झापा — दमकको बेलडाँगीस्थित शरणार्थी शिविरमा रहेकी ६२ वर्षीया डम्बरकुमारी अधिकारीले दुइटा मिति भुलेकी छैनन् । १९९२ अप्रिल १२ र २०७४ भदौ १६ । अघिल्लो मितिमा उनले जन्मभूमि भुटानको दागानाबाट लखेटिएर हिँड्नुपरेको थियो । र, दोस्रो– आफ्नो एकमात्र छोरा ओमनाथलाई भुटानको चेम्गाङ जेलमा गएर भेटेको पछिल्लो मिति हो ।
३० वर्षअघि आफूहरूलाई भुटानबाट लखेटिएको र पछि छोराहरूलाई राजबन्दी बनाएर भुटानमै थुनिएको विषय बासी भइसकेको डम्बरकुमारी बताउँछिन् । ‘बरु कुनै अपराधबिनै यसरी थुनेर र आजीवन कारावासमा राखेर हामी कोही आफन्तजनलाई भेट गर्नै नदिइएको पीडा खपिनसक्नुको छ,’ शिविरमा बाँगे चौतारो नजिकै झुप्रोमा बसिरहेकी उनले भनिन्, ‘मैले ०४ सालअघि भदौ १६ गते उसलाई चेम्गाङमा भेटेकी थिएँ । त्यसपछि ऊ मर्यो, बाँच्यो थाहा नहीं ।’
डम्बरकुमारीले ३ महिनाअघि मात्रै छोरा ओमनाथलाई थिम्पूको सरकारी अस्पतालमा उपचारका लागि लगिएको बारे सुनिन् । थिम्पुमा रहेका कोही चिनारुले डम्बरकुमारीको कानमा यो खबर ल्याइदिएका थिए । कोरोनाले थलिएको हो कि अरू केही रोगबिराम थियो ? उनले विराटनगरदेखि काठमाडौंसम्म आईसीआरसी (रेडक्रसको अन्तर्राष्ट्रिय समिति) का कार्यालयहरूमा पुगेर खुटखबर पहिल्याउन चाहिन् । तर केही थाहा हुन सकेन । विगतमा वर्षको १ वा २ पटक जेल भ्रमणमा जान दिने भुटानको नियम कोभिड–१९ महामारी र अरू सुरक्षा कारणले ४ वर्षयता कठोर बनाइएको छ । ‘हामीलाई हाम्रो दिल्ली मुख्यालयले अनुमति पठाएको छैन, भुटानी जेल भ्रमणमा अहिले रोक लगाइएको खबर मात्रै छ,’ आईसीआरसी काठमाडौं कार्यालयका एक अधिकारीले भने ।
३९ वर्षीय ओमनाथ २००८ फेब्रुअरी २६ देखि जेलमा छन् । उनी कहिले जेलबाट छुट्लान् भन्नेबारे डम्बरकुमारीलाई केही थाहा छैन । भुटानी नियम र प्रशासनको कठोर कार्यशैलीका कारण अब आमा–छोराको यही जुनीमा भेट नहोला कि भन्ने चिन्ता उनमा थपिएको छ ।
‘अहिले त भुटानमा आइजाइ गर्नै मुस्किल छ,’ झापाको चारआली बस्ने भुटानी अधिकारकर्मी प्राध्यापक डीएनएस ढकालले भने, ‘भुटान–भारत खुला सीमा भनिए पनि स्थानीय नागरिककै हकमा पनि सीमावर्ती स्टाम्पिङ जरुरी भइसकेको छ ।’ उनका अनुसार भुटान आउन वा जान १० रुपैयाँ तथा रात बस्न १२ सय ५० रुपैयाँ बुझाउनुपर्ने नियम यथावत् छ । ढकालले थपे, ‘रासन कार्ड वा आधार कार्डलाई मान्यता नदिएर मतदाता परिचयपत्र अनिवार्य खोज्न थालिएको छ ।’
छोरो जेलमा, आमाबा विदेश
अमेरिकाको पेन्सिलभेनिया, हेरिसबर्गमा बस्छन् ६५ वर्षीय सुकबहादुर र ५५ वर्षीया आइतीमाया तामाङ दम्पती । २००८ फेब्रुअरी २६ मा जेठो छोरो चतुरमान तामाङ चेम्गाङ जेलमा थुना परेको खबर पाउँदा उनीहरू बेलडाँगी शिविरमै बसिरहेका थिए । ‘एकैपटक सन् २०१४ मा चेम्गाङ जेलमा गएर बाबु सुकबहादुर र बहिनी पासाङ डोल्माले दाइलाई भेटेका थिए,’ चतुरमानका भाइ पासाङ दोर्जेले फोनमा भने, ‘त्यसपछि त अमेरिका आइहाल्यौं । दाजुको खबर थाहा नभएकै ८ वर्ष भयो ।’
बिहे नगरीकनै जेल पुगेका चतुरमान अहिले ३९ वर्षका भए, आईसीआरसीको दर्ता (०००४५४) मा रहेका यी राजबन्दीको सजायलाई ‘आजीवन’ भनिएको छ । तर त्यो कति वर्ष हो भनेर भुटानी प्रशासनको हकमा कसैले भन्न नसक्ने पासाङ दोर्जेले सुनाए ।
भगीरथ गौतम (८६) र रनमाया गौतम (७६) दम्पती क्यानडाको अन्टारियोमा बस्छन् । आफ्नो कान्छो छोरो कुमार भुटानको चेम्गाङ जेलमा परेको खबर उनीहरूले पनि शरणार्थी शिविरमै पाएका थिए । ‘जेल परेपछि एक पटक सन् २०१२ मा भाइ भेट्न आमा, दाजुहरू चेम्गाङ जानुभएको थियो,’ कुमारका दाजु लक्ष्मी गौतमले अन्टारियोबाट फोनमा सुनाए, ‘त्यसपछि तेस्रो देशमा पुनर्बसोबास हुने लहरमा हामी परिवारका ७ जना क्यानडा आइपुग्यौं, भाइ भने भुटानको जेलमै थन्कियो ।’
सिलिगुडी घुम्न गएका कुमारलाई ‘देशद्रोही, आतंककारी र राजनीतिक उपद्रवकारी’ भन्दै एकाएक भुटान लगिएको र आजीवन कारावासमा हालिएको थियो । ‘त्यसले के उपद्रव गर्यो, हामीले कहिल्यै थाहा पाएनौं । कसैले त्यसबारे थाहा पनि दिएन,’ लक्ष्मीले भने । आफ्नो काखको अविवाहित छोरो राजबन्दीका नाममा आजीवन कारावासमा परेपछि बाआमाको रुवाइ थामिएकै थिएन, एकाएक अर्कै दुनियाँमा आइपुगे । ‘बाआमा र परिवारकै आशामा मैले यहाँ आईसीआरसी, एमनेस्टी सबैलाई पत्र लेखेको छु,’ लक्ष्मीले सुनाए, ‘क्यानडाका प्रधानमन्त्री र विदेशमन्त्रीलाई पनि पत्र लेखेर भुटानको गैरन्यायिक र मानवअधिकार हननको विषयमा बोलिदिन आग्रह गरें तर जवाफ आएन ।’
अर्का ६७ वर्षीय बाबु प्रेमबहादुर राई अहिले अस्ट्रेलियाको ताजमानियामा बसोबास गर्छन् । उनका माइला छोरा हस्तबहादुर राई पनि भुटानको चेम्गाङमा जेल परेको १४ वर्ष बितिसकेको छ, त्यही राजबन्दीको आईसीआरसी (००४५६) पहिचानमा । ९० दशकको सुरुवातमै भुटानबाट लखेटिएको राई परिवार पनि दमकको बेलडाँगीमा शरणार्थी शरणमा थियो । घर फर्कने सपना तुहिएर तेस्रो देश जाने स्थिति आएपछि सन् २०१२ मा प्रेमबहादुर छोरी हरिमायासहितलाई लिएर ताजमानिया आइपुगेका थिए । ‘यता आउनुअघि बुबाले भुटानको चेम्गाङसम्म पुगेर दाजुलाई भेट्नुभएको थियो । दाजु जेलबाट छुटिहाल्ने टुंगो नभएकाले हामी सल्लाहमै यता आएका हौं,’ हरिमायाले फोनमा भनिन् ।
हरिमायाका अनुसार बेलडाँगीमा छँदै हस्तबहादुरको बिहे भइसकेको थियो । उनकी श्रीमती अर्कैसँग बिहे गरेर सन्तानसहित क्यानडा पुगेकी छन् । ‘पहिले त आईसीआरसीले दाजुको कारागारको कैदी नम्बर र अरू देखभेटको खबर ल्याउने गर्थ्यो । हामीले नयाँ सूचना–समाचार नपाएको आठ वर्ष भयो,’ हरिमायाले कान्तिपुरसित भनिन् । उनका बाबु प्रेमबहादुरले ‘सास रहिन्जेल आस’ मारेका छैनन् ।
केही वर्षअघिसम्म भुटानी राजबन्दीहरूको अवस्था आईसीआरसी र अरू अन्तर्राष्ट्रिय निकायबाट परिवारजनले जसोतसो थाहा पाउँथे । कोको राजबन्दी जेलमा छन् वा को फेरि ‘गुमनाम’ भए भन्ने प्रामाणिक आधार झन्डै ५ वर्षपछि यसै साता अमेरिकाको न्युयोर्कबाट सार्वजनिक हुने भएको छ । दुनियाँसामु लोकतन्त्र र खुसी–सुखी राष्ट्रको दुहाइ दिँदै आएको भुटानले सन् १९९० यता ‘राजनीतिक गतिविधि’ गरेको अभियोगमा आफ्ना ५० भन्दा बढी नागरिकलाई राजबन्दी हैसियतमा राखेको छ । यस विषयमा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी), एमनेस्टी इन्टरनेसनल जस्ता निकाय जानकार छन् ।
यस पटक एक सय देशको मानवअधिकार, स्वतन्त्रता र न्यायिक पद्धतिको निरूपण गर्ने अमेरिकी अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले समेत राजबन्दीको सूचीसहितको गैरन्यायिक भुटानी पद्धतिलाई यसै साता सार्वजनिक बहसमा ल्याउने भएको छ । यस्तै, ‘सन् ९० को दशकमा आफ्ना एक लाखभन्दा बढी नागरिकलाई जातीय सफाया गरेर देश निकाला गर्नुमा भुटान दोषी छ’ भन्ने संकल्प प्रस्ताव अमेरिकी सिनेटको आगामी साता हुने पहिलो बैठकमा पेस हुने भएको छ । यसले भुटानी गैरन्यायिक पक्ष र मानवअधिकार हननसहितको मुद्दामा बहस गराउनेछ ।
अभियन्ता राम कार्कीले भुटानी राजबन्दीलाई बिनासर्त रिहा गर्नुपर्ने र ससम्मान पारिवारिक मिलन गराइनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन् । उनले नेदरल्यान्ड्सको हेग (अन्तर्राष्ट्रिय फौजदारी अदालत), स्विट्जरल्यान्डको जेनेभा (संयुक्त राष्ट्रसंघीय परिषद्), अमेरिकाको न्युयोर्क (संयुक्त राष्ट्रसंघको मुख्यालय) सहितका मञ्चमा यो सरोकारलाई राख्दै आएका छन् । ‘तर, भुटानले सुनाउने गरेको ह्यापी इन्डेक्स र सन् २००८ पछिको लोकतन्त्रको दुहाइबारेमा मात्रै बाहिरी विश्व भर पर्दै आएको छ,’ कार्कीले भने, ‘यस पटकको जेनेभाको मानवअधिकार भेलामा पनि यो सरोकारलाई पन्छाइएको पाएको छु ।’
शिविरमा कति पर्खने ?
भुटानबाट सन् १९९२ मा लखेटिएर भारत हुँदै नेपाल आएका गंगालाल गुरुङको परिवारमा त्यसबेला बुबाआमा, भाइबहिनीसहित ९ जना थिए । सन् २००८ मा उनको कान्छो भाइ सनमान घुम्न भारतको सिलिगुडी हुँदै भुटान सीमावर्ती जयगाउँ गएछन् । कहाँ गयो, कता गयो, परिवारलाई पत्तो भएन । पछि मात्रै सनमानलाई चेम्गाङ पुर्याइएको खबर गंगालालले पाए । झापाको शिविरबाट भारत घुम्न गएका ओमनाथ अधिकारी, बिर्खबहादुर क्षेत्री, हस्तबहादुर राई, चतुरमान तामाङ, नन्दलाल बस्नेत, गोविन्द निरौला, आइतराज राई, खगेन्द्र खनाल, सुकमान मगर र कुमार गौतमलाई सनमानसँगै पक्राउ गरेर जेल हालिएको थियो ।
छोरा सनमान घर फर्कलान्, परिवारमा जोडिन आइपुग्लान् भन्दै बाआमा र अरू आफन्तले धेरै वर्ष कुरे । पार नलागेपछि आईसीआरसीको सहयोगमा भुटानको चेम्गाङ पुगेर परिवारले छोरो भेट्यो । त्यो भेटपछि पुनर्बसोबासको प्रक्रियामा जोडिएर सनमानका बाआमा अस्ट्रेलिया पुगेका थिए । गंगालाल भने भाइ आउने आसमा बेलडाँगीको शिविरमा पर्खेर बसिरहेकै थिए । सन् २०१६ मा भेट हँॅदा सनमानले दाइलाई पर्खेर सँगै विदेश जाऔं भनेका रहेछन् । फेरि भाइले ‘मलाई कुरेर मात्रै भएन भने जानू नि त’ भनेर अन्तिममा वचन दिएपछि गंगालाल पनि केही महिनाअघि मात्रै अस्ट्रेलिया लागेका रहेछन् ।
भुटानको प्रवेशद्वार‚ फुन्चोलिङ ।
बेलडाँगी–२ कै २७२ छाप्रोमा बस्ने ७० वर्षीय नरपति खनाल र ६६ वर्षीया देउमाया दम्पतीको कथाव्यथा पनि उस्तै अत्यासलाग्दो छ । उनीहरूको माइलो छोरो खगेन्द्र भक्तबहादुर, सनमानसँगै २००८ मा भुटान गएका बेला पक्राउ परेर चेम्गाङमा राखिएका छन् । ‘चेम्गाङको ब्लक–४ मा दाइ बस्छन्, बुबा पनि छोरो भेट्न एक पटक जानुभो, म ४ पटक गइसकें,’ खगेन्द्रकी बहिनी उमादेवी खनालले केही समयअघि भनेकी थिइन्, ‘दाजुले मिलेसम्म तिमीहरू तेस्रो देश जानू, मेरो कागजपत्र शिविरमै राखिदिनू भन्नुहुन्छ । तर बाआमाले छोरो फर्केर नआई कतै नजाने भन्नुहुन्छ ।’
छोरा कुरेर शिविरमा बसेका खनाल दम्पती अब भने क्यानडा आप्रवासनमा जाने भएका छन् । उनीहरू बेलडाँगीको शिविरबाट मंगलबार बिदा भएर छोरी उमादेवीसँगै काठमाडौं लागेका छन् । खनाल दम्पतीको एक छोरो अस्ट्रेलिया र अर्को क्यानडा बसोबासमा पुगेको भने पहिल्यै हो । खगेन्द्र (आईसीआरसी नम्बर ०००४६४) भुटानी जेलमै छन् ।
थुनामा रहेकामध्ये ओमनाथ अधिकारी (आईसीआरसी ०००४५५), भक्तबहादुर राई (आईसीआरसी ०००२२५), गंगाराम ढकाल (आईसीआरसी ०००१८८) लगायतकाको केही परिवार बेलडाँगीको शरणार्थी शिविरमा आफन्त फर्केर आउने आसमा बसिरहेकै छन् । दमकको यही शिविरबाट बेपत्ता बनाइएकामध्ये लोकनाथ आचार्य, कुलबहादुर बस्नेत, बमबहादुर तिवारी, चेङगुम डुक्पालाई भुटानको कुन जेलमा कसरी राखिएको छ भन्ने आईसीआरसीले पनि जानकारी दिन सकेको छैन । यी बेपत्ता नागरिकका परिवार विदेश पुगिसकेका छन् ।
यसअघि राजबन्दीको हैसियतमा भुटानी कारागारमा रहेकाको सूचीका लागि आईसीआरसीमा निवेदन दिँदा काठमाडौं कार्यालय हुँदै दिल्लीबाट समेत पाउन मुस्किल पर्थ्यो । एक दशकयता आईसीआरसीलाई पनि भुटानी कारागार अध्ययन भ्रमणमा जान अनुमति दिएको छैन । यस्तो अवस्थामा थुनामा रहेका आफन्त मरे कि बाँचे भनेर सोधखोज गर्ने निकाय पनि देखिँदैन । गत जेठ अन्तिममा भुटानको सरकारी मुखपत्र कुइन्सेलमा राजनीतिक बन्दीका रूपमा चेम्गाङ कारागारमा २२ वर्षयता थुनामा रहेका नेपालीभाषी डम्बरसिंह पुलामीमा जटिल स्वास्थ्य समस्या देखिएपछि थिम्पुस्थित सघन उपचार कक्षमा भर्ना गरिएको समाचार छापियो । त्यो सूचना थाहा पाएर भुटानी राजबन्दीको रिहासम्बन्धी ग्लोबल अभियानले हेगबाट विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा थिम्पुस्थित जिग्मे दोर्जी वाङचुक नेसनल रिफरल हस्पिटलमा पुलामीलाई भर्ना गरिएको उल्लेख थियो ।
छोराहरू राजबन्दी बनेर भुटानको जेलमा‚ अभिभावक जति पुनर्बसोबासमा तेस्रो देश गएपछि रित्तिएको एक शरणार्थी शिविर ।
पुलामीको श्रीमतीसहित परिवार भने झापाको शरणार्थी शिविर हुँदै अमेरिकामा पुनर्बसोबासमा गइसकेको छ । भुटानको सर्वाङबाट लखेटिएर सन् १९९२ मा झापाको टिमाई आएका पुलामी सन् २००१ मा भारत–भुटान सीमावर्ती बिन्दुमा पक्राउमा परेका थिए । उनी आईसीआरसी दर्ता (०००३९७) मा रहेका राजबन्दी थिए । ४३ वर्षे थुना अवधि तोकिने राजबन्दीमा पुलामीसहित मणिकुमार प्रधान (आईसीआरसी ०००३८५) समेत हुन्, उनी जेलमै छन् । तर अस्पतालमा लगिएका पुलामी अहिले कहाँ छन्, के हालत छ, कसैलाई जानकारी छैन ।
यस्तै, चेम्गाङ जेलमा राखिएका भुटानी मानवअधिकारकर्मी ड्रुक नेसनल कंग्रेसका नेता छेवाङ रिन्जिनसहित ५ नेपालीभाषीलाई रिहा गरिएको खबर गत वैशाखमा आएको थियो । सन् २००८ मा भुटानमा लोकतन्त्र आएपछि पक्राउ परेका खर्कबहादुर मोंगर, बलराम चाम्लिङ, नइन्द्रप्रसाद खुलाल (खरेल), घनश्याम गुरुङ र रामबहादुर खुलाललाई भुटान सरकारले रिहा गरेको जनाइएको थियो । तर रिहापछि उनीहरूको स्थितिबारेमा कतै खुलाइएको छैन ।
अहिले आएको पछिल्लो सूचीमा भने राजबन्दीहरू चेम्गाङसहित साम्द्रुप जोङ्खर, रबुना, पारो, मोंगर (जिल्ला) का थुनामा रहेको जनाइएको छ । ‘बाहिरी जगत्मा लोकतन्त्र र सुखी–खुसी राष्ट्रको कुरा गरेर हिँड्ने भुटानले गैरन्यायिक तहमा मानवअधिकारको न्यून पालना गर्न सकेको छैन भन्ने देखेकै छौं,’ भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले भने, ‘तर, जहाँबाट यो आवाज उठ्नुपर्ने हो र जसले प्रश्न गरिदिनुपर्ने हो, त्यो गरिएन । अमेरिका, बेलायतजस्ता लोकतन्त्र, मानवअधिकार स्वतन्त्रताका हिमायती राष्ट्रले भुटानी ज्यादतीविरुद्ध किन बोल्न नसकेका हुन् ? नेपाल स्वयंले जेनेभा, न्युयोर्कको मञ्चमा उभिएर मानवअधिकार हननको भुटानी नाङ्गो नाचमाथि किन प्रश्न गर्न नसकेको हो ? आश्चर्य लागेको छ ।