नेभिगेसन मेनु

रगत अभाव माग धान्नै मुस्किल
सम्पादक:南亚网络电视
समय:2023-07-04 12:52

blood

भैरहवा, असार १९ गते । यहाँका अस्पतालमा बिरामीको बढ्दो चापका कारण रगतको माग धान्नै मुस्किल हुन थालेको छ। 

रक्त सञ्चार केन्द्र रुपन्देहीका अनुसार रगतको माग र आपूर्तिमा ठुलो अन्तर छ। अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रुपन्देही र आसपासका जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा रगत अभाव भएको केन्द्रको भनाइ छ।

अहिले रक्त सञ्चार केन्द्र रुपन्देहीले नियमित रक्तदाता समाजको सहयोगमा ताजा रगत दान गर्नेलाई केन्द्रमै बोलाएर बिरामीहरूलाई रगत दिइरहेको छ। रक्त सञ्चार केन्द्रमा दैनिक करिब एक सय युनिट रगतको माग छ। अन्य समयमा रक्त सञ्चार केन्द्रले कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ र चितवनसम्म दैनिक ५० युनिटसम्म रगत पठाउने गरेकोमा हाल ‘ओ’ रक्त समूहबाहेकका सबै रगतको अभाव छ।

केन्द्रका ल्याब प्राविधिक चन्द्रबहादुर झेडीले एउटै व्यक्तिले तीनदेखि पाँच पोका रगत माग्ने गरे पनि दिन नसक्ने अवस्था रहेको बताउनुभयो। रक्त सञ्चार केन्द्रमा अहिले चौबिसै घण्टा रगत माग्ने बिरामीका आफन्तको भिड लाग्छ। समयमै रगत नपाउँदा कतिपय बिरामीको उपचार सेवा प्रभावित हुने गरेको छ। केही बिरामीका आफन्त रक्तदाता खोज्दै भौँतारिरहेका भेटिने गरेका छन् भने कोही आफैँ रक्तदान गरेर आफन्तलाई रगत जुटाइरहेका भेटिन्छन्।

छोराका लागि रगत लिन रक्त सञ्चार केन्द्रमा पुग्नुभएका भैरहवाका दिनेश थापाले आफूसहित साथीले रक्तदान गरेपछि बल्ल आफूले बिरामीका लागि रगत पाएको बताउनुभयो। आफूले रक्तदान गरे मात्रै रगत पाइने भएपछि रक्तदान गरेको उहाँले बताउनुभयो।

रुपन्देहीका अस्पतालमा शल्यक्रिया, सुत्केरी र मिर्गौलाको डायलासिस सेवा बढिरहे पनि अस्पतालले रगत व्यवस्थापनमा ध्यान दिएका छैनन्। रक्तदान महादान भन्ने अभियानका साथ केही युवा नियमित रक्तदान गर्ने, सङ्घ संस्थामार्फत रक्तदान गराउने र आफूहरूले चौबीसै घण्टा आकस्मिक रक्तदान गरे पनि अभाव पूरा गर्न सकेका छैनन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले रगतको माग बढ्ने तर पछिल्लो समयमा रक्तदाता पनि घट्दै गएकाले रगत अभाव बढेको बताउनुभयो। रगत अभाव पूर्ति गर्न व्यक्तिको जन्मदिन र सङ्घ संस्थाको स्थापना दिवसमा रक्तदान गर्ने कामलाई तीव्रता दिएको उहाँले बताउनुभयो। रक्त सञ्चार केन्द्रमा सामूहिक रक्तदान गर्ने स्थानको समेत अभाव छ। त्यसलाई बढाउन सके रक्तदाता र रक्तदान बढ्ने र अभाव पूर्ति हुने उहाँले बताउनुभयो।

स्वास्थ्यका दृष्टिले १८ वर्षमाथिको स्वस्थ पुरुषले प्रत्येक तीन महिनामा एक पटक र महिलाले प्रत्येक चार महिनामा एक पटक रक्तदान गर्न सक्छन् तर जनचेतना अभावमा धेरैले रक्तदानले शरीर कमजोर बनाउने भ्रम पाल्ने गरेका छन्। यस्तो भ्रम हटाउन जनचेतनामूलक कार्यक्रम बढाउन र रगत सङ्कलन एवं व्यवस्थापनमा सुधार गरी एकीकृत योजना बनाउनुपर्ने देखिएको रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर