नेभिगेसन मेनु

विद्यार्थी ४, कक्षा ५, शिक्षक-कर्मचारी ६
सम्पादक:南亚网络电视
समय:2023-02-24 12:44

thumb (10)

जति विद्यार्थी, उति शिक्षक : पाँचथरको फिदिम–१० स्थित याङनाम आधारभूत विद्यालयको कक्षा २ मा एक छात्रालाई पढाउँदै शिक्षिका । तस्बिर : लक्ष्मी/कान्तिपुर

पाँचथर — कक्षा ५ सम्म पढाइ हुने फिदिम–१० स्थित याङनाम आधारभूत विद्यालयमा चार जना मात्रै विद्यार्थी छन् । विद्यालयमा ६ शिक्षक एवं कर्मचारी कार्यरत छन् । हाजिरी खातामा विद्यार्थी संख्या ४ देखाइए पनि फागुन २ यता एक जना पनि कक्षामा उपस्थित छैनन् ।

नगर प्रमुख मित्रप्रसाद काफ्लेसहित नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका कर्मचारी र वडाका जनप्रतिनिधिको उपस्थितिमा सोमबार अनुगमन गर्दा यस्तो पाइएको हो ।

विद्यालयको बालविकास केन्द्रतर्फ ३ र कक्षा २ मा एक विद्यार्थी भर्ना भए पनि नियमित पढ्न आउँदैनन् । रेकर्ड फाइल हेर्दा फागुन २ यता एक जना पनि हाजिर नभएको पाइएको नगरपालिकाले जनाएको छ । विद्यालयको कक्षा १, ३, ४ र ५ मा एक जना पनि विद्यार्थी छैनन् ।

विद्यालयमा ४ शिक्षक, १ बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी कार्यरत रहेको वडाध्यक्ष होमराज थाम्सुहाङले जानकारी दिए । उनका अनुसार वि.सं. २०१० मा स्थापना भएर निरन्तर सञ्चालनमा रहेको यो विद्यालयमा पाँच वर्षअघिसम्म विद्यार्थी संख्या राम्रै थियो । सोही वडामा २५ मिनेटको दूरीमा खलंगाटार मावि छ । ‘बस्तीमा बालबालिका संख्या घटे, थोरै भए पनि सन्तानलाई सहरतिर पढ्न पठाउने चलनले गाउँका स्कुलमा विद्यार्थी क्रमशः घट्दै गएका हुन्,’ वडाध्यक्ष थाम्सुहाङले भने ।

फिदिम २ का थाङसाङ र ओदिनमा रहेका दुई विद्यालयको अवस्था पनि यस्तै छ । नगरपालिकाभित्र मात्रै अत्यन्तै न्यून विद्यार्थी रहेका विद्यालय १५ भन्दा बढी रहेकाले आगामी शैक्षिक सत्रदेखि आपसमा गाभ्ने तयारी भइरहेको नगर प्रमुख काफ्लेले बताए । ‘यसरी विद्यालय गाभ्दा एकातिर प्रशासनिक खर्च घट्छ, न्यून विद्यार्थी रहेका ठाउँका शिक्षक धेरै विद्यार्थी भएका ठाउँमा पठाइने भएकाले उनीहरूलाई पनि राहत हुन्छ,’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर