
गुलरिया (बर्दिया) कार्तिक १९ गते । बर्दियामा आयोजित शिविरमा १४ ओटा हात्ती उपचार गरिने भएको छ ।
अमेरिकी पशुचिकित्सक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचार गरिएको हो ।
मङ्गलबारदेखि सञ्चालन भएको शिविर बुधवार साँझ सम्म चल्ने छ । हरेक वर्ष गरिने शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिदै छ ।
उपचारका लागि अमेरिकी पशुचिकित्सकहरूको संस्था केएसिफका १० जना पशुचिकित्सक सहित प्राविधिक सहयोग रहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटनरी डाक्टर सहित पशुचिकित्सक र प्राविधिहरू समेत हात्ती स्वास्थ्य शिविरमा खटिनुभएको छ ।
शिविरमा हात्तीको नङ काट्ने, टिटानस, रेबिज विरुद्धको खोप लगाइन्छ । हात्तीको पैताला, खुट्टा र शरीर सफा गर्ने घाउ चोटपटक लागेमा उपचार गर्ने गरिन्छ । हात्तीको रगतको नमुना सङ्कलन गरि क्षयरोग लगायत विभिन्न रोगहरू भए नभएको पत्ता लगाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरी डाक्टर किरण रिजालले बताउनुभयो ।
हात्तीको तौल धेरै हुने र खुट्टामा बढि लोड हुने भएकोले खुट्टाको बढि स्याहार गर्नु पर्दछ । हात्तीको नङ बढ्दा हात्तीले बाँगो टेक्ने, पैतालामा बढी लोड पर्ने, नङ माटो भरिएर घाउ हुने गर्दछ ।
भेटनरी डाक्टर रिजालले भन्नुभयो,“हात्तीको अरु ठाउँमा घाउ चोटपटक लागेमा छिट्टै घाउ निको हुन्छ र हात्तीको दिनचर्यामा खासै पर्दैन तर खुट्टामा घाउ भएमा हात्तीको दिनचर्या प्रभावित हुन्छ ।”
उहाँका अनुसार घरपालुवा हात्तीको ४० प्रतिशत स्वास्थ्य समस्या खुट्टामा देखिने गरेको छ । घरपालुवा हात्ती आफू खुसी हिड्न नपाउने हुँदा नङ छिटो बढ्ने, माटो भरिने र पैतालामा असर हुने गर्दछ ।
शिविर दुई दिन सम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिनुभयो । हात्ती जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण भएको हुनाले यिनीहरूको स्वास्थ्य उपचार र रेखदेख समय समयमा गर्नुपर्ने बताउनु भयो ।
हामीले ६-६ महिनामा हात्तीको नङ काट्ने गर्दछ । उपचार शिविरमा नङ काट्ने तरिका र उपचार प्रविधिको बारेमा सिकाइ आदानप्रदान पनि हुने बताउनु भयो ।
बर्दियामा विगत पाँच वर्ष देखि हरेक वर्ष शिविर सञ्चालन गर्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आठौँ पटक शिविर सञ्चालन भइसकेको छ ।
शिविर सञ्चालन भएपछि हात्तीको खुट्टा र हात्तीको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरूले बताएका छन् ।





