
काठमाडौँ, कात्तिक १९ गते । नेसनल लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपियाँ सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि कोषमा उक्त सहयोग गरिएको हो ।
उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभयो ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको जनाइएको छ । उक्त प्रयोजनका लागि कम्पनीले नियामक निकायबाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणलगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





