काठमाडौँ — मोरङको सुन्दरहरैंचा नगरपालिका तीन वर्षअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले मुलुकभरका गाईभैंसीमा फैलिएको छ । सुरुका दुई वर्ष सरकारी नियन्त्रणमा रहेको यो रोगले महामारीको रूप लिएको हो । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ ।
विभागका सूचना अधिकारी चन्द्र ढकालले यो प्रारम्भिक तथ्यांक मात्रै रहेको बताए । ‘मुलुकभरको अवस्था भयावह छ । संक्रमित र मरेका गाईभैंसीको संख्या अझै धेरै हुन सक्छ,’ उनले भने । विभागले गाउँपालिकासँग छलफल गरेको आधारमा संक्रमित गाईभैंसीको संख्या निकालेको हो । सूचना अधिकारी ढकालका अनुसार २०७७/७८ मा मोरङ, चितवनसहित ८ जिल्लाका ११ गाउँपालिकामा लम्पी स्किन देखिएको थियो । १ हजार ४ सय ५८ गाईभैंसी संक्रमित थिए, तीमध्ये १३ वटा मरेका थिए ।
२०७८/७९ मा ९ जिल्लाका १९ गाउँपालिकामा पुनः देखियो । १ हजार ८ सय ३८ गाईभैंसी संक्रमित भए । ‘२०७८/७९ मा गाईभैंसी मरेनन् तर अहिले महामारीका रूपमा फैलिएकाले भयावह बन्यो,’ ढकालले भने, ‘सबैभन्दा बढी कर्णालीमा १ लाख ४४ हजार ५ सय ५० गाईभैंसीमा रोग देखिएको छ, ४ हजार ७ सय ७५ मरेका छन् ।’ कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयले संक्रमण र मरेको संख्या अझै बढी रहेको जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी मोहन गिरीका अनुसार कर्णालीमा रहेका गाईभंैंसीको संख्यामध्ये करिब ८० प्रतिशतमा रोग देखिएको छ । ‘अवस्था भयावह छ । करिब ५ लाख घरपरिवारले २० लाख पशुपालन गरेका छन्, तीमध्ये ८० प्रतिशत प्रभावित छन्,’ गिरीले भने, ‘पशु पाल्ने हरेक घरमा लम्पी रोग देखिएको छ ।’ कर्णालीमा सबैभन्दा बढी प्रभावित जिल्ला सुर्खेत, सल्यान, रुकुम पश्चिम, हुम्ला, जाजरकोट छन् । ‘स्थानीय तहमा बढी समस्या देखिएको छ । खोप खरिद भई जोत्ने र दुधालु गाईभैंसीलाई दिइएको छ,’ उनले भने । जानकारका अनुसार रोग लागेकालाई खोप दिँदा थप जटिलता आउने भएकाले निरोगी गाईभंैंसीलाई खोप दिइएको छ ।
गण्डकीमा ९ हजार ९ सय ४ गाईभैंसी संक्रमित र ३ सय ३० वटा मरेका छन् । गण्डकी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी राजेशकुमार चौधरीका अनुसार मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा रोग देखिएको छ । ‘रोग र किर्नाको सिजन भएकाले रोग धेरै फैलिएको छ,’ उनले भने, ‘केही पालिकाले भ्याक्सिन खरिद गरेर गाईभैंसीलाई लगाउन सुरु गरेका छन् ।’
मुलुकभर फैलिएको लम्पीले दूध उत्पादन घट्ने जानकारहरू बताउँछन् । उनीहरूका अनुसार रोग लाग्नेबित्तिकै उत्पादनमा ५० प्रतिशतभन्दा बढी गिरावट आउँछ । लम्पी रोगले गाईभैंसीमा बाँझोपनसमेत ल्याउन सक्छ । विभागका अनुसार लुम्बिनीमा २५ हजारभन्दा बढीमा संक्रमण छ भने १ सय १० वटा गाईभैंसी मरेका छन् । लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी रिमबहादुर थापाका अनुसार प्रायः सबै किसानका गाईभैंसीमाको गोठमा रोग देखिएको छ । ‘विगतमा छिटफुट देखिएको रोग पछिल्लो समय व्यापक छ । लुम्बिनीको हकमा रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, गुल्मीमा बढी देखिएको छ,’ उनले भने, ‘गाउँगाउँबाट सबै तथ्यांक आए संक्रमित र मरेको संख्या अझै बढ्न सक्छ ।’
