जनकपुरधाम, फागुन १२ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ तर यहाँ पठनपाठनका लागि तीनवटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक दुई कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।
एकातिर कक्षाकोठाको अभाव, त्यसमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै केन्द्र भागमा रहेको यो विद्यालय २०५७ सालदेखि सञ्चालनमा छ ।
२०६६ सालदेखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताउनुभयो । कक्षाकोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैलाजस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उहाँले बताउनुभयो ।
शिक्षिका पिङ्की कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भए पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन । यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निराश छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।”
विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “एउटै कक्षामा फरकफरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो । के गर्नु बाध्यता यस्तै छ,” उहाँले भन्नुभयो, “विद्यालयको आम्दानी छैन, अरूलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकिसकेँ ।”
कुनै बेला एउटै कक्षामा दुई सयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छवटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करिब एक सय मात्रै छ । ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा छ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ ।
यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कुल विद्यार्थीमध्ये पाँच÷सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन् ।
कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताउनुभयो । उहाँले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरूलाई स्कुल आउन मन नै नलाग्ने गरेको सुनाउनुभयो । त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको बताउनुभयो ।
२०६६ सालमा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गर्नुभएका प्रधानाध्यापक यादवले विद्यालयको यही दुरवस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुभयो ।
यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताउनुभयो । सुरुमा पाँच लाख रुपियाँ दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा नं. ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राख्नुभयो ।