नेभिगेसन मेनु

इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-04-18 16:28

7

सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरू इतिहासकै गर्भमा तुहिएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुकोटमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको इतिहास छ । विसं १२४६ मा धर्मराज थापा यहाँका राजा भएपछि  मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल पर्वत राज्यका राज भएपछि राजनीतिक रूपमा चर्चामा आएको हो । 

ज्यामरुककोटका  ऐतिहासिक र प्राकृतिक सम्पदाहरू खोज र अनुसन्धानका पारखीलाई पर्खाइमा रहेका स्थानीय बुद्धिजीवी एवम् अर्जुन मावि भकुण्डेचौरका व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की बताउनुहुन्छ । उहाँका अनुसार ज्यामरुककोटका राजा भर्तिवम मल्ल (मदन पुरस्कार प्राप्त महारानी उपन्यासका उपन्यासकार चन्द्रप्रकाश बानियाँले भर्तिवम मल्ललाई ज्यामरुककोटे राजा मान्नुभएको छैन ।) को अवसानपछि ज्यामरुककोटका कैयौँ ऐतिहासिक दस्ताबेजहरू गायब पारिएको छ । भर्तिवम मल्लपछि राजा मलेवम मल्लका माहिला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको र उनी नै ज्यामरुककोटका अन्तिम राजा रहेको मल्ल वंशावलीमा उल्लेख छ ।

ज्यामरुककोटको इतिहास कोठेसाँघुदेखि रानीवास, कुरिलाखर्क, बेनीकोट, बेनी शिवालय, लुङ्दी, निरयघाट, डिम्मरा, कैडालाउनी (गौडालाउनी), सात्लेपानी, सल्लेरी, फूलपाती डाँडो, भकिम्लीको डोले, ठूलोखोला, कन्थराजथान, गौश्वारा, माझकोटलगायत ठाउँहरूसँग जोडिएको छ । यीमध्ये कुरिलाखर्कको महारानी थान र बेनी शिवालयबाहेक अरू ठाउँका बारेमा खोज अनुसन्धान हुन नसकेको खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउनुहुन्छ । “सामरिक रूपले पर्वत राज्यको महत्त्वपूर्ण गढ मानिएको ज्यामरुककोटका ऐतिहासिक सम्पदाहरू नासिनु र भएका सम्पदाहरूको संरक्षणमा समेत तीन तहका  सरकारले चासो नदिनु निकै दुःखको कुरा हो”, अध्यक्ष घिमिरेले भन्नुभयो “सरकारले चासो नदिए पनि हामीले हाम्रा सम्पदाहरूको पहिचान गरी संरक्षण गर्ने प्रयास भने गरेका छौँ ।”

ऐतिहासिक सम्पदाहरूको पहिचान र संरक्षण त परको कुरा, ज्यामरुककोटको नामकरणका बारेमा समेत अझै तथ्य पत्ता लगाउन नसकिएको यहाँका बुद्धिजीवीहरूको भनाइ रहेको छ । कसैले जम्मुरूख हुँदै ज्यामरुक भएको भन्दछन् भने कसैले ज्यामरुङबाट अपभ्रंश भई ज्यामरुक रहन गएको भनेर अर्थ्याउने गर्दछन् । सोमध्वज विष्टद्वारा लिखित ‘नेपाल गढ’ भन्ने पुस्तकमा म्याग्दीमा ‘ङ’ हलन्त लागेका कोटहरूमध्ये दरबाङ, अर्थुङ्गे, मल्कबाङ र ज्यामरुङको नाम उल्लेख गरिएको छ । सोही पुस्तकमा म्याग्दी जिल्लामा भएका कोटहरूको सूचीमा जोङरुक नामकरण गरिएकाले ज्यामरुङ र जोङरुकबाट अपभ्रंश भई ज्यामरुककोट नाम रहन गएको लेखिएको छ । तर, जोङरुक नाम कसरी रहन गयो भन्ने कुरा उक्त पुस्तकमा लेखकले खुलाउनुभएको छैन ।

तत्कालीन ज्यामरुककोट गाविसको कार्यालयद्वारा प्रकाशित ‘ज्यामरुककोट : एक झलक’ नामक पुस्तकमा जम्मुका रूख भएका ठाउँ भएकाले यस ठाउँलाई ज्यामरुक भनिएको उल्लेख छ । तर, अहिले ज्यामरुककोटमा कतै पनि जम्मुका रूख भेटिँदैनन् । सो पुस्तकमा लेखिएअनुसार परापूर्वकालमा पशुपालनका लागि ज्यामरुककोटको भकुण्डे र भिरपानी भन्ने ठाउँमा घाँसका लागि  प्रशस्तै जम्मुका रूखहरू रहेका थिए । जम्मु खान आउने मानिसले यस ठाउँलाई ‘जम्मुका रूख भएको ठाउँ’ भनेर चिन्न थाले । कालान्तरमा यस ठाउँलाई जम्मुरूख हुँदै ज्यामरुक भनेर उच्चारण गर्न थालियो । पछि फापरखेत माथिको डाँडा (अहिलेको कोट डाँडा) मा कोत भवन बनाई राज्य गर्न थालिएपछि ज्यामरुककोट भनिएको उल्लेख गरिएको छ ।

अर्को एक किंवदन्तीका अनुसार यस ठाउँको नाम मगर भाषामा राखिएको देखिन आउँछ । मगर भाषामा ‘ज्या’ को अर्थ ‘खानु वा खाएर’ भन्ने हुन्छ भने ‘मराङ’ को अर्थ ‘खेल्ने वा रमाउन’ भन्ने हुन्छ । हालको भकुण्डे, फापरखेत, केही समथर पनि रहेकाले चरनको क्षेत्र भएकाले अर्जम भेगका मानिसहरू उक्त क्षेत्रमा खेल्ने, रमाउने, गाईबस्तु चराउने गर्दा उक्त ठाउँलाई खाना खाएर आई खेल्ने ठाउँका रूपमा चिन्न थाले । यसलाई मगर भाषामा ‘ज्यामराङ’ भनियो । यही ज्यामराङ नै कालान्तरमा अपभ्रंश भई ज्यामरुङ–जोङरुक हुँदै ज्यामरुक हुन गएको भन्ने भनाइ छ ।

ज्यामरुककोट नामको नामकरण कसले र कहिले ग¥यो भन्ने कुरा नै अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ नामक पुस्तकमा विसं १२४६ मा कालु थापा ताकमका राजा भए । उनीपछि उनका छोराहरू जेठा पुण्कर पुला, माहिला तारापति ताकम र कान्छा धर्मराज ज्यामरुकका राजा भए । उनै धर्मराज नै ज्यामरुकका पहिला राजा थिए भन्ने कुरा मात्र अहिलेसम्म खुल्न आएको घिमिरेले बताउनुभएको छ ।

वि.सं १५४५ मा समाल शाही वंशी डिम्बवम (दिलीप वम) मल्लले ताकम राज्यमाथि विजय प्राप्त गरेपछि राज्य विस्तार गर्ने क्रममा पुला र ढोलठानपछि ज्यामरुककोटलाई जितेपछि ज्यामरुककोट पनि पर्वत राज्यमा गाभिन पुगेको इतिहासमा उल्लेख छ । राजा मलेवल (उनलाई नलैवम पनि भनिन्थ्यो) ले आफ्ना भाइ भर्तिवमलाई ज्यामरुककोटको शासनभार सुम्पेका थिए । पछि मलेवम र भर्तिवमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेवमले भाइ भर्तिवमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिवमले ‘दिया पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन’ भनी अड्डी लिएपछि मलेवमले गुप्त षडयन्त्र गरी भर्तिवमलाई पक्रन पठाए । 

भर्तिवम उनका मित डिल्ली भुजेलसहित भागेर लामगरा (लुङ्दी) मा पुगे । भर्तिवमलाई दाजु मलेवमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उनलाई मारिएपछि उनको शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती पनि रहेको पाइन्छ ।

राजा मलेवम मल्ललाई गोत्र हत्याको पाप लागी दूध र भात खान लाग्दा रगत र किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित गर्न राजा भर्तिवमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेवमले पूजाआजा  गरेको किंवदन्ती छ । साथै मलेवमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित प्रदीप’ भन्ने पुस्तक लेख्न लगाए । त्यसपछि बल्ल राजा मलेवमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ ।

वि.सं १८४३ मा बहादुर शाहले तत्कालीन पर्वत राज्यका राजा कीर्तिवम मल्ललाई जितेपछि ज्यामरुककोट पनि विशाल नेपालमा गाभिन पुग्यो । त्यसपछि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनैतिक एवम् प्रशासनिक कार्य सञ्चालन हुँदै अहिले स्थानीय सरकारको जिम्मामा आएको छ । अहिले ऐतिहासिक ज्यामरुककोटमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् तर इतिहास झल्काउने कुनै पनि संरचना निर्माण हुन भने नसकेको पाइएको छ ।

पाँच सय वर्षको इतिहास रहेको ज्यामरुककोटमा अहिलेसम्म पुरातात्त्विक महत्त्वका कुनै पनि संरचनाहरूको संरक्षण र मौलिकस्वरुप नबिग्रने गरी पुनः निर्माण हुन नसकेका ज्यामरुककोटका ८९ वर्षीय वेदप्रसाद उपाध्याय बताउनुहुन्छ । ज्यामरुककोटको खड्गभवानी कोतमा राजा भर्तिवम मल्लले प्रयोग गरेका नौ थान खुँडा र तरबार, एउटा ढाल (फोडिएको अवस्थामा) बाहेक अरू हातहतियारहरू पनि रहेका छैनन् भने तत्कालीन राजदरबार (अहिलेको कोत) को सुरक्षाका लागि बनाएको पर्खालमा प्रयोग गरिएका इँटा र ढुङ्गाहरू पनि पहिचान हुन नसकेको खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले बताउनुभयो ।

राजा भर्तिवम मल्लका अङ्गरक्षकहरूले हातहतियार उधाउने बञ्चरेढुङ्गा अहिले अस्तित्वविहीन छ । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकामा स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिएको भए पनि त्यो प्रयास पर्याप्त नभएको पाइएको छ । 

त्यसैगरी, राजा र उनका मान्छेहरु सिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा आफ्नो निरीह अस्तित्व प्रदर्शन गरिरहेको भए पनि त्यो चौतारो मर्मत गर्नेतर्फ कसैको ध्यान जान नसकेको स्थानीय बूढापाकाहरुको भनाइ छ । “नासिएर गएका सम्पदाहरुलाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदाहरुको पनि संरक्षण हुन नसक्नु ज्यादै दुःखद कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ”, स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीले भन्नुभयो ।

बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष यामबहादुर कार्कीले अब छिट्टै नै ज्यामरुककोटका ज्येष्ठ नागरिक र बुद्धिजीवीहरुको एक भेला राखेर यहाँका ऐतिहासिक सम्पदाहरु र तीसँग गाँसिएका सम्बन्धहरुको जानकारी लिनाका साथै वृत्तचित्र र प्रोफाइल तयार गर्ने बताउनुभयो । “ज्यामरुककोट ऐतिहासिक ठाउँ हो भन्ने कुरा सबैले मानेकै कुरा हो तर, ज्यामरुककोटका कुनकुन ठाउँमा कस्ता कस्ता ऐतिहासिक घटनाहरु भएका थिए भन्ने कुरा बाहिर आएका छैनन्, अब हामीले ती ऐतिहासिक घटनाका विषयहरुलाई पनि बाहिर ल्याउन आवश्यक छ”, वडाध्यक्ष कार्कीले भन्नुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर