नेभिगेसन मेनु

जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री
सम्पादक:南亚网络电视
समय:2024-09-04 14:18

KP-Sharma-Oli-Photo-PMO

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् ।

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।

हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले विगतका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि बताए ।

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् ।

फेम्बोसाको ११ औं सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।

मञ्चका अध्यक्ष एवम् भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर