नेभिगेसन मेनु

नेपाल र युएई क्रिकेटबीच पाँच वर्षको सम्झौता
सम्पादक:南亚网络电视
समय:2023-07-20 14:22

nepal--uae2023-07-20-06-25-14

नेपाल क्रिकेट संघ (क्यान) र संयुक्त अरब इमिरेट्स (युएई) क्रिकेटबीच पाँच वर्षको सम्झौता भएको छ । क्यान र युएई क्रिकेटबीच आगामी पाँच वर्षसम्म ‘होम एन्ड अवे’ शृंखलाका लागि दुईपक्षीय सम्झौता भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । चन्दका अनुसार दुवै राष्ट्रका पुरुष र महिला टोलीले एक–अर्काको मैदानमा शृंखला खेल्नेछन् । ‘आगामी पाँच वर्षसम्म पुरुष र महिला टोलीबीच दुवै राष्ट्रमा शृंखला आयोजना गराउन दुईपक्षीय सम्झौता भएको छ,’ उनले भने । 

दुई क्रिकेट संघबीच दक्षिण अफ्रिकामा सम्झौता भएको हो । १० देखि १४ जुलाईसम्म दक्षिण अफ्रिकाको डर्वानमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को बैठकका दौरान नेपाल र युएई क्रिकेटबीच सम्झौता भएको चन्दले बताए । सम्झौताका क्रममा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकको पनि उपस्थिति थियो । युएईका सचिव र अप्रेसन हेडहरूको उपस्थिति रहेको उनले बताए । 

सम्झौताअनुसार हरेक वर्ष क्रिकेट टोलीले एक–अर्काको देश भ्रमण गर्नेछ । आवश्यकताअनुसार युवा टोलीसमेत शृंखला वा प्रतियोगितामा समावेश गराउन सकिने चन्दले बताए । साथै, एकभन्दा बढी शृंखला हुन सक्ने उनको भनाइ छ । यस सम्झौताले नेपाली क्रिकेटको विकासमा धेरै सहयोग हुने अध्यक्ष चन्दको बुझाइ रहेको छ । ‘अहिले नेपाली क्रिकेट निकै लयमा छ, यो सम्झौतापछि हुने क्रिकेट शृंखलाले खेलाडीको प्रदर्शन राम्रो हुनेछ,’ उनले भने । 

टेस्ट राष्ट्रसँगको सम्झौता अन्तिम चरणमा

आइसिसीको बैठकमा टेस्ट खेल्ने राष्ट्रसँग शृंखला गर्न मौखिक सम्झौता भएको चन्दले बताएका छन् । जिम्बावे, वेस्ट इन्डिज तथा एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका पदाधिकारीसँग मौखिक सम्झौता भएको उनले जनाए । ती राष्ट्रसँग छिटै लिखित सम्झौता हुने विश्वास उनले गरेका छन् । ‘

अफ्रिका भ्रमणमा रहँदा केही टेस्ट राष्ट्रसँग शृंखला आयोजना गर्न मौखिक सम्झौता भएको थियो, उनीहरू निकै सकारात्मक देखिए, तर लिखित हुन सकेको छैन,’ चन्दले भने, ‘हामी बिस्तारै सबै प्रक्रिया पूरा गरौँ, सम्भवतः केही दिनमै नेपाली क्रिकेटका लागि सुखद समाचार आउँछ ।’ शृंखला आयोजना गर्न आइसिसी र विभिन्न निकायबाट आर्थिक सहयोग हुनेछ । यसैगरी। विश्वकप छनोट, सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न आइसिसीले नेपाललाई सहयोग गर्ने भएको छ । चन्दका अनुसार आइसिसीको नेपालप्रतिको हेराइ राम्रो छ । अहिले आइसिसी नेपाललाई आर्थिक रूपमा अनुदान दिन तयार देखिन्छ ।

सदस्य लामाको ध्यानाकर्षण 

क्यानका बोर्ड सदस्य छुम्बी लामाले जिल्ला निर्वाचन विधानविपरीत भएको जनाउँदै ध्यानाकर्षण गराएका छन् । क्यानले ४५ जिल्लाको निर्वाचन साउन मसान्तसम्म गर्ने योजना बनाएको छ । क्यान प्रदेशको २० भदौसम्म र केन्द्रको निर्वाचन असोज पहिलो साता गर्ने तयारीमा छ । तर, जिल्ला निर्वाचनका क्रममा क्यानले कुन खेलकुद ऐन मान्ने प्रस्ट निर्णय गरेको छैन । जिल्लाका पदाधिकारी आफूखुसी निर्वाचन प्रक्रियामा गएको लामाले आरोप लगाएका छन् ।

‘संघको विधानभन्दा बाहिर गएर केही गर्न पाइँदैन, तसर्थ यथाशीघ्र विधानअनुसार क्यानले सबै जिल्ला क्रिकेट संघलाई विधानअनुसार प्रस्ट निर्देशन दिई पुनः नयाँ सूचनाका लागि गम्भीर ध्यानाकर्षण गराएको छु,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रतिनिधि सदस्य लामाले भनेका छन् । नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार क्यानको ०५५ को चौथो संशोधन विधान २०८० हो । तर, राखेपले यो विधानलाई प्रमाणीकरण गरेको छैन । ‘चौथो संशोधन २०८० राखेपले प्रमाणीकरण गरिसकेपछि सोहीअनुसार जिल्लाले सूचना जारी गरी निर्वाचन हुनुपर्छ,’ लामाले भने । 

युएईविरुद्ध कुशलको अलराउन्ड प्रदर्शन

कुशल भुर्तेलले बलिङ र ब्याटिङमा अलराउन्ड प्रदर्शन गरेपछि नेपालले एसिसी पुरुष इमर्जिङ कपको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा युएईको ‘ए’लाई तीन विकेटले पराजित गरेको छ । श्रीलंकाको पी सरा ओभलमा नेपालले जितसँगै दुई अंक जोड्यो । यस समूहमा युएई तीनवटै खेलमा पराजित भयो । समूहमा नेपाल पाकिस्तानसँग चार विकेट र भारतसँग नौ विकेटले पराजित भएको थियो । 

कुशलले बलिङका क्रममा ४० रन खर्चंदै सर्वाधिक ६ विकेट लिएका थिए । उनको घातक बलिङ सामना गर्न नसक्दा पहिलो ब्याटिङ गरेको युएई ४४ ओभरमा एक सय ५७ रनमा अलआउट भयो । सहज लक्ष्य पछ्याएको नेपालका लागि कुशलले नै उत्कृष्ट ब्याटिङ गरे । उनले केवल ४३ बलमा नौ चौका र चार छक्का प्रहार गरी ७१ रनको योगदान दिए । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच भए । नेपालले २३ ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन जोडेको थियो । नेपालले लक्ष्य पछ्याउँदा प्रतिओभर ६.९१ रनरेटमा ब्याटिङ गर्‍यो । 

युएईका मोहम्मद फराजुद्दिनले पाँच विकेट लिँदा ६ ओभरमा ३६ रन खर्चेका थिए । उनले आफ्नो स्पेलमा एक मेडन पनि गरे । नेपाली क्रिकेट इतिहासमा एकै खेलमा पाँचभन्दा धेरै विकेट लिने र सोही खेलमा अर्धशतकीय इनिङ्स खेल्ने कुशल पहिलो खेलाडी बनेका छन् । लिस्ट एमा पाँचभन्दा बढी विकेट लिने पाँचौँ नेपाली खेलाडी हुन् । नेपालका लागि लिस्ट एमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशीले पाँच विकेटको प्रदर्शन गरेका थिए । 

युएईको ब्याटिङमा लभप्रित सिंहले ८२ बलमा ५२ रनको योगदान दिए । उनले ६ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि मौसम ढकालले दुई विकेट हात पारे । पवन सर्राफ र कुशल मल्लले समान एक विकेट लिएका थिए । नेपालको ब्याटिङमा अर्जुन साउदले ओपनिङ अवसर पाए । तर, उनी इनिङ्सको दोस्रो बलमै एलबिडब्लू भए । 

नेपालको पहिलो खेल पाकिस्तानसँग

एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । आयोजक एसियन क्रिकेट काउन्सिल (एसिसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तानबीचको खेल ३० अगस्टमा मुल्तानमा हुनेछ । प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपाल एसिसी प्रिमियर कपको विजेता हुँदै पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको हो । 

नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरेपछि श्रीलंका जानेछ । श्रीलंकाको केन्डीमा नेपालले ४ सेप्टेम्बरमा भारतसँग खेल्नेछ । भारतले पाकिस्तानी भूमिमा प्रतियोगिता नखेल्ने भएपछि हाइब्रिड मोडेलमा एसिया कप हुन लागेको हो । एसिया कप ३० अगस्टदेखि १७ सेप्टेम्बरसम्म आयोजना हुनेछ । 

प्रतियोगितामा एसियाका पाँच टेस्ट र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एसिया कपमा कुल १३ खेल हुनेछन् । पाकिस्तानमा चार र बाँकी ९ खेल श्रीलंकामा हुने एसिसीले जनाएको छ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’मा छन् । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । समूह विजेता र उपविजेता सुपर फोरमा पुग्नेछन् । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर