नेभिगेसन मेनु

प्रशासन कार्यालयमा अधिकृत अभाव
सम्पादक:南亚网络电视
समय:2023-02-06 12:17

cdo-sarlahi

सर्लाही, माघ २३ गते । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ। 

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव भएको हो। कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। 

तीन जना प्रशासकीय अधिकृतको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा अहिले काजमा समेत गरी दुई जना प्रशासकीय अधिकृत कार्यरत हुनुहुन्छ। प्रशासकीय अधिकृत राजकुमार थापा एक जना मात्रै हुँदा नागरिकता जारी गर्नेदेखि अन्य काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालय मलङ्गवामा काजमा खटाइएको छ।

दुई जना प्रशासकीय अधिकृतमध्ये थापा पनि गएको शुक्रबारदेखि एक साताका लागि बिदामा बसेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एक जना मात्रै हुनुहुन्छ। तीन जना प्रशासकीय अधिकृत हुँदासमेत नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका काममा भ्याइनभ्याइ हुने गरेकोमा अहिले एक जना मात्रै अधिकृत हुँदा सेवा प्रवाहमा निकै सकस परिरहेको छ। 

प्रशासकीय अधिकृत भुजेल एक्लैले तीन जना अधिकृतको काम भ्याउनुपरेको छ। जिल्ला प्रशासन कार्यालय मलङ्गवामा कार्यरत प्रशासकीय अधिकृत उर्मिला अधिकारी केही महिनाअघि नै र अर्का प्रशासकीय अधिकृत कामेश्वर यादव केही साताअघि सरुवा हुनुभएको थियो। 

एक जना मात्रै प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने गरेको छ। घण्टौँ लाइनमा बस्नुपर्दा उनीहरू थप झन्झट बेहोर्न बाध्य भएका छन्। इलाका प्रशासन कार्यालय हरिवनमा अहिले कार्यालयमै कार्यरत नायबसुब्बा रञ्जितकुमार साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ। 

प्रशासकीय अधिकृत रामनरेश राम उपसचिवको परीक्षाका लागि बिदामा बसेकाले इलाका प्रशासन कार्यालय बरहथवामा नायबसुब्बा राजेश रायलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो। नागरिकता फाँटतर्फ मात्रै जिल्ला प्रशासन कार्यालयबाट नयाँ र पुरानो गरी दैनिक १५० भन्दा बढी र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट ४०/४५ वटा नागरिकता जारी हुने गरेको छ। 

यी कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप पनि उत्तिकै हुने गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराइएको बताउनुभएको छ। 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी पनि वैदेशिक भ्रमणका लागि केही दिनअघि देखि नै बिदामा हुनुहुन्छ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर