नेभिगेसन मेनु

युराे कप २०२४: नतिजाले जवाफ दिन आतुर स्पेन
सम्पादक:南亚网络电视
समय:2024-07-04 12:30

1720055209_cv 45-1200x560 (1)

युरो कपको समूहचरण र राउन्ड अफ १६ का खेल भइरहँदा धेरै आश्चर्यजनक नतिजा आइरहेका छन्। ठूला टोलीहरू उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गरिरहँदा तल्लो वरीयताका केही टोलीले प्रतियोगितामा संख्या मात्रै बढाउन होइन, आफूलाई प्रमाणित गर्न पनि आएका हौं भन्ने सन्देश दिइरहेका छन्।

यही भीडमा छन् दुई ठूला टोली जर्मनी र स्पेन। यी टोलीले भने प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पुरानो साख जोगाइराखेका छन्। जारी प्रतियोगितामा अपराजित रहेका यी दुई टोलीले एक खेलमा पनि गल्ती गरेका छैनन्। यिनै दुई टोली शुक्रबार स्टुटगार्टमा हुने क्वार्टरफाइनलमा एकअर्कालाई हराएर उपाधिका लागि दाबेदारी प्रस्तुत गर्न आतुर छन्।

युरो कपअघि आफ्नो टोलीलाई कसैले पनि प्रबल दाबेदार नठानेकोमा स्पेनका फरवार्ड मिकेल आयारजब अहिले खिन्न मान्छन्। स्पेनिस क्लब रियाल सोसिडाडका २७ वर्षीय यी फरवार्डले भने, ‘हामीलाई अहिले आएर सबैले उपाधि दाबेदार मानेका छन्। तर, तीन हप्ताअघि कसैले पनि हामीलाई दाबेदार देखेका थिएनन्। तर, हामी आफैंलाई विश्वास गरेर अगाडि बढिरहेका छौं। हामी सबैसँग प्रतिस्पर्धा गर्न सक्षम छौं।’

सन् २०२३ मा युइएफए नेसन्स लिग जितेर स्पेनले ११ वर्षदेखिको उपाधि खडेरी अन्त्य गरेको थियो। पछिल्ला प्रतियोगिताहरूमा गरेको कमजोर प्रदर्शन र नयाँ तथा कम अनुभवी खेलाडीको आगमनले पनि स्पेनभित्र यो टोलीलाई उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको थिएन। तर, लुइस डे ला फुएन्टेको यो टोलीले सबैलाई जबाफ दिँदै प्रतियोगितामा आफू कति बलियो छु भनेर समूहचरणकै खेलमा देखाइदियो। गत संस्करणको विजेता इटाली, ‘हेभिवेट’ क्रोएसिया र अल्बानियालाई समूहचरणमा पराजित गर्दै स्पेनले राउन्ड अफ १६ मा जर्जिया प्रतिद्वन्द्वी पाएको थियो।

समूह ‘बी’ मा पाँच गोल गरेको स्पेन सबै खेलमा ‘क्लिन सिट’ राख्न सफल भयो। राउन्ड अफ १६ को खेलमा पनि स्पेनले जर्जियाविरुद्ध सानदार पुनरागमन गर्‍यो र ४–१ फराकिलो जित दर्ता गर्दै जर्मनीसँगको भेट पक्का गर्‍यो। स्पेन र जर्मनी दुवैले तीनतीन पटक युरो कप जितेका छन्।

‘अब हामी आराम गर्ने छैनौं। हामी आत्मविश्वासका साथ जर्मनीविरुद्ध सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने।

स्पेन प्रतियोगितामा तीनवटै क्षेत्रमा बलियो देखिएको छ। टोलीले विपक्षी खेलाडीलाई गोल गर्ने कमै अवसर प्रदान गरेको छ। चुस्त मिडफिल्डले अगाडि बल पास गर्दै आक्रामक खेल प्रदर्शन गरिरहेको छ। त्यसैले स्पेनको टोलीमा परिवर्तनको खाँचो नरहेको उनी बताउँछन्।

अल्बानियाविरुद्ध समूहचरणको जितमा सुरुआत गरेका आयारजब भन्छन्, ‘हामीसँग उत्कृष्ट खेलाडी तथा टिम छ, एकता छ र टोलीमा कुनै विभाजन छैन। हामी सबैले सबैलाई महत्त्वपूर्ण छौं भन्ने महसुस गर्दछौं।’

कतार विश्वकप २०२२ को समूहचरणमा स्पेनले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो। नेसन्स लिग २०२० मा भने जर्मनीमाथि स्पेनले ६–० को सानदार जित हासिल गरेको थियो।

क्वार्टरफाइनलमा स्पेनले यही लयलाई कायम राख्न प्रयास गर्नेछ। आयारजब पनि आयोजक जर्मनीलाई हराउँदै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन सक्नेमा आफू विश्वस्त रहेको बताउँछन्। ‘त्यसयता जर्मनीको टोलीमा ठूला परिवर्तन भइसकेको छ। उनीहरूसँग नतिजा फरक पार्ने केही राम्रा खेलाडीहरू छन्, जसले धेरै वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। तर, हामी पनि उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर