खेल्दैछौँ। विश्वकप हाम्रा लागि सपना हो र सम्पूर्ण देशका लागि विशेष कुरा हो।'

नेपाल टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

नेपालको खेल

२१ जनवरी: न्युजिल्यान्डविरुद्ध

२४ जनवरी: पाकिस्तानविरुद्ध

२६ जनवरी: अफगानिस्तानविरुद्ध

अफगानिस्तान

दुईपटक सेमिफाइनलमा पुगेको अफगानिस्तानले यो विश्वकपमा राम्रो खेल्ने लक्ष्य लिएको छ। सन् २०१० पहिलोपटक विश्वकप खेलेदेखि नै अफगानिस्तानले प्रभावशाली प्रदर्शन गर्दै आएको छ। सन् २०१८ मा पाकिस्तान र आयोजक न्युजिल्यान्डलाई हराउँदा अफगानिस्तान अन्तिम चारमा पुगेको थियो। सन् २०२२ मा पनि अन्तिम चारमा पुगेको अफगानिस्तानले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको थियो। यद्यपी सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित हुन बाध्य भएको थियो। 

मार्च २०२३ मा बंगलादेश र श्रीलंकासँग त्रिकोणात्मक सिरिज खेलेको अफगानिस्तालले हालै यू-१९ एसिया कप खेल्यो। आयोजक दक्षिण अफ्रिका र डिफेन्डिङ च्याम्पियन भारतसँगको त्रिकोणात्मक सिरिज पनि खेलेको अफगानिस्तानले विश्वकपका लागि पर्याप्त तयारी गरेको छ।

अफगानिस्तानका अल्लाह मोहम्मदलाई प्रतिभाशाली मुजीब उर रहमानसँग तुलना गरिएको छ। उनले दक्षिण अफ्रिकामा हालै सम्पन्न त्रिकोणीय सिरिजमा आफ्नो क्षमता देखाए। उनले १५.७ को औसतमा १० विकेट लिए। अफगानिस्तानका कप्तान नसीर खान फाइनल पुग्ने लक्ष्यमा छन्। उनले भने, 'हामीले अघिल्लोपटक सेमिफाइनल खेलेका थियौं, त्यसैले अब फाइनलमा पुगेर देशका लागि ट्रफी जित्न आतुर छौं।'

अफगानिस्तान टिम

नसीर खान (कप्तान), नुमान शाह, हसन इसाखिल, वाफिउल्लाह तरखिल, खालिद तानिवाल, अली अहमद नसर, जमशीद जद्रान, सोहेल खान जुर्मती, रहिमुल्लाह जुर्मती, अल्लाह मोहम्मद, अरब गुल मोमान्द, फरिदुन दाउदजाई, बशीर अहमद, खलील अहमद, जाहिद अफगान

अफगानिस्तानको खेल

२० जनवरी: पाकिस्तानविरुद्ध 

२३ जनवरी: न्युजिल्यान्डविरुद्ध 

२६ जनवरी: नेपालविरुद्ध 

पाकिस्तान

यू-१९ विश्वकपको इतिहासमा पाकिस्तान एक दाबेदार टोली सधैं बन्न सफल भयो। पाकिस्तान सन् २००४ र २००६ मा लगातार यू-१९ विश्वकप जित्ने एक मात्र टिम हो।

यद्यपी पाकिस्तान सन् २०१४ देखि फाइनलमा पुग्न सकेको छैन। त्यसैले यो विश्वकपमा पाकिस्तानले उपाधि जित्ने लक्ष्य बनाएको छ। 

एसिया कपमा युएईसँग पराजित हुँदा पाकिस्तानको कमजोर पक्ष देखिएको थियो। यद्यपी पाकिस्तानले एसिया कपमा अफगानिस्तान, भारत र नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेको थियो।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। ६ फिट ८ इन्च अग्ला जिशानले यू–१९ एसिया कपमा नेपालविरुद्ध सनसनीपूर्ण बलिङ गर्ने क्रममा ६ विकेट लिँदा १९ रन मात्र दिएका थिए। उनले भारतविरुद्ध पनि ४ विकेट लिएका थिए। अग्लो कदका उनले दक्षिण अफ्रिकाको ट्र्याकमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ। पाकिस्तानदका तीव्र गतिका बलर उबेद शाहले ब्याटिङ तथा बलिङ दुवैमा अब्बल भएकाले पाकिस्तानले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

पाकिस्तान टिम

साद बेग (कप्तान), अली असफन्द, अली रजा, अहमद हसन, अमिर हसन, अरफत मिन्हास, अजान अवेस, हारून अरशद, खुबैब खलील, मोहम्मद जीशान, नाभिद अहमद खान, शाहजैब खान, शमिल हुसेन, मुहम्मद रियाजुल्लाह, उबेद शाह।

पाकिस्तानकाखेल 

२० जनवरी: अफगानिस्तानविरुद्ध

२४ जनवरी: नेपालविरुद्ध

२७ जनवरी: न्युजिल्यान्डविरुद्ध

न्युजिल्यान्ड

न्युजिल्यान्ड यू-१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ। सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्यान्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो।

यसपटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको हो। किनभने न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड-१९ का कारण नाम फिर्ता लिएको थियो। जसका कारण उसले एशिया-प्यासिफिक क्वालिफायर मार्फत् सन् २०२४ को विश्वकपमा स्थान बनायो। छनोटमा न्युजिल्यान्डले सबै ६ खेल आरामसँग जितेको थियो। 

ज्याक कमिङ न्युजिल्यान्डका पूर्व खेलाडी क्रेग कमिङका छोरा हुन्। उनले यसअघि नै न्युजिल्यान्डको घरेलु प्रतियोगितामा उत्कृष्ट खेल देखाइसकेका छन्। गत नोभेम्बरमा १८ वर्षीया कमिङ न्युजिल्यान्ड क्रिकेट ए प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। 

यस्तै उनले छनोटमा १४ विकेट लिँदा १५२ रन बनाएका थिए। न्युजिल्यान्डले विश्वकपमा उनले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेको छ। न्युजिल्यान्डका कप्तान ओस्कार ज्याक्सनले आफूहरु उपाधि जित्न सक्षम रहेको बताए। 

न्युजिल्यान्ड टिम

ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।

न्युजिल्यान्डका खेल 

२१ जनवरी: नेपालविरुद्ध

२३ जनवरी: अफगानिस्तानविरुद्ध 

२७ जनवरी: पाकिस्तानविरुद्ध

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर