काठमाडौँ — खानेपानी मन्त्रालयले मेलम्चीको पानी निरन्तर उपलब्ध गराउन नसकिने निष्कर्षका आधारमा उपत्यकावासीलाई बाह्रै महिना खानेपानी व्यवस्थापन गर्न लिफ्टिङ र जलाशययुक्त आयोजनाहरु अघि बढाएको छ । खानेपानी मन्त्रालयले मकवानपुरको सिस्नेरी र भक्तपुरको महादेवखोलालाई मेलम्चीको वैकल्पिक स्रोतका रूपमा नयाँ योजना अघि बढाएको छ ।
बाढीपहिरोका कारण मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न नसकिने र अहिलेको स्रोतले उपत्यकाको माग धान्न कठिन भएपछि नयाँ योजना सुरु गरेको हो । ती आयोजनामध्ये उपत्यकाबाट करिब २१ किमि दूरीमा रहेको सिस्नेरी खोलाबाट बर्खामा दैनिक १४ करोड लिटर पानी लिफ्टिङ गरेर ल्याउने योजनाको परामर्शदाता नियुक्ति गरेर विस्तृत अध्ययन सुरु गरेको छ ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले मेलम्चीको वैकल्पिक स्रोत नभए उपत्यकामा कुनै पनि समय पानीको अभाव हुन सक्ने बताए । स्रोत व्यवस्थापनका लागि उक्त योजना अघि सारिएको हो । ‘बाढीपहिरोका कारण मेलम्चीमा मात्र भर पर्ने अवस्था रहेन । कुनै बेला सुरुङ मर्मत गर्दा पनि मेलम्ची बन्द गर्नुपर्छ,’ सचिव गेलालले भने, ‘अब राजधानीवासीलाई निरन्तर पानी खुवाउन विकल्प अपरिहार्य देखिएको छ ।’ मेलम्चीको पानी चक्रपथबाहिर वितरण हुन सकेको छैन । उपत्यकाको खानेपानी वितरण संरचना बनाइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाका अनुसार अहिलेको संरचना र स्रोतले चक्रपथबाहिर पानी वितरण गर्न सक्ने अवस्था छैन । ‘स्रोत र संरचना तयार गर्न नसके मेलम्चीमा मात्र भर पर्न सक्ने अवस्था छैन,’ उनले भने ।
काठमाडौं उपत्यका खानेपानी विकास बोर्डका अनुसार सिस्नेरीको लिफ्टिङ आयोजनाको विस्तृत अध्ययनको जिम्मेवारी बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताका रूपमा नियुक्ति गरिएको छ । बोर्डका सूचना अधिकारी सन्तोष बरालका अनुसार करिब साढे सात करोडको लागतमा परामर्शदाता बीडीएले विस्तृत अध्ययन सुरु गरिसकेको छ । उक्त योजनाअन्तर्गत करिब चार सय मिटर हेडको लिफ्टिङ गरेर ल्याएको पानी ललितपुरको सैंबु वा भैंसेपाटीमा खसालिनेछ । सिस्नेरीमा ड्याम बनाएर ल्याउने पानीको लाइनका लागि हाल निर्माण भइरहेको द्रुतमार्गको बाटो प्रयोग गर्ने योजना रहेको छ । बोर्डका इन्जिनियर नवीन तिवारीका अनुसार द्रुतमार्गको बाटो ल्याउँदा मुआब्जा दिनु नपर्ने भएकाले पनि योजना सञ्चालन गर्न सहज हुनेछ । सचिव गेलाले दातृ निकायको सहयोग लिएर भए पनि आयोजना निर्माणलाई तीव्रता दिने बताए ।
जलाशययुक्त खानेपानी आयोजनाको अध्ययन
भक्तपुरको चाँगुनारायण नगरपालिकाको महादेव खोलामा जलाशय निर्माण गरिने भएको छ । त्यसका लागि परामर्शदाता नियुक्ति गरेर विस्तृत अध्ययन सुरु गरिएको छ । खानेपानी विभागका सिनियर डिभिजन इन्जिनियर सुरतकुमार बमका अनुसार करिब ४० देखि ४२ मिटरको उचाइको जलाशय (पोखरी) बनाएर सुक्खा मौसममा पानीको आपूर्ति गरिने योजनाअनुरूप अध्ययन सुरु गरिएको हो । उपत्यकामा पानीको स्रोत बढाउन बाँधमा बर्खाको पानी संकलन गरेर पोखरीमा जम्मा गर्ने योजना बनाएको इन्जिनियर बमले जनाए । उनका अनुसार करिब ८० करोड लिटर पानी जम्मा गर्न सकिने उक्त जलाशयको लम्बाइ करिब आठ सय र चौडाइ तीन सय मिटर हुनेछ । खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीका अनुसार आयोजना निर्माणका लागि अर्थ मन्त्रालयमा आवश्यक बजेटसम्बन्धी ब्रिफिङ भइसकेको छ । आयोजना सकभर नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिनेछ दुवाडीले जानकारी दिए । आयोजना निर्माणका लागि करिब डेढदेखि दुई अर्ब लगानी हुने अनुमान रहेको छ ।
मेलम्चीको पानी तेस्रो पटक उपत्यकामा वितरण गरिएको छ । तर बाढीपहिरोका कारण २०७७ चैतमा पहिलो पटक वितरण गरिएको पानी पटक–पटक बन्द गरिँदै आएको छ । २०७८ असारको बाढीले मेलम्चीको हेडवर्क्स क्षति गरेपछि बर्खामा पानी सुरुङमा पठाउन मिल्दैन । दोस्रो पटक २०७८ चैतमा वितरण गरिएको पानी तीन महिनामा २०७९ जेठमा बन्द गरिएको थियो । बाढीले क्षति गरेको हेडवर्क्सको मर्मत गरेर गत मंसिरमा पुनः पानी सुरुङमा प्रवेश गराइएको थियो । बाढीपहिरोको सम्भावना यथावत् रहेकाले मेलम्चीको पानी नियमित वितरणमा समस्या देखिएको आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही अवस्थामा अहिले पनि बर्खामा पानी बन्द गर्नुपर्छ ।