नेभिगेसन मेनु

गुन्द्री बनाएर जीविकोपार्जन
सम्पादक:南亚网络电视
समय:2023-09-02 16:40

0

इनरुवा, भदौ १६ गते। कोशी गाउँपालिका–३, सरदार बस्तीका कमली सरदारले कोशीटप्पु सिमसारको पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । आधुनिक बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत पटेर र परालको गुन्द्री बुन्ने चलन हराउँदै गएकामा त्यसलाई संरक्षणसँगै पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । 

घरनजिकैको कोशीटप्पु वन्यजन्तु आरक्ष र कोशीटप्पु सिमसारमा प्रशस्त मात्रामा पाइने काँचो पटेर सङ्कलन गरेर जम्मा गरी वर्षभरि नै सोही पटेरबाट गुन्द्री बनाएर स्थानीय बजारमा बिक्री गरी जीविकोपार्जन गर्दै आएको सरदारले बताउनुभयो । नजिकको हाटबजार लौकही, मधुवन र इनरुवासहित गाउँघरमा केहीले मात्र गुन्द्री किन्ने भएकाले अहिले थोरै मात्रैले गुन्द्री बुन्दै आएको उहाँले सुनाउनुभयो । 

अहिले बजारमा प्रतिगुन्द्री दुई सय रुपियाँदेखि हजार रुपियाँमा बिव्रmी हुन्छ । लगानी अनुसारको प्रतिफल मूल्य नपाए पनि पटेरबाट गुन्द्री बनाएर स्थनाीय बजारमा बिक्री गर्दै यहाँका सरदार परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।  सरदारले भन्नुभयो, “कोशी क्षेत्रमा पहिले पहिले जस्तो सघन रूपमा घरैपिच्छे गुन्द्री बनाउने चलन हराएको छ तर यस्तो अवस्थामा पनि कोशी गाउँपालिका–३ का सरदार र उराँव परिवारले भने परम्परालाई धानेका छौँ । हामीले हरेक वर्ष एक सयदेखि १५० वटासम्म गुन्द्री बुन्दै आएका छौँ ।” 

उहाँका अनुसार जुटको डोरी र पटेरको प्रयोग गरेर गुन्द्री बुन्दै आएका परिवारहरूले पुख्र्यौली पेसा धान्दै केहीले जीविकोपार्जन गर्दै आएका छन् । चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने र बिस्कुन सुकाउन पनि सहज हुने हुँदा हरेक वर्ष आफूले पुरानो परम्परा धानेको उहाँको भनाइ छ । “गुन्द्रीले धेरै न्यानो बनाउँछ । खाटमा होस् वा पलङमा, यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौँ,” उहाँले भन्नुभयो, “अहिले पनि यो नओछ्याइ निद्रै लाग्दैन । पाहुनालाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री नै हो ।”

मधेसी समुदायका यादव, मेहता, साह, गुप्तालगायतमा विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गाउँघरमा गुन्द्री अति उपयोगी मानिन्छ । पटेरबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने भएकाले बजारमा धेरै नभए पनि आफूहरूको रोजीरोटी चल्ने बजार रहेको अर्का स्थानीय बुद्धिकुमार सरदारले बताउनुभयो । 

कसरी बुन्ने गरिन्छ गुन्द्री ?

घरआँगन वा समथर बारी, दैलो आँगनमा तलमाथि चार वटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुई वटा काठ तेस्र्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ । सर्लक्क परेका लामो पटेरको त्यान्द्रा हाली हतासोले ठोकिन्छ, अनि दायाँबायाँ हातैले बिट मारिन्छ । बिट मार्नका लागि पनि कला चाहिन्छ । यसरी नै गुन्द्री बुनिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर