
“घोडा झैँ अघि बढ्दै, सँगै पर्वत र सागर पार गर्दै” भन्ने नारासहित सन् २०२६ को चिनियाँ वसन्त पर्व (स्प्रिङ फेस्टिभल) विशेष कार्यक्रम काठमाडौँस्थित नेपाल प्रयोगशाला माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ छानफिङ, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञान संकायका डीन बामदेव अधिकारी,त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका अध्यक्ष बल राम दुवल, नेपाल–चीन वाणिज्य तथा उद्योग संघका अध्यक्ष चिन सियाओताेङ लगायत विभिन्न क्षेत्रका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटद्वारा आयोजना गरिएको थियो भने नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र नेपाल प्रयोगशाला विद्यालयले सहआयोजन गरेका थिए।

मेयर डंगोलले आफ्नो सम्बोधनमा यस प्रकारका सांस्कृतिक कार्यक्रमहरू दुई सभ्यताबीच सेतु बन्ने उल्लेख गर्दै नेपाल–चीनबीच हजारौँ वर्षदेखिको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन भाषा, संस्कृति र परम्पराको संरक्षण आवश्यक रहेको बताए। उनले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरे।

निर्देशक लिउ छानफिङले वसन्त पर्व केवल चाड मात्र नभई सभ्यताबीच आपसी सिकाइको अवसर भएको बताए। भाषा संस्कृतिको वाहक र संस्कृतिले जन–जनलाई जोड्ने पुलको काम गर्ने उल्लेख गर्दै उनले निरन्तर सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल–चीन मैत्री अझ गहिरो हुने विश्वास व्यक्त गरे। साथै, उनले सबैलाई सांस्कृतिक केन्द्र अवलोकनका लागि आमन्त्रणसमेत गरे।

डीन बामदेव अधिकारीले चिनियाँ भाषामै “स्प्रिङ फेस्टिभलको शुभकामना” व्यक्त गर्दै अर्काको भाषामा संवाद गर्दा मात्र हृदयसम्म पुग्न सकिने धारणा राखे। भविष्यमा भाषा सिकाइमार्फत दुई देशका जनताबीच समझदारी अझ बढ्ने उनको विश्वास थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए। ‘ चि मिंग यूए’, ‘स्याउ फिङ्काे ’, ‘यान यु सिङचाैउ’, ‘नयाँ वर्षको शुभकामना’ जस्ता गीत–नृत्यले उत्सवमय वातावरण सिर्जना गरे। ताइची ‘आठ विधि पाँच चाल’ र शाओलिन कुङफु प्रदर्शनले दर्शकबाट भरपूर प्रशंसा पाए।

अन्त्यमा कन्फ्युसियस इन्स्टिच्युटका नेपाली अध्यक्ष बल राम दुवलले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले शिक्षा, संस्कृति र युवापुस्ताबीचको सहकार्यलाई मजबुत बनाउने बताए।
कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। वसन्त पर्वलाई माध्यम बनाएर नेपाल–चीनबीच शिक्षा, संस्कृति र युवा आदान–प्रदानका क्षेत्रमा सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ।