वाग्मती प्रदेशमा पनि रोग तीव्र रूपमा फैलिएको छ । विभागका अनुसार १८ हजार ७ सय ४६ गाईभंैंसीमा रोग देखिएको छ भने ३ सय वटा मरेका छन् । मधेश प्रदेशको अवस्था पनि उस्तै छ । मधेशमा १२ सय ५३ गाईभैंसीमा संक्रमण देखिएको छ, ३५ पशु मरेको विभागले जनाएको छ । मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी
मन्त्रालयका सूचना अधिकारी रन्जितकुमार अधिकारीका अनुसार मधेशका ८ जिल्लामै लम्पी देखिएको छ भने राजमार्गका गाउँहरूमा बढी संक्रमण छ । ‘सर्लाही, महोत्तरी, सप्तरीमा बढी संक्रमण देखिएको छ,’ पशु चिकित्सकसमेत रहेका अधिकारीले भने, ‘थप पहिचान गर्न गाउँपालिकाहरूमा पत्र पठाएका छौं ।’
लम्पी भाइरल रोग भएकाले यसको उपचार नै नभएको उनले बताए । ‘ज्वरोका लागि पारासिटामोल वा मेलोक्सिकेम, घाउ पाकेको अवस्थामा एन्टिबायोटिक्सको सुई लगाउने गरिएको छ,’ उनले भने, ‘लम्पी गाईभैंसीको सरुवा रोग हो, तर मान्छेमा सर्दैन । रोग नलागेको क्षेत्रमा भ्याक्सिन लगाउन सकिन्छ ।’ कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी विनोदकुमार साहका अनुसार कोशीमा ८५ हजार ७ सय ८४ संक्रमित र ११ सय ३२ गाईभैंसी मरेका छन् । ‘रोग फैलिने क्रम तीव्र छ, भ्याक्सिन पनि उपलब्ध भएकाले रोग नलागेकालाई लगाउन सुरु गरेका छौं,’ सूचना अधिकारी साहले भने, ‘लम्पीले मधेशभन्दा मध्य पहाडी भेगमा बढी असर गरेको छ ।’
सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले पहाडी सबै जिल्लामा लम्पी देखिएको बताए । ‘तीमध्ये डोटी, अछाम, बझाङ बढी प्रभावित छन्,’ उनले भने, ‘भारतको सीमा जोडिएका क्षेत्रमा बढी प्रभाव देखियो ।’ पशु सेवा विभागका अनुसार सुदूरपश्चिममा ६८ हजार ४ सय ६१ गाईभैंसी प्रभावित छन् भने २ हजार ७ सय ४७ मरेका छन् ।
के हो लम्पी स्किन ?
पशु सेवा विभागका अनुसार यो झिंगा (डाँस), भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने संक्रामक रोग हो । गर्मीयाममा बढी संक्रमण हुने यो रोग लागेका गाई, भैंसीको छालामा साह्रो गिर्खा देखिन्छ र उच्च ज्वरो आउँछ । रोग लागेसँगै गाईभैंसीको दूध उत्पादन ह्वात्तै घट्छ । रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्न विभागको सुझाव छ ।
ज्वरो आएका पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ । रोग लागेपछि ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्नुपर्छ । घाउको चिलाइ न्यूनीकरणका लागि औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम लगाउने गर्नुपर्छ ।
रोगका कारण शिथिल पशुलाई आवश्यकताअनुसार स्लाइन दिनुपर्छ । शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुलाई आइभरमेक्टिन र घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक्सको सुई लगाउनुपर्छ ।