हिले, असार २९ गते । धनकुटामा अधिकांश माछा पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।
जिल्लामा सञ्चालित करिब एक दर्जन माछा पसल अधिकांशm खुल्ला स्थानमै सञ्चालन गरेको पाइएको हो । त्यस्तै माछालाई डिफ्रिज वा बरफ सँगै राख्नु पर्ने भए पनि त्यो समेत नगरेको पाइएको छ । त्यस्तै प्रतिबन्धित माछा समेत धनकुटामा बिक्री गरेको पाइएको कार्यालय प्रमुख लोकनाथ ढुङ्गानाले बताउनु भयो । त्यस्तै अधिकांश पसल दर्ता समेत नगरी सञ्चालन गरेको समेत पाइएको उहाँको भनाई छ ।
पहिलो पटक सचेत गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै धनकुटा तथा हिलेमा सञ्चालित वधशाला समेत सरसफाइ नभएको पाइएको छ । मासु काट्ने स्थान तथा मासुबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु प्रबिधि पुष्प दाहालले जानकारी दिनुभयो । अनुगमनकै क्रममा जिल्लामा सञ्चालित भेटेरिनरी पसलमा केहीमा म्याद सकिएको औषधि समेत पाइएको उहाँले बताउनु भयो ।
जिल्लाको धनकुटा बजार, हिले र सिदुवा बजारका दुई दर्जन भन्दा बढी भेटेरिनरी, मासु, माछा पसल र वधशालामा अनुगमन गरिएको हो । अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली सहित जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।