एस् ए टी भी २१ पौष, काठमाडौंः सिड्नी टेस्टमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ। यो हारसँगै भारत बोर्डर-गावस्कर ट्रफीमा ३-१ ले पराजित भएको छ। अस्ट्रेलियाले यो सिरिजमा १० वर्षपछि भारतलाई हराएको हो। यसअघि सन् २०१४-१५ सिजनमा एमएस धोनीको कप्तानीमा भारतले अस्ट्रेलियालाई हराएको थियो।
खेलको तेस्रो दिन आइतबार, भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अस्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर पूरा गर्यो। ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे। यी दुई बाहेक उस्मान ख्वाजाले ४१ र साम कन्स्टासले २२ रन बनाए। भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए। दिनको पहिलो सत्रमा भारतीय टोली दोस्रो इनिङ्समा १५७ रनमा अलआउट भएको थियो।
यसअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो भने भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो, जसले भारतलाई ४ रनको अग्रता दिएको थियो।
योसँगै भारत विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) फाइनलको दौडबाट बाहिरिएको छ। अस्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ। टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ। वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आउँदो जुनमा हुनेछ।