नेभिगेसन मेनु

आर्थिक सङ्कटमा बर्दीबास खानेपानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-05 12:56

Untitled-1 (1)

मङ्सिर १९ गते। तीन दशकदेखि स्थानीयको तिर्खा मेट्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दीबासको आर्थिक सङ्कट चुलिँदै गएको छ । उपभोक्ताले महसुल तिर्न अटेर गर्दा खानेपानीको वित्तीय समस्या उत्पन्न भएको हो । 

खानेपानीका नवनिर्वाचित अध्यक्ष भुलन सेन ठकुरीका अनुसार उपभोक्ताको घरसम्म पानी आपूर्ति गर्न संस्थाले मासिक १२ लाखभन्दा बढी खर्च गर्नु पर्छ । रकम अभावले सफाइ गर्न नसक्दा केही पानी ट्याङ्की उपयोगमा आउन सकेका छैनन् । बक्यौता नउठ्दा विष्ट टोलमुनिका पानी ट्याङ्कीमा विद्युतीकरण गर्न सकिएको छैन । त्यसका लागि प्राधिकरणले ४० लाख रुपियाँको स्टिमेट दिएको छ । उहाँले डिजल पम्पबाट पानी आपूर्ति गर्दा मासिक छ लाख रुपियाँभन्दा बढीको इन्धन खर्च गर्नु परेको बताउनुभयो । 

अध्यक्ष ठकुरी भन्नुहुन्छ, “महसुल नउठे हामीले जनताको तिर्खा कसरी मेट्ने ?” संस्थाको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो चौमासिकसम्म दुई करोड १४ लाख रुपियाँ असुलउपर हुन सकेको छैन । यसमध्ये ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ताको सङ्ख्या ८५ जना पुगिसकेको छ । 

पानी उपभोग गर्ने तर महसुल तिर्न अटेर गर्नेमा सेवा प्रदायक संस्था तथा कार्यालय पनि छन् । यसरी बढी बक्यौता राख्नेमा सात वटा गैरसरकारी संस्था, छ वटा होटल, दुई वटा निजी अस्पताल, दुई वटा सरकारी कार्यालय र दुई वटा विद्यालयसमेत रहेको बर्दीबास खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका व्यवस्थापक विदुर भट्टराईका अनुसार बक्यौता रकम १४६ महिना अर्थात् १२ वर्षभन्दा बढी समयदेखिको हो । 

खानेपानीको विधानमा उपभोक्ताले हरेक महिना महसुल बुझाउनुपर्ने अनिवार्य व्यवस्था छ । समयमा महसुल नतिर्ने उपभोक्ताको धारा काट्नेसम्मको कार्यसमितिलाई अधिकार छ । यसको बाबजुद पनि अटेरी उपभोक्तालाई १२ वर्षदेखि कसरी पानी उपभोग गर्न दिइयो ? आमउपभोक्ताले छानबिनको माग उठाउँदै आएका छन् । 

“कतिपय उपभोक्ताले त आव २०६७/६८ देखि नै महसुल तिरेको देखिँदैन,” भट्टराईले भन्नुभयो । समयमा महसुल नतिर्नु आर्थिक अपराधसमेत हो । तिनका धारा पनि नकाटिनु यहाँ अचम्मको विषय बनेको छ । यसबिच खानेपानी संस्थामा तीन वटा कार्यसमिति निर्वाचित भएर आए । त्यसमध्ये अघिल्ला कार्यसमितिले बक्यौता असुल नगर्दा संस्थाले आर्थिक भार झेल्नु परेको खानेपानीका कोषाध्यक्ष शङ्कर फुयाँलको भनाइ छ ।

उहाँले वर्तमान कार्यसमिति निर्वाचित भएर आएदेखि संस्थामा व्याप्त बेथिति निराकरण गर्दै बाँकी बक्यौता असुल गर्न प्रव्रिmया सुरु गरिएको बताउनुभयो । नयाँ कार्यसमितिले १५ दिने र सात दिने सूचना जारी गरी वैशाखदेखि बक्यौता रकम बुझाउन ताकिता गरिसकेको छ । यसको पनि सुनुवाइ नभएपछि त्यस्ता उपभोक्ताको धारा नै काट्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

खानेपानीको वडा नं १, २, ३ र १४ मा गरी पाँच हजार पाँच सय उपभोक्ता छन् । यी उपभोक्ताले पानी उपभोग गरेबापत न्यूनतम महसुल मासिक ८० रुपियाँ मात्र छ । खानेपानीको हकमा यो मुलुकमै सबैभन्दा न्यून महसुल भएको समितिको दाबी छ । संस्थाले ८० रुपियाँबापत उपभोक्तालाई महिनाको १० हजार लिटर पानी उपलब्ध गराउँछ । बढी उपभोग गरे थप तिर्नु पर्छ । नयाँ कार्यसमितिले गएको दसैँदेखि छठसम्म एक महिनाका लागि पानीको सबै महसुल छुट गरेर उपभोक्तालाई पहिलो पटक बोनसको लाभसमेत दिएको छ । अध्यक्ष ठाकुर प्रतिमहिना पानीको न्यूनतम सिलिङ १० हजारबाट बढाएर १५ हजार लिटर गर्न र यसका लागि उपभोक्ताले पानीको सदुपयोग र नियमित महसुल बुझाउन आग्रह गर्नुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर