करिडोर क्षेत्रका सडक व्यवस्थित भएसँगै उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम निकै घटेको छ । यस्ता सडकले यात्रुलाई पनि निकै राहत मिलेको छ । तर, करिडोरको परिकल्पना नै नगरी निर्माण गरिएका पुलमुनि सडक विस्तार गर्दा जोखिम बढेको छ ।
अधिकांश पुलमुनिका सडक निर्माणमा इन्जिनियरिङ त्रुटि छ । पुल निर्माण गर्दा त्यसमुनि करिडोर सडक पनि बन्न सक्छ भन्ने हेक्का नराख्दा ती सडक धराप थापेजस्ता भएका छन् । करिडोरको अन्य खण्डमा फराकिलो भए पनि पुलमुनिको उचाइ निकै कम हुँदा ठूला सवारीसाधन अड्किने गरेका छन् । करिडोर खण्डमा पहिलोपटक सवारीसाधन चलाउने चालकले कुन ठाउँमा फसिने हो, थाहा नै पाउँदैनन् । यो समस्या विषेश गरी विष्णुमती, बागमती र धोबीखोला करिडोरमा बढी छ ।
उपत्यकाका सबै खोला क्षेत्रका करिडोर खुलिसकेका छन् । तर, पुलमुनिको सडक साँघुरो र होचो हुँदा ठूला सवारीसाधन पास हुन सक्दैनन् । डिजाइन नै त्रुटि भएकाले पुलमुनिको सडक निकै साँघुरो र होचो भएको पूर्वाधारविद् सूर्यराज आचार्यले जानकारी दिए ।
सडक विभागले खोलामाथि पुल बनाउँदादेखि नै करिडोर सडकबारे योजना नबनाउँदा यस्तो त्रुटि भएको उनले बताए । ‘करिडोर सडक सबैजसो खुलिसकेका छन्, तर पुलमुनिका खण्ड निकै साँघुरा र होचा छन्,’ उनले भने, ‘त्यहाँ ठूला सवारीसाधन छिर्न सक्दैनन्, अर्कोतर्फ पुलमुनिको सडक डिजाइन पनि गलत छ । लाजमर्दो डिजाइन गरिएको छ । यसले नेपालका इन्जिनियर र इन्जिनियरिङमाथि नै प्रश्न उठाएको छ ।’ पुलमुनिका सडक सुरुमा ओरालो र बीचमा गहिरो भएकाले दुर्घटनाको जोखिम रहेको उनले बताए । धेरैजसो ठाउँमा उबडखाबड, बत्तीसमेत जडान नगरिएको उनको भनाइ छ ।
यी पुलमुनि बढी जोखिम
बागमती करिडोरको तिनकुने पुल, सिनामंगल, र गौशाला पुलमुनि ठूला सवारीसाधन छिर्न सक्दैनन् । यहाँको सडक निकै होचो छ । यस्तै, धोबीखोला करिडोरको पुलमुनिको सडकको हालत पनि उस्तै छ । बिजुली बजार पुलमुनि दुवैतिर सडक खोलिए पनि यहाँ पनि ठूला सवारीसाधन छिर्दैनन् । सेतोपुल, कालोपुल, रातोपुलमुनिका सडक पनि होचा छन् । पुलमुनि खोला र सडकको दूरी निकै नजिक छ । जसका कारण खोला उर्लिएका वेला सडक नै डुबान पर्ने जोखिम छ । सडक विभाग पुल महाशाखाका इन्जिनियर विमलकुमार बस्नेतले करिडोर सडकबारे नसोच्दा यस्तो समस्या आएको बताए । उपत्यकाका ठूला पुल सडक विभागले नै निर्माण गरेको छ ।