
काठमाडौँ — एउटा अर्को बराबरी । त्यो पनि गोलरहित । राष्ट्रिय लिग फुटबलमा मंगलबार त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दा त्यसले पस्केको खेल अहिलेसम्मकै सबैभन्दा बढी रोमाञ्चक रह्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुनेका थिए, त्यसमध्ये कुनै पनि निर्णायक हुन सकेन । धेरै हदसम्म यो खेलको सार रह्यो, आमीले २ अंक गुमायो भने प्लानिङ ब्वाइजले एक बहुमूल्य अंक प्राप्त गर्यो ।
आर्मी नेपाली फुटबलको पारम्परिक शक्ति हो भने त्यसविरुद्ध बराबरी निकाल्नुले प्लानिङ ब्वाइजमा केही विशेष छ भन्ने देखाउँछ । त्यसैले आर्मी मात्र होइन, प्लानिङ ब्वाइज पनि समान ४ अंकमा रह्यो । दुवै टिमलाई एउटा के तथ्यमा राहत हुनेछ भने आफ्नो सुरुआती दुवै खेलमा क्लिन सिट राख्न सफल रह्यो । ‘यो यस्तो नतिजा हो, जसले हामीलाई अबका दिनमा अझ राम्रो खेल्न प्रेरित गर्नेछ,’ प्लानिङ ब्वाइजका प्रशिक्षक सन्जित सिंहले भने ।
उनका अनुसार प्लानिङ ब्वाइजको योजना नै आर्मीलाई बराबरीमा रोक्नु थियो, किनभने यो बलियो पारम्परिक टिम हो । त्यसैले प्लानिङ ब्वाइजका लागि खुसीकै उपलब्धि बन्यो । आर्मीका अनुभवी प्रशिक्षक बालागोपाल महर्जनले भने यो नतिजालाई आफ्नो टिम चुकेकै सरह माने । उनले भने, ‘खेलम हाम्रै नियन्त्रण बढी थियो, सायद ७०–३० । तर हामीले गोल निकाल्न सकेनौं । टिमको अग्रपंक्तिमा समस्या छ र हामीले यसको समाधान निकाल्नुपर्नेछ ।’
विकेशविरुद्ध योगेश
अर्को एक अर्थमा यो खेल अनुभवी गोलरक्षक विकेश कुथुविरुद्ध उदीयमान योगेश धिमालबीचको खेल पनि रह्यो । किनभने दुवै खेलाडी पूरा खेल अवधिमा व्यस्त रहे । उनीहरू दुवैले केही उत्कृष्ट बचाउ गरेका थिए । अझ योगेश त प्लेयर अफ द म्याच नै घोषित भए । खेलको पहिलो गतिलो आक्रमण ३५ औं मिनेटमा प्लानिङ ब्वाइजले बुनेको थियो । टोलीका विदेशी खेलाडी एलेक्स विलानको प्रहारलाई विकेशले बहादुरीपूर्वक बचाउ गरे ।
खेलले ६५ मिनेट छुँदा नवयुग श्रेष्ठको हेडरलाई योगेशले मिहिनेतसँग रोके । लगत्तै ६९ औं मिनेटमा प्लानिङ ब्वाइजले बुनेको एउटा आकर्षक आक्रमणमा रोमन भुजेलको प्रहार बारमा लागेको फर्कियो । त्यस्तै स्थिति ७९ औं मिनेटमा बनेको थियो, जतिबेला कप्तान जिलेस्पीजंग कार्कीको प्रहार प्लानिङ ब्वाइजको बारमा लागेको थियो । अझ तिनै रोमनले ८३ औं मिनेटमा गरेको प्रहारले पोस्टको ठ्याक्कै दिशा लिन सकेन ।
भाग्यमानी पुलिस
दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले चित्लाङ एफसीलाई १–१ को बराबरीमा रोकेको थियो । यस नतिजाका लागि भने यो विभागीय टिम धेरै हदसम्म भाग्यमानी रह्यो । खेलले ८७ मिनेट छुँदा पुलिस एक गोलले पछाडि थियो र हारतर्फ अग्रसर थियो । यही बेला पुलिसलाई चित्लाङ एफसीले आत्मघाती गोल उपहार दिएको थियो । चित्लाङले म्याथ्यु बाबाटुन्डेको गोलमा ४१ औं मिनेटमा अग्रता लिएको थियो । खेल सकिन तीन मिनेट अगाडि लक्षुमन रानामगरले आत्मघाती गोल गरे र पुलिस एक अंक बटुल्न सफल रह्यो ।
यो नतिजापछि चित्लाङको २ खेलबाट ४ अंक भएको छ । टोलीले नव जनजागृतिविरुद्धको पहिलो खेल जितेको थियो । टोली अहिलेका लागि अपराजित रहन सफल रह्यो । पुलिस भने २ खेलबाट एकै अंकमा सीमित रहेको छ । पुलिस पहिलो खेलमा प्लानिङ ब्वाइजसँग हारेको थियो । अधिकांश नयाँ र अनुभवको कमी रहेका खेलाडी लिएर प्रतियोगितामा ओर्लेको पुलिसलाई यसपल्ट आफ्नो इतिहासप्रति न्याय गर्न गाह्रो हुन सक्नेछ ।





