नेभिगेसन मेनु

मेरो फ्रिकिकले विपक्षी खेलाडी दुई दिन होसमै आएनन्
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-23 13:07

Sports_12023-12-23-09-50-27

धीरेन्द्र प्रधान नेपाली फुटबलमा निकै नाम चलेका खेलाडी हुन् । उनलाई फ्रिकिक सुटिङ ‘किङ’ भनिन्छ । प्रधानको फ्रिकिक यस्तो अचुक थियो, फ्रेममा परेका वेला सीधै गोलपोस्टभित्र बल छिथ्र्यो । बक्सअगाडि उनले प्रहार गरेको फ्रिकिक बल विपक्षी गोलरक्षकलाई रोक्न हम्मे–हम्मे हुन्थ्यो । डिफेन्डर भूमिका निर्वाहमा पोख्त प्रधानले आफ्नो फुटबल करिअरमा धेरै फ्रिकिक गोल गरे । सफल खेलाडी प्रधानले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रशासन क्षेत्रमा पनि १२ वर्ष बिताए । सन् १९८३ मा दार्जिलिङमा भएको ब्रिगेड गोल्डकपमा भाग लिँदा उनको एक फ्रिकिक प्रहारले कोलकाताका खेलाडी तीन दिनसम्म अचेत भएका थिए । त्यो खेलको संस्मरण उनले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए :

त्रिभुवन विमानस्थलबाट सीधै दार्जिलिङतिर

हामी भर्खर मलेसियाको चर्चित फुटबल प्रतियोगिता मर्डेका कप खेलेर नेपाल फर्किएका थियौँ । घर भने जान पाएनौँ । त्यसैवेला दार्जिलिङमा आयोजना हुने ब्रिगेड गोल्डकप खेल्ने सेड्युल बनेको थियो । क्वालालम्पुरबाट सीधै त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर दार्जिलिङतर्फ लाग्यौँ । घर नगएर र मर्डेका कपको थकान नमेटाउँदै सोझै दार्जिलिङ जानुपरेको थियो । त्यसपछि हवाईजहाजबाट विराटनगर पुग्यौँ । त्यहाँबाट सबै नेपाली खेलाडी गाडीमा बसेर दार्जिलिङतर्फ हुइँकियौँ । यो कुरा सन् १९८३ को हो ।

ब्रिगेड गोल्डकप खेल्न हामी नेपाली राष्ट्रिय फुटबल टोली तयारी अवस्थामै थियौँ । किनभने, हामीसँग सम्भवतः एसियाकै प्रतिष्ठित फुटबल खेलेको अनुभव थियो । दार्जिलिङमा नेपालले सीधै क्वार्टरफाइनलमा बाई पाएको थियो । क्वार्टरफाइनलमा कुन टोली हो, अहिले त्यति याद भएन । तर, त्यो प्रतियोगितामा भएका रमाइला पक्षहरू भने केही दिमागमा छन् । मलाई लाग्छ, क्वार्टरफाइनलमा हामीसँग पराजित भएको त्यो स्थानीय टोली नै हुनुपर्छ । अहिले त्यतिवेलाका घटना राम्रोसँग सम्झना छैन । क्वार्टरफाइनलमा हामीले सहज जित निकाल्यौँ । क्वार्टरफाइनलबाट सहज पार लाग्यौँ । 

पोस्टभन्दा ३० यार्ड टाढाबाट फ्रिकिक

केही दिनको रेस्टपछि सेमिफाइनल खेल भयो । हाम्रो प्रतिद्वन्द्वी कोलकाता थियो । फेरि कोलकाता टोली निकै राम्रो थियो । उनीहरूका खेलाडीहरू भारतको ‘ए’ डिभिजन लिग खेल्थे । भारतको लिग भनेपछि कुरै छाडौँ । किनभने, उनीहरूको लिग हाम्रोभन्दा पनि तगडा थियो । ब्रिगेड गोल्डकपको मज्जा के रह्यो भने फुटबल खेल डाँडामा भएको थियो । दार्जिलिङ आफैँमा एक पहाडी क्षेत्र थियो । रमणीय र लोभलाग्दो हरियो प्रकृतिबीच फुटबल मैदान हेर्दा आनन्द लाग्थ्यो । मैदानको चारैतिर पहाडैपहाड थिए । बीचको खाली भागमा मैदान र चारैतिर भुइँमै फुटबल समर्थक आएका थिए । दार्जिलिङमा नेपालीभाषी नेपाली धेरै थिए । उनीहरू हामी नेपाली खेलाडीको खेल हेर्न दर्शक बनेर आएका थिए । क्वार्टरफाइनल खेलमा यस पक्षलाई त्यति याद गरिनँ । सेमिफाइनलमा कोलकाताविरुद्ध खेल्नेक्रममा भुइँमै हजारौँ दार्जिलिङका नेपाली दर्शकले हामीलाई चर्को स्वरमा समर्थन गरेका थिए । 

विपक्षीको स्तरअनुसार हामीले पहिलो हाफमा रणनीति बनायौँ । भलै कोलकाताका खेलाडी त्यहाँको ‘ए’ डिभिजन लिग खेल्ने भए पनि हामी पनि कम थिएनौँ । सिंगो नेपालको राष्ट्रिय टोलीका खेलाडीले भाग लिइरहेका थियौँ । पहिलो हाफमा त्यति मुभ भएन । मध्यान्तरपछि खेल फरक भयो । यति नै समय भनेर थाहा भएन । तर, दोस्रो हाफ नै हुनुपर्छ । नेपालले पोस्टभन्दा ३० यार्ड टाढामा फ्रिकिक पाएको थियो । फ्रिकिक प्रहार गर्ने स्थान ठयाक्कै गोलै हुने फ्रेममा थियो ।  

त्यतिवेला मलाई धेरैले राम्रोसँग चिनेका थिए । म आफूले सुनेको थिएँ, ‘नेपालका धीरेन्द्रले अचम्म र शक्तिशाली फ्रिकिक प्रहार गर्छन् ।’ मप्रति आमदर्शकबाट बोल्दा मन नै प्रफुल्ल हुन्थ्यो । अक्सर त्यस किसिमको फ्रेममा मैले नै फ्रिकिक प्रहार गर्थेँ । हुन त टोलीमा अरू पनि राम्रा फ्रिकिक हान्न सक्ने खेलाडी थिए । त्यस किसिमको फ्रेममा प्राप्त फ्रिकिकमा मेरो राम्रो दखल थियो । फ्रिकिक प्रहार गर्न मैले मैदानमा बल मिलाइराखेको थिएँ । त्यतिकैमा कोलकाताका एक खेलाडी मेरो अगाडि उभिए । अर्कोतिर रेफ्रीले मानवीय पर्खाल बनाइरहेका थिए । ती विपक्षी खेलाडीको उद्देश्य नै मेरो ध्यान भंग गर्ने नै थियो । उनले ममाथि मनोवैज्ञानिक रणनीति अपनाए । तर, म विचलित भइनँ । 

तीन दिनपछि होस

सायद उनलाई थाहा भएन कि मेरो प्रहार कति शक्तिशाली थियो भनेर । यति थाहा भएको भए, यस्तो हर्कत गर्दैनथे होला । यसबीचमा मैले धेरैपटक सम्झाएँ । ‘भाइ साहव थोरा पिछे जाओ,’ यस्तै भनेको थिएँ । तर, उनी मान्दै मानेनन् । युवा जोस नै हो, म पनि सनकी थिएँ । मेरो लक्ष्य अब त्यसवेला तिनैलाई लाग्ने गरी फ्रिकिक प्रहार गर्ने भयो । मैले भएभरको बल निकालेर अति नै शक्तिशाली किक प्रहार गरेँ । वास्तवमै त्यो बल यति स्पिडमा गयो कि उनै कोलकाताका खेलाडीलाई नै लाग्यो । ती खेलाडीको निधारमा बल लाग्यो । अहिले पनि झलझली सम्झना आउँछ । मेरो बलकै कारण तीन खेलाडी त्यहीँ झ्याम्मै ढले । सबैजना टाउकोमा बल नराम्रोसँग लाग्यो भनी दौडिन थाले ।  त्यस मैदानमा दुबो थिएन । उनी सीधै खाली भुइँमै लड्न पुगे । 

झन् पछारिँदा ती खेलाडी त्यहीँ बेहोस भए । चिकित्सकले केही समय उपचार गरे । तर, होसमै आएनन् । कता–कता मलाई डर पनि लाग्यो । साँच्चै अब भारतीय खेलाडीमा के होला ? यदि होसै आएन भने के गर्ने ? यस्तै किसिमका सयौँ प्रश्नहरू मेरा मनमा उब्जिरहेका थिए । केही समयपछि घाइते खेलाडीलाई अस्पताल पुर्‍याए । रोकिएको खेल केही छिनपछि सुचारु भयो । हामीले सेमिफाइलन खेल २–० ले जित्यौँ । 

खेलपछि पनि मेरो ध्यान तिनै खेलाडीको स्वास्थ्य अवस्थामै थियो । हामी बसेको होटेलमा एउटा खबर आयो, ‘धीरेन्द्रले फ्रिकिक प्रहार गरेका खेलाडीलाई थप उपचारका लागि कोलकाता लगेको छ ।’ बल्ल अलि सास माथि आएको जस्तो भयो । उनलाई दार्जिलिङबाट तत्कालै कोलकाता लगेको थियो । मलाई पछि मात्र थाहा भयो, ती खेलाडीको होस दुई वा तीन दिनपछि मात्र आएको थियो । वास्तवमा त्यसवेला अहिलेको जस्तो फिफाको कडा कानुन थिएन । यदि त्यो समयमा अहिलेको जस्तो नियम बनेको भए, पक्कै पनि म कारबाहीमा पर्थेँ । सुरुमा त रातो कार्ड खान्थेँ । त्यसपछि थप कारबाही हुन सक्थ्यो । नियम नभएका कारण ममाथि केही कारबाही भएन । तैपनि, घटनाले मनभित्र डर भने रहिरह्यो । 

मोहन बगानलाई हराउँदा भागेर घर आएँ

ब्रिगेड गोल्डकपमा हामी राष्ट्रिय टोली थियौँ । क्वार्टरफाइनल र सेमिफाइनल सहजै जित्यौँ । अब उपाधि भिडन्तमा भारतको निकै चर्चित क्लब मोहन बगान थियो । त्यसवेला मोहन बगान भारतकै मात्र नभएर एसियाकै बलियो टोली थियो । इमानदारपूर्वक भन्नुपर्दा त्यसवेलाका मोहन बगान र इस्ट बगान तथा वेस्ट बगान हाम्रो राष्ट्रिय टोलीभन्दा बलिया थिए । एसियनस्तरका खेलाडीले भरिएको मोहन बगान हाम्रो प्रतिद्वन्द्वी थियो । अब कल्पना गर्नुस्, हाम्रो हालत के भयो होला ? धेरैले फाइनलमा नेपाललाई सहजै हराउँछ भनी घोषणासमेत गरिसकेका थिए । दार्जिलिङको मैदानबारे हामीलाई राम्रोसँग थाहा थियो, त्यहाँ कसरी खेल्ने भनेर ?

मैदानमा जानुअघि जस्तोसुकै बोले पनि खेलाडीले खेलेपछि नतिजा आउँछ । नभन्दै हामीले यस्तो राम्रो खेल्यौँ कि मोहन बगानलाई फाइनलमा सहज रूपमा पराजित गर्‍यौँ । त्यो प्रतियोगितामा मैले उत्कृष्ट खेलाडीको पुरस्कार पाएँ । दार्जिलिङमा एउटा गज्जबको कल्चर छ । फाइनल खेलपछिका विजेतालाई घर–घरमा पाहुनाका रूपमा खुवाउने । फेरि यसपटक नेपाली खेलाडीले नै उपाधि जित्दा दार्जिलिङका नेपाली निकै दंग परेका थिए । दार्जिलिङेले हामी खेलाडीलाई अतिथिजस्तै सत्कार गरी खुवाउने योजना बनाए । हरेक घरमा हामी दुई वा तीनजना खेलाडी हुन्थ्यौँ । यस्तो गर्दा महिनौँमा पनि नसकिने भयो । फेरि के होला भन्ने डर पनि भयो । त्यसैकारण हामी कसैलाई पनि थाहा नदिएर राति नै काठमाडौं भागेर आयौँ । 

दुईजनाको हात फ्याक्चर

मेरो खेल करिअरमा बल प्रहारकै सम्झना भएसम्म थप दुईजना नराम्रोसँगै घाइते भएका थिए । पहिलो त दार्जिलिङको केस नै भयो । सन् १९८७ मा ओलम्पिक छनोटअन्तर्गत फुटबलको पहिलो खेल नेपालमै भएको थियो । नेपालमा बंगलादेशले प्रतिस्पर्धा गर्न आएको थियो । खेलका क्रममा हामीले एउटा कर्नर पायौँ । दशरथ रंगशालाको कुन भागमा भनेर अहिले ठ्याक्कै भन्न सकिन्न । संयोगवश मैले नै कर्नर प्रहार गरेँ । मैले बल सीधै पोस्टतिर हानेँ । बल यति क्रप भएर गएको थियो, बंगलादेशी गोलरक्षकको हातमा लाग्यो । बल सीधै स्विङ हुँदै गोल भयो । पछि मात्र थाहा भयो कि मेरो कर्नरकिक क्लियर गर्न हातले बल छेकेका ती बंगाली गोलरक्षकका हात नै फ्याक्चर भएका रहेछन् । एक कर्नरकिक क्लियर गर्न हातले रोक्दा हात नै फ्याक्चर हुने घटना संसारमै विरलै हुने गर्छ होला । 

यसैगरी, नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा मेरो प्रहारकै कारण साथीकै हात फ्याक्चर भएको थियो । हामी सबै क्लोज क्याम्पका लागि बसेका थियौँ । कुन प्रतियोगिताका लागि बसेको भन्ने याद छैन । प्रशिक्षकले हामी सबै खेलाडीलाई फ्रिकिकमा पोख्त बनाउन पालैपालो प्रहार गर्न लगाएका थिए । मेरो पालो आयो । मैले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक सुरेश बस्नेतले छेकेका थिए । अति नै कडा फ्रिकिक छेक्न उनको हात बारमा लागेको थियो । त्यही पोलमा हात ठोक्किँदा सुरेशको हात फ्याक्चर भएको हो । मेरो फुटबल करिअरमा यस्ता घटना धेरै भएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर