नेभिगेसन मेनु

‘मिटरब्याजी’ले रुवाउन छाडेनन् घरजग्गा नै कब्जामा
सम्पादक:南亚网络电视
समय:2023-02-22 16:13

1

नवलपुर (सर्लाही), फागुन १० गते  । सर्लाही ईश्वरपुर नगरपालिका–१५, सोकनाहकी सुदामादेवी हजाम ठाकुरले २०७६ सालमा गाउँकै रामचन्द्र राय यादवसँग २० हजार रुपियाँ ऋण लिनुभयो । 

दलित परिवारकी हजामले दुई वर्षपछि जसोतसो गरी २० हजार रुपियाँ साँवा रकम त फिर्ता गर्नुभयो तर पाँच हजार ब्याज भने तिर्न सक्नुभएन । उहाँले ब्याज केही समयपछि बुझाउने गरी ऋण दिने रामचन्द्रसँग आफूले ऋण लिँदा बनाएको कागज (कपाली तमसुक) फिर्ता गरिदिन आग्रह  गर्नुभयो तर मिटरब्याजी रामचन्द्रले कागज दिनुभएन । 

उहाँले पटक–पटक जाँदा पनि ऋण खाँदा बनाएको कागज फिर्ता पाउनुभएन । २० हजार ऋण लिएर साँवा बुझाइसक्नुभएकी हजामलाई अहिले छ लाख रुपियाँ ऋण लिएको र त्यसको आठ लाख रुपियाँ ब्याज भइसकेको रामचन्द्रले सर्लाही जिल्ला अदालतमा मुद्दा हाल्नुभएको छ ।  

बागमती नगरपालिका–७, राजघाटका जवाहार साहले मिटरब्याजी बरहथवा नगरपालिकास्थित सीतापुरका रामबाबु रायसँग १६ कट्ठा जग्गा दृष्टिबन्धक राखेर ११ लाख ५० हजार रुपियाँ ऋण लिनुभयो । उहाँले रामबाबुसँग १६ लाख रुपियाँ ऋण लिएको भन्दै कागज (कपाली तमसुक) बनाउनुभयो । 

राजघाटका जवाहार जस्तै मिटरब्याजीसँग ऋण लिने अधिकांशले लिएको ऋणभन्दा दोब्बर, तेब्बर बढी रकमको तमसुक बनाउन बाध्य छन् । मिटरब्याजीले त्यही कागजको फाइदा उठाउँदै अदालतमा मुद्दा हाल्छन् र ऋण लिएकाहरूले घरजग्गा र अन्य सम्पत्ति लिलामसम्मको प्रक्रियामा जान्छन् । 

११ लाख ५० हजार ऋण लिएर पनि दृष्टिबन्धक राखेको भन्दा अर्कै जग्गा बेचेर १७ लाख रुपियाँ तिर्दासमेत आफ्नो ऋण चुक्ता नभएको र कपाली तमसुक पनि फिर्ता नदिएको जवाहारले गुनासो गर्नुभयो । जवाहारले गुनासो पोख्दै भन्नुभयो, “जग्गा बेचेको पैसा सबै साहु (रामबाबु राय)ले लियो तर अहिलेसम्म तमसुक फिर्ता गरेन । पटक–पटक सीतापुरस्थित घरमै जाँदा पनि तमसुक फिर्ता पाइन, दृष्टिबन्धक राखेको १६ कट्ठा जग्गा बेचेर आएको पैसासमेत उसैले खाइदियो ।” 

कपाली तमसुकमा मुद्दा दिएर मिटरब्याजी रामबाबु रायले आफूहरूलाई ‘मर्नु न बाच्नु’ पारेको उहाँले गुनासो गर्नुभयो । सयौँ व्यक्तिलाई यसरी ठगी गरे पनि रामबाबुविरुद्ध आफूसहित २८ जनाले जाहेरी दिएको जवाहारले बताउनुभयो । 

सुदामादेवी र जवाहारजस्तै मिटरब्याजीबाट पीडितहरू विगत तीन दिनदेखि सर्लाहीको नवलपुरमा मिटरब्याजीमाथि कारबाही, आफ्नो घर तथा जग्गाजमिन फिर्ता र जाली तमसुक खारेज गर्न माग गर्दै धर्नामा बसिरहेका छन् । मिटरब्याजी श्याम परदेशी भन्ने श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको फोटो राखेर ब्यानरसहित ‘अदालतलाई अपराधी चिनाउने कार्यक्रम’ भन्ने ब्यानर बनाएर उनीहरूले धर्ना दिइरहेका हुन् । 

पीडितले कारबाहीको माग गरेकामध्ये श्याम परदेशी अहिले पूर्पक्षमा गौर कारागारमा छन् । रामबाबु राय, सञ्जय साह रौनियारलगायत अन्य मिटरब्याजी फरार छन् । पछिल्लो समय पीडित बाहिर आउन थालेपछि नयाँ मिटरब्याजीको नामसहित उनीहरूको अन्याय र अत्याचार सार्वजनिक भइरहेका छन् । 

मिटरब्याज पीडित सङ्घर्ष समिति सर्लाहीकी संयोजक एवं लालबन्दी नगरपालिका–४ की रुक्मिणी चौधरीले सञ्जय साह रौनियार, रामबाबु राय, चुनचुन ठाकुरलगायत साहुकारलाई पक्राउ गरी कारबाही नभएसम्म आफूहरूको धर्ना जारी रहने बताउनुभयो । उहाँले पीडितलाई १५-२० लाख रुपियाँ ऋण दिएर घर, जग्गा नै आफ्नो नाममा गराएर मिटरब्याजी फरार भएपछि आफूहरूको बिचल्ली भएको गुनासो गर्नुभयो । मिटरब्याज पीडित सङ्घर्ष समिति सर्लाहीको सम्पर्कमा मात्रै अहिले सात सयभन्दा बढी मिटरब्याज पीडित सम्पर्कमा आएका संयोजक चौधरीले बताउनुभयो । आफूसमेत मिटरब्याजी श्याम परदेशीबाट पीडित बन्नुभएकी चौधरीले परदेशी पूर्पक्षमा कारागारमा भए पनि अन्य फरार भएका जानकारी दिनुभयो ।  

मिटरब्याजीको धर्नामा आएर प्रतिबद्धता जनाउनुभएका हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले मिटरब्याजी पीडितको समस्या भयावह बन्दै गएको बताउनुभयो । बुढाथोकीले भन्नुभयो, “घरबार सबै साहुले दृष्टिबन्धक गरेर राखेको छ, बुझाइसकेको ऋणको कागज फिर्ता दिएका छैनन् । पीडितको समस्या ज्यादै कारुणिक छ तर तीन दिनदेखि धर्नामा बस्दा पनि सरकारीस्तरबाट कुनै सुनुवाइ भएको छैन ।”

पीडितका तर्फबाट पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ६३१ वटा उजुरी परेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पीडितको तर्फबाट निरन्तर उजुरी आइरहेको बताउनुभयो । 

उहाँले मिटरब्याजको सम्बन्धमा कानुनसमेत नबनिसकेकाले आरोपितलाई पक्राउ गरेर कारबाही चलाउन गाह्रो परेको बताउनुभयो । “यस सम्बन्धमा कानुन नै छैन्, सम्पत्ति शुद्धीकरणको मुद्दा भने चलाउन सकिन्छ । नत्र त छलफलबाटै समस्याको समाधान गर्ने हो ।” प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर