नेभिगेसन मेनु

ओलम्पिकमा स्वर्ण विजेताले कति रकम पाउँछन्?
सम्पादक:南亚网络电视
समय:2024-07-25 13:37

paris-olampic2024-07-25-08-45-01

- स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई एक करोड ३० लाख, रजत विजेतालाई ९७ लाख र कांस्य विजेतालाई ६५ लाख पुरस्कार दिने सरकारको निर्णय छ । सन् १९६४ देखि ओलम्पिकमा भाग लिएको नेपालले अहिलेसम्म पदक जितेको छैन । 

- पेरिस ओलम्पिकमा अमेरिकन खेलाडीले स्वर्ण जिते ३७ हजार पाँच सय अमेरिकन डलर पाउनेछन् । सिंगापुरले सात लाख ३७ हजार र मलेसियाले दुई लाख ३६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोलि (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो । तेस्रोपटक आयोजक सहर बनेको पेरिसमा १० हजार सात सय १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ३२ खेलमा तीन सय २९ इभेन्ट्समा सहभागी खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । अन्तर्राष्ट्रिय अ‍ोलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका खेलाडीले पेरिसमा पदक जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछन् । 

इतिहासमा ओलम्पिकमा स्वर्ण, रजत र कांस्य विजेताले सम्बन्धित राष्ट्रबाट निश्चित रकम पाउने गरेका थिए । यसपटक पनि पदक विजेता प्रतिनिधित्व गरेको राष्ट्रबाट पुरस्कृत हुनेछन् । अमेरिकाले पदक विजेता खेलाडीलाई हजारौँ अमेरिकन डलर दिने घोषणा गरेको छ । दुई सय ६ राष्ट्रमध्ये अमेरिका मात्र स्वर्ण, रजत तथा कांस्य विजेता खेलाडीलाई धेरै रकम दिनेमा पर्छ । 

अमेरिकी ओलम्पिक तथा पारा ओलम्पिक कमिटीले पेरिसमा स्वर्ण विजेतालाई ३७ हजार पाँच सय अमेरिकन डलर दिने घोषणा गरेका छन् । पेरिसमा अमेरिकी खेलाडीले रजत जित्दा २२ हजार पाँच सय अमेरिकी तथा कांस्यले १५ हजार अमेरिकी डलर पाउनेछन् । 

एसियाली राष्ट्र मलेसियाले स्वर्ण विजेतालाई दुई लाख ३६ हजार अमेरिकी डलर दिने घोषणा गरेको फोब्सले जनाएको छ । यसैगरी, सिएनबिसीको रिपोर्टअनुसार काजखस्तानले स्वर्ण विजेतालाई दुई लाख ५० हजार अमेरिकी डलर दिनेछ । सिंगापुरका खेलाडीले स्वर्ण पदक जित्दा सात लाख ३७ हजार अमेरिकी डलर पाउनेछन् । यसैगरी, विश्व एथलेटिक्स महासंघले ट्र्याक एन्ड फिल्डमा स्वर्ण विजेतालाई थप ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ । 

नेपाली खेलाडीले पाउनेछन्, एक करोड ३० लाख रुपैयाँ

नेपाली खेलाडीले पनि ओलम्पिक पदक जित्दा सरकारबाट पदक पाउन सक्छन् । सन् १९६४ देखि सहभागी नेपालले अहिलेसम्म ओलम्पिकमा पदक जित्न सकेको छैन । तर, सरकारले ओलम्पिकमा पदक जित्दा रकमको घोषणा गरेको छ । ओलम्पिक खेलकुदअन्तर्गत ग्रीष्मकालीन, शीतकालीन र पारा ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले एकलतर्फ एक करोड ३० लाख रुपैयाँ पाउनेछन् । सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी ओलम्पिकमा रजत जितेमा एकलतर्फ ९७ लाख र सामूहिक खेलतर्फ जनही ४५ लाख रुपैयाँ पाउनेछन् । एकलमा कांस्य हात पार्दा ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो सबै  २०७९ को कार्यविधिअनुसार व्यवस्था गरिएको हो । 

यसअघि २०७२ कोे कार्यविधिअनुसार ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीले एकल खेलतर्फ एक करोड र सामूहिकतर्फ ४० लाख रुपैयाँ घोषणा भएको थियो । रजत विजेता खेलाडीले एकलतर्फ ७५ लाख र सामूहिकतर्फ ३५ लाख रुपैयाँ घोषणा भएको थियो । 

अमेरिकी खेलाडीलाई पूरै प्याकेज

अमेरिकाले ओलम्पिकमा लगातार दुई दशक पदक तालिकामा एकाधिकार जमाएको छ । यो दुई दशकमा अमेरिका एकपटक मात्र शीर्ष स्थानमा पुग्न सकेन । अमेरिकाका विभिन्न खेलकुद संघले खेलाडीको प्रदर्शन राम्रो बनाउन प्याकेजकै व्यवस्था गरेको छ । 

क्यालिफोर्निया, कोलोराडो र न्युयोर्कको खेल संस्थाले आफ्ना खेलाडीलाई स्वास्थ्यदेखि अन्य सुविधा प्रदान गरेका छन् । ती संस्थाले ओलम्पिक चलिरहँदासम्म खेलाडीको हेरचाह, थेरापी, मानसिक उपचारजस्ता सेवा दिनेछन् । खेलका क्रममा दुर्घटना बिमा गरिएको छ । सामान्य चोट लाग्दा पनि खेलाडीले बिमाबाट राम्रो रकम पाउँछन् । ओलम्पिकमा छनोट भएको वेलादेखि नै अमेरिकन खेलाडीले राज्यबाट पनि विभिन्न सुविधा प्राप्त गर्छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर