
काठमाडौँ, माघ २९ गते । कुस्ती खेलाडी शिवाङ्गी दुबे र उहाँका एक भाइ र बहिनीले लामो सङ्घर्षपछि बल्ल अङ्गीकृत नागरिकता पाउनुभएको छ । सात वर्षसम्म कागजी प्रक्रियामा अल्झिनुभएकी कुस्ती खेलाडी शिवाङ्गी दुबेले अन्ततः नेपाली अङ्गीकृत नागरिकता पाउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेलधुराले शिवाङ्गीसहित उहाँकी बहिनी सन्ध्या र भाइ सिशाङ्कलाई अङ्गीकृत नागरिकता उपलब्ध गराएको छ । आमाको नामबाट नागरिकता दिने प्रावधान लागु भएपछि एकै परिवारका तीन जना भाइबहिनीलाई अङ्गीकृत नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो । डडेलधुरा जिल्लामै पहिलो पटक आमाको नामबाट अङ्गीकृत नागरिकता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
राधादेवी रोकाले भन्नुभयो, “२०७६ सालमा छोरीलाई १६ वर्ष उमेर पुगेपछि नागरिकता बनाउन प्रयास गरिरहेकी थिएँ । प्रयास गरेको सात वर्षपछि बल्ल छोरीसँगै अर्को छोरी र छोराले नागरिकता पाए । शिवाङ्गी नागरिकता नभएकै कारण छोरीले पढाइसमेत रोक्नुपर्ने अवस्था आयो । तीन जना सन्तानले नागरिकता पाएपछि आमा राधिका निकै खुसी देखिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “अब मेरा छोराछोरीको भविष्य सुरक्षित भयो ।” शिवाङ्गीसहितका तीन सन्तानलाई बुवाको नामबाट नागरिकता पाउन राधिकाले गृह मन्त्रालयमा समेत निवेदन दिए पनि सम्भव भएको थिएन । जन्मसिद्ध हुँदा पनि नागरिकताविहीन भएर खेल जीवनमै अवरोध आइरहेको शिवाङ्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता नहुँदा खेल जीवनमै अवरोध थियो, प्रतियोगिता खेल्न पनि समस्या हुन्थ्यो । अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु ।” नागरिकता नभएकै कारण पढाइसमेत रोकिएको बताउँदै उहाँले अब शिक्षा पनि अघि बढाउने बताउनुभयो । शिवाङ्गीले राष्ट्रिय स्तरका कुस्ती प्रतियोगितामा आठ स्वर्ण पदक जित्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदकसमेत उहाँले दिलाउनुभएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै शिवाङ्गीले फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसँग पराजित हुनुभएको थियो ।
शिवाङ्गीका बुवा राजु दुबे भारतीय नागरिक हुन् भने आमा डडेलधुराको अमरगढी नगरपालिका–५ की राधिकादेवी रोका हुन् । विवाहपछि राजु नेपालमै बसोबास गर्दै आउनुभएको छ । हाल उहाँहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–३, खैरेनीमा बस्दै आउनुभएको छ । दुबे परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहनुभएको छ ।





