भय र भ्रम दुवै हटाउनु पर्छ
डा. राजेन्द्र बराल
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्व क्यान्सर विरुद्धकोको दिवसको अवसर पारेर सुरुका वर्षमा एक वर्षको लागि नारा तय गथ्र्यो। पछिल्लो समय तीन—तीन वर्षको लागि नारा तय हुन थालेको छ।
आगामी तीन वर्षको लागि ‘क्लोज द केयर ग्याप’ भन्ने नारा दिइएको छ। जेसुकै नारा दिइए पनि क्यान्सरको जनचेतना जगाउने प्लेट फर्म व्यापक हुनुपर्छ। ४ फेब्रुअरीलाई लक्षित गरेर मात्र क्यान्सर डे मनाएर पुग्दैन। हरेक दिन क्यान्सर दिवस र नो टोबाको डे (धूमपानरहित दिवस) मनाउनु पर्छ। दुई दशकअघि क्यान्सरको बिरामीलाई दिइने उपचार सेवा र अहिले धेरै फरक छ। क्यान्सरका बिरामी बढेका छन्। निदान गर्ने तरिका पनि बढेको छ। उपचार हुने क्रम पनि बढेको छ।
अस्वस्थ जीवनशैली कारण नै बिरामीको चाप बढेको छ। घरघरमा क्यान्सरका बिरामी भेटिन थालेका छन्। अहिले पनि समाजमा भय र भ्रम छ। क्यान्सर निको नहुने सरुवा रोग हो भन्ने भ्रम छ। क्यान्सर लागेर मरोस् भन्दै सराप्ने चलन अहिले पनि गाउँघरमा छ। क्यान्सरविरुद्ध समाजमा भएको भ्रम र भय हटाउनु जरुरी छ।
क्यान्सर चाँडै पहिचान गर्न सकिन्छ। सुरुमा उपचार गरे निको हुने रोग हो। जनचेतनाको मात्र कमी छ। सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट क्यान्सरविरुद्ध जनचेतमूलक कार्यक्रम गरे पनि पर्याप्त छैन। गाउँगाउँमा घरदैलोमा पुग्नुपर्छ। हरेक क्यान्सरको प्रमुख कारक भनेको सुर्तीजन्य पदार्थ हो। त्यसैले सुर्तीजन्य पदार्थको उपभोग न्यून गर्नै पर्छ। क्यान्सरविरुद्ध सरकार र गैरसरकारी संघसंस्थाले आआफ्नो ठाउँमा उल्लेखनीय कार्य गरेका छन्। तर, अपुग छ। अहिले पनि चेतना पुगेको छैन।
नेपाल सरकारले विपन्न सेवा सुरु गरेको छ। ५० हजार हँुदै एक लाखसम्म रुपैयाँबराबरको उपचार सुविधा बिरामीले पाउँछन्। यो सुविधा पनि विवादास्पद भएको छ। क्यान्सर बिरामीलाई एक लाखबराबरको सुविधा हात्तीको मुखमा जिराजस्तै भएको छ। विपन्न कसलाई भन्ने ? विपन्न शब्द राखिनु उपयुक्त होइन भनेर बारम्बार वकालत गर्दै आएका छौं। विपन्न शब्द उल्लेख गरिसकेपछि असहाय र अशक्तलाई बुझिन्छ। यो सुविधा धनीदेखि गरिबसम्मले पाउँदै आएका छन्। यो सुविधा अपुग छ।
सबैलाई थाहा छ, क्यान्सर महँगो उपचार हो। क्यान्सर निःशुल्क उपचार गर्ने मुलुक पनि छन्। श्रीलंकालगायतका मुलुकले सेवा दिएका छन्। हामीले पनि सकेसम्म निःशुल्क उपचार होस् भन्दै आएका छौं। निःशुल्क नभएसम्म उपचारमा सबै बिरामीको पहँुच पुग्दैन। यसमा नेपाल सरकारले केही न केही कदम चाल्नै पर्छ। स्वास्थ्य बिमामा समेट्न सकिन्छ। क्यान्सर उपचारमा स्वदेशमै दक्ष जनशक्ति बढ्दै गएका छन्।
तर बिरामीहरू उपचारका लागि मुलुक बाहिर जाने गरेका छन्। स्वदेशमै पनि गुणात्मक उपचार छ भन्ने सन्देश प्रवाह गर्नु अति जरुरी छ। यसतर्फ सरकार पनि लाग्नुपर्छ। बाहिरी मुलुकमा उपचार गर्दैमा क्यान्सर निको हुन्छ नै भन्ने हैन। स्वदेशमै क्यान्सरको गुणस्तरीय उपचार सेवा प्रवाह गर्ने तर्फ सरकारले पनि ध्यान दिनु जरुरी छ।
निजीलाई प्रोत्साहन जरुरी
डा. सुदीप श्रेष्ठ
निर्देशक नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि
नेपालमा सबैसँग सबै कुरा छैन। सार्वजनिक र निजी अस्पताल फरक किसिमले चलेका छन्। क्यान्सर रोगबारे नेपालमा अनुसन्धान गर्न स्रोत छैन। सबै मिलेर यसको पहल गरेनौं भने अगाडि बढ्न सक्दैनौं। निजी अस्पतालमा गरिने उपचार छुट्टै किसिमको छ।
तर पनि बिरामीले एक सय रुपैयाँ खर्च गर्छन् भने त्यसको ४० प्रतिशत सरकारले नै लैजान्छ विभिन्न करको रूपमा। २० प्रतिशत अन्य खर्च हुन्छ भने बाँकी २० प्रतिशतले अस्पताल चलाएर नाफा निकाल्नु पर्छ। जनमानसमा भ्रम छ, निजी अस्पताल र त्यहाँका डाक्टरले पैसो कमाएका छन् तर हैन। सेवाका दृष्टिले हेर्दा ‘क्लोजिङ ग्याप’ धेरै छ। सबै कुरा काठमाडौंमा छ, गाउँमा क्यान्सरको उपचार सेवा खासै छैन।
सरकार मेसिनसमेत ट्याक्स लगाउँछ। रेडियोथेरापी मेसिनका लागि वर्षमा दुई करोड बुझाउनु पर्छ। त्यो दुई करोड तिर्नलाई पनि तीन महिना कुर्नुपर्छ। राष्ट्रिय वाणिज्य बैंकको स्वीकृत लिनुपर्छ। बिरामीले भ्याट तिर्नु पर्दैन तर त्यो अस्पतालले तिर्नु पर्छ। नेपालमा ल्याउनुपर्ने सेवा थुप्रै छन्। थुप्रै रोगी देशबाहिर गएर सेवा लिन्छन्।क्यान्सरलाई नभई नहुने भनेको मोनिक्रस डाइनोसेस हो। त्यसका लागि मान्छे बाहिर जान्छन्। यसरी महिनामै करोडौं बाहिरिएको छ। नेपालभित्रै सबै सेवा दिन सरकार किन सक्दैन ?
सरकारले सबै ट्याक्स घटाइदिनुपर्छ, हामी हरहिसाबले सेवामा तयार छौं। सरकारको क्यान्सर सेन्टरमा सुधार गर्ने हो भने क्यान्सरको नीति ल्याउनुपर्छ। यसका लागि अस्पतालहरूको एउटा प्रोजेक्ट अफिस हुनुपर्छ। सबै होल्डरसँग कुरा गरेर सबैलाई यति प्रतिशत निःशुल्क दिने हो भने आर्थिक रूपमा सस्तो हुन्छ।
विपन्नले पाएको छुटको रकम हामीले पाउन झन्डै ७ करोड छ। सरकारले ध्यान दिनुपर्छ। यो कम भयो भने पनि सबै कुरा म्यानेज हुँदै जान्छ। सबै कुरामा ध्यान दिन सरकारले प्रोजेक्ट अफिस भयो भने धेरै कुरा सम्भव छ। यसमा हामी साथ दिन तयार छौं।
नीति कार्यान्वयन अझै अधुरै
डा. सरिता घिमिरे
बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ एवं महासचिव नेपाल क्यान्सर केयर फाउण्डेशन
क्यान्सरका बिरामीलाई मुख्यतयाः दुईवटा पहुँचको कमी छ। पहिलो, उपचारका लागि पैसाको पहुँच छैन। दोस्रो, उपचार (स्थान)मा पहुँच छैन। यी दुई पहुँचमा बिरामी अड्किएको अवस्था छ।
क्यान्सरविरुद्ध जनचेतना बढाउनु पर्ने जरुरी छ। कोभिड— १९ का कारण विगत वर्षमा जनचेतनामूलक कार्यक्रम हुन सकेन। सरकारी तबरबाट बिरामीलाई अनुदान दिइएको छ। स्वास्थ्य बिमा राम्रो हो।
तर, अहिले स्वास्थ्य बिरामी आफैं बिरामी परेझैं भएको छ। स्वास्थ्य बिमा तंग्रियो भने बिमाभित्र क्यान्सरका बिरामीलाई पनि समेट्नु जरुरी छ। क्यान्सरविरुद्ध नीति बनेका
छन्। तर, कार्यान्वयन अधुरो छ। पाठेघरको क्यान्सरविरुद्ध स्क्रिनिङ र खोपको व्यवस्था गर्ने नीति छ।
नेसनल गाइड लाइन बनेको छ। तर, कार्यान्वयनको पाटो अधुरै छ। विगतको तीन वर्ष कोभिड— १९ लाई दोष दिएर पन्छन सकिएला। तर, आशा गरौं सरकारले नीतिलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिनेछ।
क्यान्सरविरुद्ध डट्स मोडल अपनाऔं
प्रकाशराज न्यौपाने
अध्यक्ष क्यान्सर सर्जन समाज
क्यान्सरको निदान र उपचारमा असमानता हटाउने चुनौती छ। पहिलो चरणको क्यान्सरको उपचार निको हुन्छ। चौथो चरणको क्यान्सर निको हुने सम्भावना न्यून हुन्छ। दोस्रो र तेस्रो चरणको क्यान्सरका बिरामीले गुणस्तरीय उपचार पाएमा निको हुने भएकोले विज्ञसँग जँचाउने कुरामा बिरामी चनाखो हुनुपर्छ।
कुनै पनि क्यान्सरको अस्पतालमा पुगेपछि बिरामीको एक हप्ताभित्र नै रोगको पहिचान गर्ने क्षमताको विकास गराउनु पर्छ। रोगको निदान भएको दुई हप्ता भित्र उपचार सुरु गरिसक्नु पर्ने व्यवस्था गर्नुपर्छ। नेपालको क्यान्सरको औषधि उत्पादन सुरु भएको छ। नेपालमा क्यान्सरको औषधिलाई सस्तो बनाउन सरकारले हेरविचार गर्नुपर्छ। सरकारले नीतिगत व्यवस्था गरेर सहुलियत दिन सक्छ। क्यान्सरको उपचारको लागि क्षयरोग (टीबी) को मोडल अपनाउन सकिन्छ।
क्षयरोगविरुद्धको डट्स मोडललाई क्यान्सरविरुद्ध पनि प्रयोग गर्न सकिन्छ। सरकारले हेपाटाइटिस बी र पाठेघरको क्यान्सरविरुद्ध खोपको व्यवस्था गर्नु जरुरी छ। सम्पूर्ण नागरिकलाई हेपाटाइटिस बीको खोपको व्यवस्था गर्नुपर्छ। एचपीभी भ्याक्सिनलाई राष्ट्रिय खोपमा समावेश गर्नु पर्छ। हेपाटाइटिस सी बिरामीको सातवटै प्रदेशमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्नु पर्छ।
महिलामा ब्रेस्ट र पाठेघर क्यान्सर धेरै
डा. एलिजा श्रेष्ठ
वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ
महिलाले क्यान्सर थाहा पाउनेबित्तिकै उपचारका लागि अस्पताल जानुपर्ने तर सबैमा त्यो सोचसम्म छैन। यो पीडादायी छ। महिलाले कहिल्यै आफूलाई प्राथमिकतामा राख्दैनन्। उनीहरूको प्राथमिकता त परिवार हुन्छ।
पहिलो कुरा, आफूलाई के भएको छ ? केमा समस्या आएको हो ? भनेर अस्पताल पुगेर देखाउने चलन छैन। सुरुमा फार्मेसीमा गएर औषधि खाने र ठीक भएन भने मात्रै डाक्टरलाई देखाउने चलन छ। दोस्रो कुरा, क्यान्सरबारे सचेतना नै छैन। हामीलाई क्यान्सर हुन सक्छ वा पाठेघरको मुखको क्यान्सर हुन सक्छ भनेर सावधानी अपनाउनुपर्ने त्यो खासै छैन। सरकारले अझै पनि भ्याक्सिन पर्याप्त दिन सकेको छैन। क्यान्सर लागिसकेपछि के गर्नेभन्दा धेरैजसो महिला आयुर्वेदिक उपचारमा जान्छन्। जब कतै पार लाग्दैन तब अस्पताल आउँछन्।
ढिला भइसकेको हुन्छ। सरकारले पनि क्यान्सरको उपचार महँगो भएरै यसरी बिरामी अन्त जान बाध्य छन् भनेर बुझ्नुपर्छ कि ? धेरैजसो महिला पाठेघरको मुखको क्यान्सरबाट बच्न बेलैमा अस्पताल जानुपर्ने र चेक गराउनुपर्ने हुन्छ। नेपालमा पहिलो नम्बरमै ब्रेस्ट र दोस्रोमा पाठेघरको क्यान्सर देखिन्छ। नेपाल यस्तो देश हो जहाँ यी क्यान्सरबाट धेरैले ज्यान गुमाइराखेका छन्। समयमा कसैको पनि सर्जरी हुन पाएको छैन।
उपचारको पहुँचमा ल्याउने चुनौती डा. ईच्छा ढकाल
बाल क्यान्सर रोग विशेषज्ञकान्ति बाल अस्पताल, काठमाडौं
बालबालिकामा पनि क्यान्सर हुन्छ। बालबालिकामा हुने क्यान्सरको उपचार हुन्छ। तर, बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न सकिँदैन। वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ। तर, बालबालिकामा हुने क्यान्सर अलि फरक छ। वयस्कलाई झैं रोकथामका उपायहरू अपनाउन सकिँदैन। नेपालमा १५ सयदेखि २ हजार बालबालिकालाई क्यान्सर हुने अनुमान छ। जसमध्ये २५ प्रतिशत मात्र कान्ति बाल अस्पतालमा उपचारका लागि आउने गरेका छन्। वार्षिक २ सयदेखि २ सय ५० जनासम्मका बिरामीलाई उपचार गर्न सफल भएका छौं।
बालबालिकालाई कुपोषण भएको छ भने क्यान्सरको उपचारमा समस्या हुन्छ। केमोथेरापी दिँदा संक्रमणको जोखिम हुन्छ। यसमा क्यान्सर अस्पतालले छुट्टै डायटिसियनको व्यवस्था पनि गरेको छ। उपचारमा आउनेहरू अधिकांश विपन्न छन्। अस्पतालमा फ्यामिली सपोर्ट अफिसरको व्यवस्था छ। दुर्गम क्षेत्रबाट आएका बिरामीमध्ये कतिपयले उपचार सेवालाई निरन्तरता दिँदैनन्। फलो अपमै आउँदैनन्। बालबालिकामा धेरै हुने भनेको रक्त क्यान्सर (ब्लड क्यान्सर) नै हो। एक वर्षभन्दा कम उमेरका र १० वर्षभन्दा माथिका बालबालिकाहरू ‘हाइरिस्क’मा पर्छन्। बालबालिकाको क्यान्सरको उपचार गर्ने बाल अंकोलोजिस्टको अभाव छ। त्यसैले सरकारले मानव स्रोत व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ। दक्ष नर्सिङ सेवातर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता छ।
धूमपान र मद्यपान त्यागौं
डा. अरुण शाही
सहायक प्राध्यापक, मेडिकल अंकोलोजी
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
क्यान्सरविरुद्ध जनचेतना बढाउनु नै पहिलो प्राथमिकतामा राख्नुपर्छ। क्यान्सर भन्ने बित्तिकै उपचारका लागि घरजग्गा बिक्री गर्नु पर्ने, ज्यान पनि जाने हो भन्ने सोच अहिले पनि व्याप्त छ। कतिपय बिरामी त उपचारसमेत गर्न आउँदैनन्। उपचार गर्दागर्दै बीचैमा छोड्छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कतिपय क्यान्सरका औषधिहरू निःशुल्क वितरण हुन्छ। क्यान्सरका विरुद्ध जनचेतना बढाउन विद्यालय पाठ्यक्रममा समावेश हुनुपर्छ। विद्यालयबाट नै पाठेघरको मुखको क्यान्सर, कलेजोको क्यान्सरविरुद्धको जानकारी दिन सकिन्छ। पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन सकिन्छ।
यसतर्फ सरकारले ध्यान दिनुपर्छ। क्यान्सरको उपचार महँगो भएको जनगुनासो छ।
क्यान्सरको सुरुकै अवस्थामा पहिचान गर्न सकेमा उपचारमा धेरै खर्च गर्नु पर्दैन। जटिल अवस्थामा उपचार गर्दा खर्च धेरै लाग्छ। ज्यान बचाउनसमेत सकिँदैन। त्यसैले क्यान्सरको समयमै पहिचान गर्नेतर्फ ध्यान दिनु जरुरी छ। धूमपान र मद्यपान नै क्यान्सरका प्रमुख कारक हुन्। त्यसैले धूमपान र मद्यपान नियन्त्रणतर्फ विशेष ध्यान केन्द्रित गर्नुपर्छ। यसका लागि सरकारी र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्छ। क्यान्सरका बिरामीलाई स्वदेशमै उपचार हुने विश्वास दिलाउनु जरुरी छ। क्यान्सरका बिरामीलाई स्वदेशमै सेवा लिन प्रोत्साहित गर्नुपर्छ।
उपचारका लागि स्वदेशकै दक्ष र विज्ञहरूप्रति विश्वास बढाउनु पर्ने चुनौती छ।
उपचारमा पहुँच सबैको हुनुपर्छ
प्राडा. विष्णुदत्त पौडेल
कार्यकारी निर्देशक, भक्तपुर क्यान्सर अस्पताल
नेपालमा क्यान्सरका बिरामीको संख्या वार्षिक रूपमा बढ्दै गएको छ। रेकर्ड गरिएको तथ्यांक ३० हजारको हाराहारीमा रहेको छ। अस्वस्थ जीवनशैलीका साथै वातावरणीय र मदिराजन्य पदार्थको सेवनका कारण पनि क्यान्सरका बिरामी बढेका छन्। भक्तपुर क्यान्सर अस्पतालले बिरामीको उपचारमा व्यापक ढंगले सेवा प्रवाह गरिरहेको छ। केमोथेरापी, रेडियोथेरापी, शल्यक्रियालगायतको उपचार सेवा छ।
क्यान्सरका बिरामीको चाप बढेकोले कार्यबोझ पनि बढी छ। क्यान्सरका बिरामीलाई रेडियोथेरापी सेवा पर्याप्त पाउन सकेका छैनन्। भक्तपुर क्यान्सर अस्पतालमा रहेको रेडियोथेरापी मेसिन बिहानदेखि मध्यरातसम्म चलेको हुन्छ। तर, पनि बिरामीको चाप धेरै छ। एउटा मात्र मेसिनबाट सेवा प्रवाहमा समस्या आउन सक्छ। हरेक दिन १ सय २० जनासम्मको उपचार हुन्छ। क्यान्सरका बिरामीको उपचार पहुँचमा हुनुपर्छ। सबै बिरामीले समयमै उपचार सेवा पाउन सकेका छैनन्। अहिले सरकारी तवरबाट उपचार सेवा अपर्याप्त छ। काठमाडौं उपत्यका बाहिर उपचार सेवा सीमित स्थानमा छ। कम्तीमा पनि हरेक प्रदेशमा एउटा क्यान्सर उपचार हुने स्वास्थ्य संस्था हुनुपर्छ।
सातवटै प्रदेशमा क्यान्सर सेन्टर जरुरी
प्रा.डा. वाईपी सिंह
प्रमुख, सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर, त्रिवि शिक्षण अस्पताल
जनमानसमा क्यान्सरको गुणस्तरीय उपचार सेवा कहाँ पाइन्छ भन्ने जानकारी नै छैन। त्रिवि शिक्षण अस्पताल, सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरमा क्यान्सरका बिरामीको गुणस्तरीय र भरपर्दो उपचार हुन्छ।
अन्य अस्पतालबाट रिफर भएका बिरामी पनि यहाँ आउँछन्। यस अस्पतालमा क्यान्सरलगायत अन्य रोगका बिरामीको उपचार भइरहेको छ। हामीले झन्डै सय जनालाई वार्डमा सेवा दिइरहेका छौं। ओपीडीमा पनि सय जनाको उपचार हुन्छ। केमोथेरापी र हेमाटोलो अंकोलोजीका बिरामीलाई सेवा दिइरहेका छौं।
डे केयर केमोथेरापी सेवा पनि उपलब्ध छ। सर्जरी सेवा पनि छ। तीन वटा अप्रेसन थियटर छ। उपचारमा आउनेमध्ये झन्डै ५० प्रतिशत क्यान्सरका बिरामी हुन्छन्। बाँकी ५० प्रतिशत पहिचान गर्न आउने गरेको पाइएको छ। कतिपय बिरामी भयका कारण पनि उपचारमा आउँछन्। रेडियोथेरापी उपचार सेवा पनि दिने योजना छ। बिरामीलाई उपचारमा पहुँचको लागि सातवटै प्रदेशमा क्यान्सर सेन्टर स्थापना गर्नु जरुरी छ। क्यान्सरमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ।
वीरको मुलुककोजस्तै व्यथा छ
डा. विवेक आचार्य
प्रमुख, अंकोलोजी विभाग, वीर अस्पताल
वीर अस्पताल मुलुकको जेठो अस्पताल हो। मुलुकको सबैभन्दा पहिले क्यान्सरको उपचार सुरु गरेको थियो। १ सय ३३ वर्ष पुरानो अस्पतालमा क्यान्सरको उपचारलाई प्रभावकारी बनाउन सकिएको छैन। अस्पतालको अवस्था मुलुकको अवस्थासँग ठ्याक्कै मिल्छ। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए पनि मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन। मेडिकल अंकोलोजी र रेडिएसन अंकोलोजीको कार्यक्रम चलाइरहेका छौं।
तर, अस्पतालको अवस्था र सेवामा उल्लेखनीय परिवर्तन ल्याउन सकिएको छैन। टेमोथेरापी खरिद गर्ने प्रयास गरिएको थियो। सफल हुन सकेका छैनौं। क्यान्सरको उपचार सेवामा निजी क्षेत्र जुर्मुराएको छ। सरकारी सेवालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनु पर्ने जरुरी छ।
सरकारबाटै सहयोग भएन
प्रा.श्यामकृष्ण जोशी
प्रबन्ध निर्देशक, नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुर
निजी क्षेत्रबाट क्यान्सर उपचार सेवाको सुरुवात गर्दा अनेकौं प्रश्न झेल्नु परेको थियो। स्वीकृत लिन जाँदा खेरि क्यान्सरको उपचार निजी क्षेत्रबाट पनि गर्न सकिन्छ र ? भन्ने प्रश्न गरियो। नारा लगाउँदा सरकारी र निजी साझेदारीको व्यापक चर्चा गरिन्छ। कार्यान्वयन अधुरै हुन्छ।
निजी क्षेत्रलाई नाफा कमाउन सञ्चालन गरिएको भन्ने आरोप लगाइन्छ। त्यो आरोप नबुझी लगाइएको हो। निजी क्षेत्रले स्वास्थ्य सेवा प्रवाह नगर्ने हो भने सरकारी संस्थाले थेग्न सक्दैन। सरकारी क्षेत्रले निजी क्षेत्रलाई पेलेको छ। सरकारले निजी क्षेत्रलाई सुविधा दिन सकेको छैन। निजी क्षेत्रलाई कर बढाएको छ।