नेभिगेसन मेनु

दसैंका लागि टिकट बुकिङ शनिबारबाट
सम्पादक:南亚网络电视
समय:2024-09-25 11:18

ticket

एस् ए टी भी काठमाडौँ , ०९ असोज — दसैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत ‘बुक’ गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । ‘सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउन भनेका छौं,’ उनले भने, ‘काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन पनि भनिएको छ ।’

यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।

सवारी यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन २० बुँदे निर्णय गरिएको विभागले जनाएको छ । विभागको निर्णयअनुसार उपत्यका भित्रिने र बाहिरिने प्रमुख स्थानसहित देशभर सवारी चालकले मादक पदार्थ र लागू पदार्थ सेवन गरेको/नगरेको जाँच्नुपर्नेछ । लामो दूरीमा दुई जना चालक अनिवार्य राखी आलोपालो गाडी चलाउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, १८ वर्ष नपुगेकालाई सहचालकका रूपमा काम लगाउन पाइने छैन ।

दसैं, तिहार र छठ पर्वमा उपत्यकाबाट बाहिर जाने र भित्रिने यात्रुलाई सहजीकरण गर्न नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र काभ्रेको साँगामा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । चाडपर्व अवधिभरका लागि विभागले सरोकारवाला निकाय सम्मिलित अनुगमन टोली गठन गर्नेछ । यसका लागि प्रदेश यातायात मन्त्रालयको सहयोग लिने निर्णय भएको छ ।

‘लामा तथा मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन तोकिएको पालो (क्यू) मा सञ्चालन गर्नुपर्नेछ,’ निर्णयमा भनिएको छ, ‘क्यूमा सञ्चालन नगरी रिजर्भमा जान पाइने छैन ।’ अग्रिम बुकिङ खुल्ने व्यवस्था बर्सेनि भइरहे पनि घर जान यात्रुले सधैं सास्ती खेप्नुपरेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन् । ‘बर्सेनि बुकिङ खुलाउने निर्णय हुन्छ तर बसको संख्या थपिँदैन,’ उनले भने, ‘दसैंअघि जति बस थिए, दसैंमा त्यति नै मात्र चल्ने हुन् । अबदेखि बसको संख्या पनि थपेर यात्रा सहज बनाइनुपर्छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला प्रहरीले अनावश्यक रूपमा ठाउँ–ठाउँमा सवारी जाँच गरेर यात्रु र चालकलाई हैरानी दिन नहुने बताउँछन् । उपत्यकाबाट बाहिरिने यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । सिटौलाले सवारीसाधन सहज रूपमा सञ्चालन हुने वातावरणका लागि सडकमा खाल्डाखुल्डी समयमै पुर्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले घटस्थापनाअघि नै देशभरका सडक मर्मतसम्भार गर्न सडक विभागलाई केही दिनअघि निर्देशन दिएका थिए । सडक विभागका अनुसार सडक मर्मत भइरहेको छ । मनसुन सक्रिय भइरहेकाले मर्मतमा केही समस्या भएको विभागले जनाएको छ ।

अहिले मुख्य राजमार्गअन्तर्गत बढी समस्या स्तरोन्नति भइरहेको नारायणगढ–बुटवल सडकमा छ । निर्माण थालेको ६ वर्षमा तेस्रो पटक म्याद थप भइसक्दा पनि प्रगति ५२.७ प्रतिशत मात्र छ । बर्खा लागेयता खासै काम हुन सकेको छैन । त्यही कारण यात्रुले यस वर्षको दसैंमा पनि सास्ती खेप्नुपर्ने अवस्था छ । नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा सडक खण्डमा पनि समस्या छ । मध्यपहाडी, मदन भण्डारी, हुलाकी, बीपी राजमार्गका विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डीको समस्या छ । ‘अहिले देशभरकै सडकहरूको मर्मतसम्भार भइरहेको छ,’ प्रवक्ता ढकालले भने, ‘पानी परेर समस्या नभए घटस्थापनासम्म सबै सडक सहज बनाउने लक्ष्य छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर