नेभिगेसन मेनु

वर्षाअघि नै तार भूमिगत गर्न पहल
सम्पादक:南亚网络电视
समय:2025-12-08 12:08

Kulman-1200x560

काठमाडौँ, मङ्सिर २२ गते । काठमाडौँ महानगरपालिकाभित्र बाँकी रहेको विद्युतीय तार भूमिगत गर्ने काम तत्काल अगाडि बढाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा आइतबार मन्त्रालयमा बसेको सरोकारवालाको छलफलपछि रोकिएका कार्य तत्काल अगाडि बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।

छलफलपछि तार भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ । 

सडक विभाग, काठमाडौँ महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेको जस्ता गुनासो आएपछि मन्त्री घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको थियो । 

मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि काठमाडौँभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवाप्रदायकसँग समन्वय गरी जमिनमाथिको तार हटाउन पनि आग्रह गर्नुभयो । 

भौतिक पूर्वाधार तथा मन्त्रालयको जिम्मेवारीसमेत आफैँले समालेका बेला समस्या समाधान निकाल्न सहज हुने भएकाले अहिले सबै काम टुङ्ग्याउन उपयुक्त समय भएको उहाँको भनाइ छ । “तार भूमिगत गर्ने काम बाँकी रहेका ठाउँमा काम अगाडि बढाउन काठमाडौँ महानगरपालिका प्रमुखसँग छलफल गरिसकेको छु,” उहाँले भन्नुभयो, “काम बाँकी रहेको पुतली सडकलगायतका क्षेत्रको काम तत्काल अगाडि बढाऔँ, अहिले पनि काम गर्न सकिएन भने कहिले काम हुँदैन ।” उहाँले निर्माण सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशन दिनुभयो । 

बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण  अगाडि बढाइने बताउनुभयो । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत् आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेडलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गर्नुभयो । 

प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौँको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौँ उपत्यकाभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ । यस अन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र चार सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइँदै छ । 

यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवाप्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरमा सौन्दर्य थपिने छ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर