
काठमाडौँ, पुस २० गते । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले शनिबार नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा उपाधि जितेका छन् । टिपटप पुरुष र न्यु डायमन्ड महिला वर्गमा च्याम्पियन बनेका हुन् ।
राखेपको कभर्ड हलमा भएको फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा २५–२१, २५–२१, २५–२१ ले सजिलै पराजित ग¥यो । हेल्प नेपालको यो उपाधिमाथि ह्याट्रिक भएको छ । हेल्प नेपालले पहिलो उपाधि जित्नुअघि त्रिभुवन आर्मी एनभिए भलिबलको च्याम्पियन थियो । यी दुई टिमले लगातार चौथो पटक उपाधि भिडन्त गरेका हुन् । हेल्प नेपालको जितमा यसपालि पनि तीन आयातित पाकिस्तान खेलाडीको साथ रह्यो । यसै गरी हेल्प नेपाल यस पटक अपराजित यात्रासहित च्याम्पियन बनेको हो । हेल्प नेपालले ट्रफीसँगै पाँच लाख रुपियाँ प्राप्त ग¥यो । आर्मीले दुई लाख ५० हजार रुपियाँमा चित्त बुझायो ।
महिला वर्गको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–१९, २५–१८ ले सोझो सेटमा हरायो । न्यु डायमन्ड पनि प्रतियोगितामा अपराजित रहेर उपाधि विजेता बनेको हो । फाइनलअघि पुलिस पनि अपराजित थियो । पुलिसको उपाधि रक्षा अभियान फाइनलमा आएर असफल भएको हो । न्यु डायमन्डको यो दोस्रो एनभिए भलिबल उपाधि हो । चार वर्षअघि न्यु डायमन्ड पहिलो पटक च्याम्पियन बनेको थियो । यसपालि स्पाइकर प्रतिभा मालीको टिममा पुनरागमनले पनि न्यु डायमन्ड क्लब बलियो बनेको थियो । न्यु डायमन्डले ट्रफीसँगै पाँच लाख र उपविजेता आर्मीले दुई लाख ५० हजार रुपियाँ प्राप्त गरे ।
पुरुष वर्गमा नेपाली पुलिस क्लबले रुकुमपश्चिम ट्रेनिङ सेन्टरलाई पाँच सेटमा २५–२७, २३–२५, २६–२४, २५–२२, १५–१० ले हराएर तेस्रो स्थान हासिल ग¥यो । महिला वर्गमा तेस्रो स्थानका लागि भएको खेलमा भने एपिएफले त्रिभुवन आर्मी क्लबलाई सजिलै २५–१३, २५–१७, २५–१० ले पराजित ग¥यो ।
हेल्प नेपालका पाकिस्तानी खेलाडी फखर उदिन र न्यु डायमन्डकी प्रतिभा प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । दुवैले जनही २५ हजार रुपियाँ प्राप्त गरे । अन्य विधागततर्फ हेल्प नेपालका चिरञ्जीवी खड्का उत्कृष्ट सर्भर, मुवासर राजा उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । आर्मीका दुर्गाबहादुर खड्का उत्कृष्ट ब्लकर र हरिहजुर थापा उत्कृष्ट सेटर बन्नुभयो । पुलिसका भीमबहादुर गाहाले उत्कृष्ट लिबेरोको पुरस्कार प्राप्त गर्नुभयो ।
महिलातर्फ न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, प्रगति नाथ उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो चुनिनुभयो । न्यु डायमन्डकै कुमार राईलाई उत्कृष्ट प्रशिक्षकको सम्मान प्रदान गरियो । यसै गरी पुलिसकी सरस्वती कँडेल उत्कृष्ट सर्भर र एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर बन्नुभयो । प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टिम सहभागी छन् । यो प्रतियोगिताबाट प्रधानमन्त्री कप लिगका लागि छनोट पनि हो ।
पुरुषतर्फ विभागीय टोलीहरू एपिएफ, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब (लुम्बिनी), कोशी प्रदेश भलिबल सङ्घ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौँ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौँ) को पनि सहभागिता रहेको थियो । महिलातर्फ एभरेस्ट भलिबल क्लब (बुटवल) चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्ले पनि प्रतिस्पर्धा गरेका थिए ।





